झलनाथ खनाल नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा
२०८३ असोज १९ सोमवार १८:४५
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नुभएकाे छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले पार्टीबाट अलग भएको घोषणा गर्दै ‘समाजवादी जागरण अभियान’ सुरु गरेको जानकारी दिनुभएकाे हाे ।
खनाल नेतृत्वको अभियानको पहिलो भेलाले १५ वटा विभिन्न प्रस्तावसमेत पारित गरेको छ। कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित अभियान घोषणा गरिएको उहाँले बताउनुभयाे ।
उहाँको नेतृत्वमा शनिबार भेला गरी अभियान सञ्चालन गर्ने निर्णय गरिएको थियो। सोही भेलाबाट पारित निर्णय र अभियानका विषयमा सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
पत्रकार सम्मेलनमा खनालले नेकपा गठन हुँदाको अवस्थालाई स्मरण गर्दै भन्नुभयाे, ‘नेकपा गठन हुँदा सबैभन्दा धेरै म नै खुसी थिएँ। यो पार्टीले कायापलट नै गर्छ कि भन्ने लागेको थियो। पार्टी निर्माण गर्दा जसरी जनतालाई भन्दै आएका थियौँ, त्यो पूरा हुन्छ कि भन्ने आशा थियो।’
उहाँले पार्टीले जनअपेक्षाअनुसार काम गर्न नसकेको र दुई तिहाइ बहुमत भएको संसद्समेत विघटन गर्ने अवस्था आएको बताउनुभयाे ।
‘तर हेर्दाहेर्दै दुई तिहाइ बहुमत भएको संसदलाई समेत विघटन गर्ने बेला आयो। त्यसपछि पनि पार्टीले जसरी जनमुखी भएर नीति कार्यक्रम लागू गर्नुपर्ने थियो, त्यो नहुँदा पार्टी विस्तारै जनताबाट अलग हुँदै गयो । पार्टीले जनतासँग घनिष्ठ सम्बन्ध हुँदैन, त्यसले चौतर्फी पराजय व्यहोर्नु अनिवार्य हुन्छ,’ उहाँले भन्नुभयाे ।
खनालले अब समाजवादमा जानुको अर्को विकल्प नरहेको भन्दै सबै वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे,‘अब समाजवादमा जानुको अर्को विकल्प छैन। त्यसैले समाजवादी जागरण अभियान सञ्चालन गरेर सम्पूर्ण वामपन्थीलाई एक ठाउँमा ल्याउनुपर्छ भनेर यो अभियान सुरु गर्न लागेका हौँ।’
उहाँले अभियान देशका समस्त कम्युनिस्टलाई एकताबद्ध गर्नका लागि भएको बताउनुभयाे।
‘अभियान देशका समस्त कम्युनिस्टहरूलाई एकताबद्ध गर्नको लागि हो। अहिले हावी भएको दक्षिणपन्थी भड्काउबाट मुक्त गर्नको लागि सुरु गरेको हो,’ उहाँले भन्नुभयाे।
नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न अभियानले भूमिका खेल्ने दाबी गर्दै उहाँले भन्नुभयाे, ‘यो अभियानले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर मात्र विर्सजित हुन्छ ।’



















