एक आना पनि ऐलानी जग्गा कसैलाई दिँदैनाैँ : चिरिबाबु महर्जन
२०८३ साउन ३० शनिवार २३:१९
shares

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रको सार्वजनिक तथा ऐलानी जग्गा कुनै व्यक्ति वा संस्थालाई नदिने प्रतिबद्धता व्यक्त गर्न्नुभएकाे छ ।
शनिबार सप्तपाताल पोखरी पुनर्निर्माणपछि आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख महर्जनले महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राखेको बताउनुभयाे ।
उहाँले सम्पदा संरक्षक पूर्ण स्थापितले सप्तपाताल पोखरी संरक्षणका लागि गरेको पहल सफल भएको बताउनुभयाे । पूर्ण स्थापितको पहलका कारण महानगरपालिकाले सप्तपाताल पोखरीलाई पुनर्निर्माण गरी आकर्षक स्वरूपमा ल्याउन सकेको उहाँको भनाइ थियो ।
‘हाम्रो पूर्ण स्थापित दाइले गर्नुभएको पहल सफल भयो । हामीले मौका पायौँ र यो चिटिक्क परेको सप्तपाताल पोखरी बनाउन सफल भयौँ,’ उहाँले भन्नुभयाे, ‘त्यसका लागि हामी सबैलाई धन्यवाद र बधाई।’
महानगर प्रमुख महर्जनले आफू मेयर निर्वाचित भएपछि ऐलानी तथा सार्वजनिक जग्गा कसैलाई नदिने ‘भीष्म प्रतिज्ञा’ गरेको बताउनुभयाे । यस्तो निर्णय कार्यान्वयन गर्दा राजनीतिक तथा अन्य क्षेत्रबाट दबाब आए पनि आफूहरूले त्यसलाई थेगेको उहाँको भनाइ थियो ।
‘ललितपुर महानगरपालिकाले म मेयर भइसकेपछि एउटा भीष्म प्रतिज्ञा ग¥यो। त्यो भीष्म प्रतिज्ञा भनेको के हो भने हामी ऐलानी जग्गा, पर्ती जग्गा कसैलाई पनि दिँदैनौँ । यो भन्दै गर्दा गाह्रो पर्दो रहेछ । राजनीतिकरुपमा पनि प्रेसर पर्ने थेग्दै गाह्रो पर्ने तर हामीले चाँही थेग्यौ ।’ उहाँले भन्नुभयाे ।
महानगरपालिकाले हालसम्म एक आना जग्गा पनि कसैलाई नदिएको दाबी गर्दै महर्जनले आगामी दिनमा पनि सार्वजनिक जग्गा व्यक्तिका नाममा हस्तान्तरण नगर्ने स्पष्ट पार्नुभयाे ।
‘अहिलेसम्मको मितिमा आउँदासम्म हामीले एक आना जग्गा पनि कसैलाई दिएका छैनौँ। ज्यान गए पनि दिन्नँ,’ उहाँले भन्नुभयाे ।
ललितपुर महानगर क्षेत्रमा जग्गाको मूल्य अत्यधिक रहेको उल्लेख गर्दै उनले सार्वजनिक जग्गा माग गर्ने क्रम हुनसक्ने तर माग गर्दैमा त्यस्तो जग्गा दिन नसकिने बताउनुभयाे ।
‘ललितपुर महानगर क्षेत्रभित्रमा एक आना जग्गाको एक करोड पर्छ। जसले पनि माग्ला नि त। माग्यो भन्दै दिएर कहाँ हुन्छ?’ उहाँले प्रश्न गर्नुभयाे।
महर्जनले सार्वजनिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै ललितपुरलाई बस्न योग्य शहर बनाउने महानगरपालिकाको प्रयास जारी रहेको बताउनुभयाे । उहाँले ललितपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजनाअनुसार महानगरपालिका अघि बढिरहेको जानकारी दिनुभयाे ।
‘हामी यो शहरलाई बाँच्नको निम्ति लायकको शहर बनाउने प्रयासमा छौँ। त्यसको निम्ति यो शहरलाई स्मार्ट सिटी बनाउने प्रसङ्गमा हामी लागेका छौँ,’ उहाँले भन्नुभयाे ।
ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरी ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण सम्पदाका रूपमा रहेको छ । लामो समयदेखि संरक्षणको अभियान चल्दै आएको पोखरी महानगरपालिकाले पुनर्निर्माण गरी पार्कसहित उद्घाटन गरेको हो ।



















