जनसम्पर्क समिति अमेरिकाको सभापतिमा नेम्वाङ
महामन्त्रीमा खनाल र दाहाल
२०८३ भदौ ८ सोमवार ०१:२६
shares

भर्जिनिया, अमेरिका – नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था ‘नेपाली जनसम्पर्क समिति अमेरिका’को नयाँ नेतृत्वका लागि अमेरिकाको भर्जिनिया राज्यमा सम्पन्न तेस्रो केन्द्रीय महाधिवेशनबाट मुनिन्द्र नेम्वाङ सभापति पदमा निर्वाचित हुनुभएको छ । अगस्ट १६, २०२६ आइतबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेम्वाङ सभापतिमा विजयी हुनुभएको हो । नेम्वाङ यसअघि समितिको महामन्त्री हुनुहुन्थ्यो ।

समितिको निर्वाचनमा कुल ४ सय ७३ मत खसेकोमा विजयी उम्मेदवार मुनिन्द्र नेम्वाङले २ सय ६६ मत प्राप्त गर्नुभएको थियो भने निकटतम् प्रतिद्वन्द्वी सी.पी. पौड्यालले १ सय ३८ मत प्राप्त गर्नुभएको थियो । यसैगरी, सभापतिका अन्य प्रत्यासी क्रमश: सन्तोष पहारीले २९ मत र ध्रुव गौतमले १५ मत प्राप्त गर्नुभएको थियो । मतदान सुरु हुनुअघि सभापतिका दुईजना प्रत्यासी वेद पी. खरेल र अमृत एन. सापकोटाले भने आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो । आफ्नो उम्मेद्वारी फिर्ता लिए तापनि वेद पी. खरेललाई ११ मत प्राप्त भएको थियो ।
यसैगरी, वरिष्ठ उपसभापतिमा विनोद भट्ट १ सय ३२ मत प्राप्त गरी विजयी हुनुभयो भने निकतटम् प्रतिद्वन्दी ज्ञानेन्द्रराज कार्कीले १ सय ४ मत प्राप्त गर्नुभएको थियो । यस्तै, वरिष्ठ उपसभापतिका अन्य प्रत्यासी: चन्द्रकान्त धितालले ९६ र उत्तम धमलाले ४१ मत प्राप्त गर्नुभएको थियो । यस्तै, समितिको सभापतिमा ४ जना क्रमश: सञ्जीव श्रेष्ठ २ सय ३५ मत, श्रीराम थापा १ सय ८० मत, हरि पी. शर्मा १ सय ७८ मत र निमा बोम्जन १ सय ४५ मत प्राप्त गरी विजयी हुनुभयो । यस्तै, अन्य सभापतिका प्रत्यासीहरू क्रमश: सुजन खनाल १ सय २९, पीताम्बर भुसाल १ सय २१, सन्तोष बिष्ट १ सय १५, फिलिप केसी १ सय १०, गणेशराज भण्डारी १ सय र मोहनराज बानियाँले ९६ मत प्राप्त गर्नुभएको थियो । यसैगरी, युवा उपसभापतिमा सुशील खत्रीले २ सय ४१ मत प्राप्त गरी विजयी हुनुभयो भने निकटतम् प्रतिद्वन्दी हरि भट्टले १ सय ९२ मत प्राप्त गर्नुभएको थियो । यस्तै, महिला उपसभापतिमा लक्ष्मी कार्की र युवा मामिला उपसभापतिमा महेन्द्र बस्नेत निर्वाचित हुनुभएको छ ।

यसैगरी, समितिको महामन्त्रीमा नारायण खनालले २ सय ४ मत र गौतम दाहालले १ सय ८४ मत प्राप्त गरी विजयी हुनुभयो भने महामन्त्रीका निकटतम् प्रतिद्वन्दी क्रमश: प्रतीक पाण्डेले १ सय ६७, अनन्तराज सुवेदीले १ सय ४५ र किलन चान राईले ५२ मत प्राप्त गर्नुभएको थियो । यस्तै, सहमहामन्त्रीमा अनिता परियारले १ सय ६९ र अर्जुन बमले १ सय ६० मत प्राप्त गरी विजयी हुनुभयो भने सहमहामन्त्रीका प्रत्यासी क्रमश: रोशन अधिकारीले ९४, महेश के. मल्लले ९३, रामचन्द्र अधिकारीले ८९, बाबुराम दवाडीले ७८ र मुकुन्दराज दाहालले ५९ मत प्राप्त गर्नुभएको थियो । यसैगरी, युवा सहमहान्त्रीमा सुमन केसी र सिर्जना भट्ट निर्विरोध चयन हुनुभएको छ ।
यस्तै, कोषाध्यमा नारायण पी. पोखरेल १ सय ६३ मत प्राप्त गरी विजयी हुनुभयो भने कोषाध्यक्षका प्रत्यासी भोला मैनालीले १ सय ५५ र राज ढुङ्गानाले १ सय १८ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी सदस्य पदमा भने सबैजना निर्विरोध हनुभएको थियो । समितिको सदस्यहरू क्रमश: खेमराज बास्तोला, हरि पी. खनाल, राजु पी.एस. रौनियार, देवराम ओली, पवन शर्मा, बलबहादुर केसी, मीनबहादुर खड्का, बेगबहादुर हमाल, लोकनाथ निम्सिना, विश्वमान आङ्देम्बे, राजेन्द्र रेग्मी, दिनेश डाँगी, नवराज न्यौपाने, रोशनकुमार ढुंगाना, नेत्र केसी र अनिलराज पाण्डे निर्विरोध चयन हुनुभएको छ ।

निर्वाचन समितिका अनुसार नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनमा ८ सय ४७ जना केन्द्रीय प्रतिनिधि चयन हुनुभएको थियो भने ४ सय ७३ जनाले मतदान गर्नुभएको थियो । समितिको अमेरिकामा हाल करिब ४ हजार १ सयको हाराहारीमा सदस्य रहेको समितिले जनाएको छ ।
अगस्ट १४, २०२६ शुक्रबारबाट सुरु भएको तेस्रो महाधिवेशनको शनिबार नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले औपचारिक उद्घाटन गर्नुभएको थियो । सो उद्घाटन समारोहलाई अनलाइन माध्यम जुममार्फत नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष सम्बोधन गर्नुभएको थियो ।
नेपाली जनसम्पर्क समिति, अमेरिकाका नवनिर्वाचित महामन्त्री गौतम दाहालका अनुसार नेपाली जनसम्पर्क समिति अमेरिकाको सन् २००७-२००८ मा भएका अधिवेशनलाई पहिलो अधिवेशन मानिएको छ । जसअन्तर्गत, सन् २००७ मा अमेरिकाको कनेक्टिकटमा भएको अधिवेशनमार्फत सुरेन्द्र देवकोटा सभापति बन्नुभएको थियो भने सन् २००८ मा न्युयोर्कमा सम्पन्न भएको अधिवेशनबाट आनन्द विष्ट सभापति बन्नुभएको थियो । यसरी एउटै संस्थाको दुईवटा कार्यसमिति रहेको हुँदा यी दुईवटै समितिलाई एक बनाउने उद्देश्यले आमसदस्यबीच सन् २००७ र २००८ मा भएका अधिवेशनलाई पहिलो अधिवेशन मान्ने सहमति गर्दै सन् २०१० मा खगेन्द्र जीसीलाई एकता महाधिवेशनको संयोजक बनाइएको थियो । कारणवश जीसीले राजीनामा दिएपछि विष्णु सुवेदीको संयोजकत्वमा सन् २०१४ मा टेक्सास राज्यमा समितिको दोस्रो अधिवेशन सम्पन्न गरिएको थियो । दोस्रो अधिवेशनबाट आनन्द विष्ट सभापति बन्नुभएको थियो । दोस्रो अधिवेशनको १२ वर्षपछि सन् २०२६ (अगस्ट १४-१६) मा भर्जिनिया राज्यमा समितिको तेस्रो अधिवेशन सम्पन्न भएको हो ।





















