• २०८१ असोज ४ गते शुक्रवार

बाटोको एउटा कुनामा मकै पोलिरहेको समय आगोको रापले पोलिरहेको छ मन । मकैका दानामा कोइलाको कालो टाँसिएजस्तै अन्धकार छ भविष्य । तरपनि उज्यालो खोजिरहेका छन् आमाहरू, बाटोको कुनाबाट छोराछोरीको सुन्दर भविष्य । दिनभरिको थकन र अनिदो नहुँदो हो त पहरा दिँदो हो निन्द्राले जून, तारा बनेर । तर, दिनभरि कामको बोझले थाकेको शरीर झ्याप्प निदाउँछ उसैगरी । जसरी औँसीको रातमा विश्राम गर्छ आकासमा जून ।

धुवाँको मुस्लो शान्त आँखामा छिरेर पिरो गराउँछ । यतिमात्र कहाँ हो र खसाल्छ आँसुका ढिक्काहरू । छेकिन्छन् परपरका दृश्य । भ्रममा समाउन पुग्छ जल्दै गरेको आगोको कोइला । आँखामा भएको पीडा हातमा थपियो । देखिएका सबै दृश्य बन्द भए । तलाउमा जल छल्के जस्तै टनाटन भरियो आँखा । यिनै आधार टेकेर रोकिएको छ मन छोरीछोरी भनेर । नत्र कसरी थापिदो हो, आमाको मन ।

यो मनले धुवाँ र राप कहिल्यै भनेन । न त भन्यो चैत्रको हुरी । खडेरी पनि त सहेकै हो । यो अभाव भएर सधै“ आइरहन्छ । यसको मुलबाटो मेरो घरको आँगनबाट नै जोडिएको छ । त्यही भएर त होला ऊ आउँदा जाँदा यतै विश्राम गरेर जान्छ । म यसलाई अगालिरहन्छु आफ्नै छोराछोरी जस्तै । ऊ पनि झुम्मिइरहन्छ छोराछोरी भएर ।

बाटोमा जीविका चलाउन देख्नेलाई सजिलो छ । भाडा तिर्नु पर्दैन । पानी, वत्ति चाहिन्न । साहुको गनगन छैन । भर्खरै बिसाएको धाेक्राे बोकेर नगर प्रहरीले तीन कोस पर कुदाएको कसैले देख्दैन । धाेक्राे खोसिएका दिन घरको चुलो बल्दैन । भाँडोलाई थाहा छ, चामल विना भात पाक्दैन । तर, जनताको सुरक्षा लागि खटिएका नगर प्रहरीलाई यो कुरा थाहा छैन । ऊ वेतनमुखी छ, सोच्छ अरूलाई पनि मलाई जस्तै सजिलो छ । मैले कर्तव्य मात्र निभाएको हुँ । अरूको गाँस खोसेको छैन ।

बाटोमा कुनै मूल्य नपाएको धाेक्राे प्रहरी कार्यालय पुगेर बहुमुल्य हुन्छ । धाेक्राे १५ रूपैयाँमा बजारमा पाइन्छ । तर कार्यालयमा पुगेर त्यो एक हजार पाँच सयको बन्छ । जसलाई जरिवाना भनिन्छ । सामान ठुलो ठाउँमा पुगेपछि आफै“ उच्च मूल्यमा परिणत हुँदो रहेछ । छोराछोरी भोलि ठुलो मान्छे भएको हेर्ने आमाको सोच जस्तै ।

दिनभरिको मेहनतले भर्दैन पुष्ट पारेर पेट । बेलाबेलामा मुखमा धुवाँ नछिरेको हैन, तर त्यसले अघाउँदैन दाम्रिएको पेट । बरू त्यो धुवाँले निकाल्न खोज्छ पेटमा भएको वस्तु । जीवनको सार जस्तै तितो बनेर । पेट पुष्ट देखियोस् भनेर बाँध्नु पर्छ पटुकी, ढाड दुख्छ भन्ने त केवल बहाना हो ।

दैनिकी यही हो चल्दैछ सास जस्तै । न रोकिन्छ, न सजिलो तरिकाले चल्छ । पेट पाल्ने त भन्नु मात्र हो, कम्ता गाह्रो छ यो एकमुठी सास अल्झाउन । कोइलाबाट खरानी झारे जस्तै झार्नु छ छोराछोरीको दुःख । खोस्रीखोस्री हटाउनु छ उनीहरूको अन्धकार ।

आफ्ना छोरीछोरी जस्तै आउँछन् ग्राहक । कुनै कुनैको हातमा खैनीको प्याकेट र चुरोटको ठुटो देख्दा झस्किन्छ मन । आफ्नै छोराछोरीले बोके जस्तै । आफैँसँग झस्किन्छ मन, कुलतको बाटोमा लागे कि भनेर ? यही शंकाले बेलाबेला छोराछोरीको लुगा धुँदा गोजीमा छिर्छ हात । पैसा नभएको थैलीमा हात छिरेजस्तै । कहिलेकाहीँ चान्केचुन्के भेटिए झैँ भेटिन्छ खैनीको अंश । भ्रम र यथार्थ के हो मन केही जान्दैन । यो आँखाले बालकै देख्छ जुँगारेखी बसेको छोरालाई । अबोध बालिका सम्झन्छ पर सरिसकेकी छोरीलाई ।

रातमा मनसँग संवाद हुन्छ, यिनै छोराछोरीको बारेमा । सपना छ यी छोराछोरी ठुलो मान्छे भएको हेर्ने । सधैँ धुवाँले ढाकेको आँखाले देखेको दृश्य कति सफा देखिने हो । हरेक रात आउने सपना यही हो । बाँकी कुरा त चलेकै छ, बिहानको सूर्योदय जस्तै निरन्तर ।

बढिरहेको छ जवानीसँगै उनीहरूको फर्माइस् । ग्राहकले ठुलो घोगा मकै रोजे जस्तै । सबै ग्राहको भागमा ठुलो मकै नै पर्छ भन्ने कुनै ग्यारेन्टी छैन । कसैलाई सानो पनि पर्न सक्छ । बजारमा छानिएका मकैका घोगा बराबर कहाँ हुन्छन् र ? चौरासी पुजाका लागि राखिएका मन्दिरका मूर्ति जस्तै । प्रकृतिको रित पनि त हातका औँला जस्तै बराबर हुँदैनन् । सत्य यही हो । आमाहरू यसरी नै भाग्य र भविष्यको तुलना गर्छन् ।

छोराछोरीलाई साथीहरूकै तुलनामा हिँड्नु छ । त्यही रवाफ र सानका साथ । तगारीमा पोलिएको मकैले कसरी धान्छ ओदानको तौल, त्यो उनीहरूलाई थाहा छैन । आमाको फोक्सोमा बढ्दै गरेको दम र आँखाबाट ओझेर पर्दै गएको संसार बारे जान्ने फुर्सद कहाँ छ र ? उनीहरू व्यस्त छन् आफ्नै संसारमा ।

चाउरिदै गरेको छालाले कति दिनसम्म धान्ने हो मुहारको हाँसो । नदी जस्तै बगिरहेका सपनाहरू कसरी लाग्ने हुन् किनारा ? चिन्ताले घुटुक्क पिलाउँछ होसको दवाइ । दमको दवाइ किन्ने त पैसा पनि हुनु प¥यो नि !

आफ्नै आँखा अगाडिबाट टाढिदै गएको छ छोराछोरीको दृश्य । धान्न छोडेको छ आमाको कमाइले । प्रलोभनको आशामा मौरीको घारतिर बढेका पाइलाहरू टोकाइबाट घाइते भएर नफर्किए हुने हो । सबैसँग हारेपनि मनसँग हार्नु हुँदैन । एउटा बाँच्ने आशा यही हो । मृत्यु पर्खनका लागि ।

धुमिल बन्दै गएका छन् सपनाका रंङहरू । मेटिदै गएको गोरेटोमा कसरी खोज्ने होला पदचापको चिन्ह ? सताउन थालेको छ मनले शरीरसँग । कति खेल्छ यो मन ? मुढो भएर शरीर हलचल गर्न नसक्दा पनि उडेर पुग्छ हिमालको कावा खान । मन अचेल स्वार्थी बन्दै छ छोराछोरी जस्तै । शरीरले अधिनमा राख्न खोज्दा खोज्दै पनि अनियन्त्रित हुन्छ मन छोराछोरी बनेर ।
सपना जस्तै लाग्छ उनीहरूलाई काखमा खेलाएको । त्यो तगारीको आगो जस्तै भएका छन् अहिले छोराछोरी । पहिला बाल्न कठिन र बालेपछि आफैँलाई पोल्न सक्ने । बाल्दा पोल्ने र नबल्दा धुवाँउने । कहिलेकाहीँ धिक्कार्न मन लाग्छ आफैँले खर्च गरेको समयलाई । फेरि सम्झन मनलाग्छ त्यो खेर जाने समयको के चिन्ता ! काप्न थालेका ओठले बाँध्न सक्दैन दाँतको कटकट आवाज । बाहिर प्रस्ट निस्कन्छ ।

छोराछोरी गुँड छोडेर उडे । आफुले खेलेर जिर्ण भएको गुँड सम्झेनन् । बाल्यकालमा हरेक रात छोराछोरी छामेको हात अहिले आफ्नो पैतालामा पुग्न छोडेको छ । उनीहरूको सहारा भएको हात आफ्नै शरीर भित्तो विना थाम्न सक्दैन । पिठ्यूँमा बोकेर हिँडाएका केटाकेटी यतिपर भए भन्न कठिन छ । जहाँसम्म आमाको आवाज पुग्दैन । एकै आवाजमा मौरीको रानोमा झुम्मिए झैँ झुम्मिने ती छोराछोरीसँग चाहेर पनि बोल्न सकिदैन । सकियो भने पनि कर्कश ध्वनीमा काम छैन किन फोन गरेको ? भन्ने पहिलो वाक्य सुनिन्छ ।

आफ्नै शरीरको भार थेग्न छोडेका खुट्टाले कसरी थेगुन छोराछोरीको माया । कचेराले ढाँकिदै गरेका आँखामा झिंगाले गोलो बनाएको छ । आखिर खानाको लोभ कस्लाई नहुने रहेछ र ! नत्र किन बस्थे होलान आँखाको कचेरामा झिंगा ?
बल गरेर खोकेर निकालौँ लाग्छ अल्झिरहेको एकमुठी सास । खकार निकाल्न खोक्दा जिब्रोमा टासिएर औँलाले फाल्नु परेको अवस्थामा सास बाहिर आउन सकेन । मासु सुकेर हड्डीमा टासिएको छाला झैँ भएर बसिरह्यो । नत्र त खकार जस्तै हातले झड्कारेर पर फाल्न मन नभएको कहाँ हो र ।

अचेल हरेक समय मनसँग संवाद हुन्छ, छोराछोरीसँग हुँदैन ।

बोधराज पौडेलद्वारा लिखित निबन्ध संग्रह “सोकेसको ऐना”बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *