• २०८१ मङ्सिर ९ गते आइतवार

आर्टिकल्स पेपर, खोटाङ : नमुना युवा समूहको पहिचान, असल पुस्ता निर्माण अभियान भन्ने मुल नाराका साथ स्थापना भएको नमुना युवा समूहद्वारा बडादशैँ २०७९ का अवसरमा आयोजित वडा स्तरीय हाजिरीजवाफ, वक्तृत्वकला, सांस्कृतिक कार्यक्रमका साथै नेपालीहरूको महान चाड दशैँ, तिहारलगायतका पर्वहरूको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

यही असोज १७ गते महाअष्टमीका दिन सम्पन्न कार्यक्रम नमुना युवा समूहका अध्यक्ष दिनेशकुमार दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अथिति हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख बिमला राई, विशिष्ट अथिति नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेल र विशेष अतिथिमा हलेसी तुवाचुङ नगरपालिका वडा नं. ४ अध्यक्ष किशोरकुमार बस्नेत, लक्ष्मी मा.वि.का प्र.अ. नयनकुमार राई, वि.व्या.स. अध्यक्ष बासुदेव दाहाल लगायत विभिन्न विद्यालयका प्र.अ., विद्यार्थी तथा अविभावकहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

शुभकामना मन्तव्यका क्रममा नगर प्रमुख तथा प्रमुख अतिथि श्री बिमला राईले भन्नुभयो– ‘हलेसी तुवाचुङ नगरपालिका विभिन्न जातजाती, भाषा, धर्म, संस्कृति र संस्कारले भरिएको खोटाङ जिल्ला भरिकै सुन्दर नगरपालिका रहेको छ । यसलाई एउटै मालामा उनेर अझ सुन्दर बनाउन नमुना युवा समूहले महत्वपूर्ण भूमिका खेलेको छ । आगामि दिनहरूमा यस समूहले असल समाज निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गर्ने हुनाले समूहलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत जाहेर गर्दछु ।’

साथै लक्ष्मी मा.वि. अव्यवस्थित बन्दै गएकोप्रति उहाँले चासो र चिन्ता व्यक्त गर्दै लक्ष्मी मा.वि.लाई राजनीतिमुक्त बनाउनका लागि वडा अध्यक्ष, वि.व्या.स. अध्यक्ष र प्र.अ. लगायत सम्पूर्ण अविभावक तथा राजनीतिक दलका प्रमुखहरूलाई अनुरोध गर्दै विद्यालय सुधार र गुणस्तरीय शिक्षाका लागि नगरपालिकाबाट आवश्य सहयोग हुने बताउनुभयो ।

यसैगरी विशिष्ट अथिति रमेश पौडेलले शुभकामना मन्तव्य दिँदै भन्नुभयो–‘नमुना युवा समूहले शिक्षा क्षेत्र र समाज परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गर्न सक्छ र गरिरहेको छ । यति मात्र हैन यस समूहले विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शिक्षक, अविभावक, विद्यार्थी, समाजसेवी, बौद्धिक वर्गलगायतका सम्पूर्ण क्षेत्रका व्यक्तिहरूलाई एउटै स्थानमा भेला गरी उदाहरणीय र उत्कृष्ट कार्यक्रमको आयोजना गरी असल र परिवर्तनका लागि यस समूहले हामी विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूलाई खबरदारी गरेको छ । साँच्चै नै यस नमुना युवा समूहले जस्तो नाम उस्तै काम गरेर समाजमा उदाहरणीय बनेको छ । यस संस्थालाई खुला हृदय र सामाजिक भाव राखी सबैले साथ सहयोग गर्नुपर्छ ।’

यसैगरी हलेसी तुवाचुङ न.पा. ४ का वडा अध्यक्ष किशोरकुमार बस्नेतले शुभकामना दिँदै भन्नुभयो– ‘नमुना युवा समूह हलेसी तुवाचुङ नगरपालिकाकै उत्कृष्ट नमुना समूह रहेको छ । यसले आफ्नो ठाउँ छोडेर पराइ भइसकेका युवाहरूले आफ्नो गाउँ ठाउँलाई सम्झिएर असल पुस्ता निर्माण अभियानका क्रममा आफुले पठन पाठन गरेको विद्यालय अर्थात् विद्याको मन्दिरमा सबै जातजाती, भाषा, धर्म, संस्कृति तथा विभिन्न राजनीतिक दलका नेताहरूलाई नमुना युवा समूहले एकै ठाउँमा उभ्याएर उदाहरणीय कार्य गरेको छ । वडा र नगर विकासका लागि यो नमुना युवा समूहसँग सहकार्य गर्ने र यस समूहले असल समाज निर्माणमा र नगरपालिका गतिविधिहरूलाई सहयोग गर्ने छ । स्थानीय सरकार र नमुना युवा समूह हातेमालो गरी नकारात्मक कुरालाई पछि पार्दै सकारात्मक काम र व्यवहारलाई अघि बढाउँदै जाने कुरामा विश्वस्त छु ।’

कार्यक्रममा हाजिरीजवाफ, वक्तृत्वकला र साँस्कृतिक कार्यक्रममा प्रतिस्पर्धा भएको थियो । वक्तृत्वकला र साँस्कृतिक विधाको निर्णायकमा बोधराज पौडेल, मधुकुमार दाहाल र रोशन दाहाल रहनुभएको थियो ।

रामकृष्ण भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रम विभिन्न राजनीतिक दलका जनप्रतिनिधिहरू, शिक्षक, अविभावक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रम अनुसाशीत, मर्यादित र आकर्षक बनेको थियो ।

नमुना युवा समूहको आयोजनामा भएको कार्यक्रमलाई अझ अनुसाशीत, मर्यादित र आकर्षक बनाउनका लागि समूहका उपाध्यक्ष सन्तोषकुमार दाहालको संयोजकत्वमा ५ सदस्यी उपसमिति (संयोजकः सन्तोषकुमार दाहाल, सदस्यहरूः रामकृष्ण भट्टराई, कुशुम भट्टराई, हरिश्चन्द्र दाहाल र अनिल दाहाल) गठन गरिएको थियो ।

उपाध्यक्ष तथा कार्यक्रम संयोजक दाहालले भन्नुभयो– ‘यो संस्था गैरराजनीतिक र गैरनाफामूलक भएको यो संस्था असल पुस्ता निर्माणमा समाजमा भएका नकारात्मक कार्यलाई चिर्दै सकारात्मक कार्यमा वडा र नगरसँग सहकार्य तथा हातेमालो गर्दैै अघि बढ्ने छ । हामी सुरुवाती चरणमा छौँ, सिकारु छौँ, यसका लागि सबै वडा र नगरवासीहरूले सामाजिक भाव र खुला हृदय बनाइ सहयोग गर्नुपर्छ ।’

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ४ मा अवस्थित यो संस्था वि.स. २०७४ सालमा दर्ता भई विभिन्न शैक्षिक तथा सामाजिक काममा अग्रसर रही काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *