विदेशमा पनि आफ्नै सिम चल्ने : ६२ देशमा नेपाल टेलिकमको रोमिङ सेवा विस्तार
२०८२ चैत ८ आइतवार १२:४२
shares

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि ती देशका ८९ सेवा प्रदायकसँग नेपाल टेलिकमले सम्झौता गरेको छ ।
चालु आर्थिक वर्षको साउन महिनापश्चात लाटभिया, स्लोभेनिया, टर्की, ताइवान-आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवाप्रदायकसँग र पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवाप्रदायकसँग यसका लागि सम्झौता भएको छ ।
नेपाल टेलिकमले पहिलेदेखि नै अन्य विभिन्न देशहरुमा यो सुविधा उपलब्ध गराइरहेको छ । अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बेलारुस, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, घाना, ग्रीस, हङकङ, हंगेरी, आइसल्यान्ड, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लाटभिया, लिच्टेन्सटाइन र लक्जेम्बर्गमा रोमिङ सेवा प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी मलेसिया, मकाउ, माल्टा, मौरिसस, मेक्सिको, म्यानमार, नेदरल्यान्ड, न्यूजिल्याण्ड, नर्वे, ओमान, पाकिस्तान, फिलिपिन्स, पोर्चुगल, कतार, रोमानिया, रसिया, साउदी अरेबिया, सिंगापुर, स्लोभेनिया, दक्षिण कोरिया, श्रीलंका, स्विडेन, स्विजरल्यान्ड, ताइवान-आरओसी, थाइल्याण्ड, टर्की, युएई, यूके, युएसए, उज्वेकिस्तान, भियतनाम र लाओसमा पनि रोमिङ सेवा उपलब्ध छ ।
रोमिङ सेवाअन्तर्गत भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ । आगामी दिनमा क्रमशः अन्य देशहरुमा समेत यो सेवा उपलब्ध कम्पनीले जनाएको छ । नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीलाई लक्षित गरी यो सेवा उपलब्ध गराएको हो ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि नेपाल टेलिकमले भारतबाहेक माथि उल्लिखित अन्य देशमा रोमिङ सेवा स्वतः सुरु हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताको हकमा सेवा सुरु गर्न मोबाइलमा कम्तिमा पाँच हजार रुपैयाँ ब्यालेन्स हुनुपर्छ ।





















