चन्द्रमातर्फ मानव मिसन अघि बढाउँदै नासा
२०८२ माघ २१ बुधवार ०५:०४
shares

एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप आफ्नो नयाँ रकेटमा इन्धन भर्ने अन्तिम तथा महत्वपूर्ण परीक्षण सोमबार सफलतापूर्वक सम्पन्न गरेको छ । यस परीक्षणको सफलताले आर्टेमिस कार्यक्रमअन्तर्गत अन्तरिक्षयात्रीहरूको प्रक्षेपण मिति तय गर्न मार्ग प्रशस्त गरेको छ ।
केनेडी स्पेस सेन्टरमा स्पेस लन्च सिस्टम (एसएलएस) रकेटमा अत्यन्त चिसो हाइड्रोजन र अक्सिजन इन्धन भरेर वास्तविक प्रक्षेपण प्रक्रियाको अभ्यास गरिएको थियो । नासाका अनुसार करिब २६ लाख लिटर इन्धन ट्यांकीमा भरी धेरै घण्टासम्म सुरक्षित राखिएको थियो ।
यस अभ्यासमा चालक दल प्रत्यक्ष सहभागी नभए पनि तीन अमेरिकी र एक क्यानाडेली अन्तरिक्षयात्रीले ह्युस्टनबाट सम्पूर्ण प्रक्रिया निगरानी गरेका थिए । उनीहरू हाल क्वारेन्टिनमा रहेका छन् ।
नासाका अनुसार परीक्षण सफल रहेमा अन्तरिक्षयात्री टोलीलाई यही साता चन्द्रमातर्फ पठाउन सकिने सम्भावना छ । करिब १० दिन लामो यस मिसनमा अन्तरिक्षयात्रीहरू चन्द्रमाको वरिपरि परिक्रमा गरी पृथ्वी फर्कनेछन् । उनीहरू चन्द्रमामा अवतरण भने गर्ने छैनन् ।
आर्टेमिस कार्यक्रममार्फत नासाले भविष्यका दीर्घकालीन चन्द्र मिसनका लागि आधार तयार गर्ने लक्ष्य राखेको छ ।


















