एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

१२औँ एनआरएनए विश्व सम्मेलन फागुन ३० देखि चैत २ सम्म काठमाडौंमा

588
shares

काठमाडौं । १२औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलन २०८२ फागुन ३० देखि चैत २ सम्म (१४–१६ मार्च २०२६) सञ्चालन हुने तय भएको हो ।

‘आवर युनिटी, बेस फर प्रस्पेरिटी’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनको तयारी तीव्र रूपमा अघि बढिरहेको जनाइएको छ । सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भइसकेको छ । सो समितिको सचिवालयका रूपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवालयले नै कार्य गर्नेछ ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान विश्वभर छरिएका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने उद्देश्यका साथ अघि बढ्दै आएको छ ।

बदलिँदो समय र सन्दर्भअनुसार आफूलाई परिष्कृत गर्दै आएको यस संस्थाले आफूलाई मातृभूमि नेपालको सच्चा साझेदारका रूपमा स्थापित गर्न सफल भएको उल्लेख गरिएको छ ।

विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधि नेपालको सामाजिक तथा आर्थिक विकासमा उपयोग गर्ने ध्येयका साथ स्थापित एनआरएनए आज स्वदेश र विदेशमा रहेका नेपालीहरूको आशा र भरोसाको केन्द्रका रूपमा उभिएको छ ।

संघको १०औँ र ११औँ महाधिवेशनपछि देखिएका संगठनात्मक जटिलताहरूलाई आत्मसमीक्षा, संवाद र सहकार्यको माध्यमबाट चरणबद्ध रूपमा समाधान गर्दै अन्ततः ३० नोभेम्बर २०२५ मा ऐतिहासिक बृहत् एकता सम्पन्न भएको थियो ।

प्रधानमन्त्रीको रोहबरमा, परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहित सम्पन्न उक्त एकताले संघको स्थायित्व र भावी यात्राप्रतिको सामूहिक प्रतिबद्धता अझ सुदृढ भएको विश्वास व्यक्त गरिएको छ ।

आगामी सम्मेलनमा गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा गहन छलफल हुनेछ ।

गैरआवासीय नेपालीसम्बन्धी ऐन; संविधानले प्रदान गरेका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार; गैरआवासीय नेपालीको संयुक्त लगानी; पर्यटन, स्वास्थ्य क्षेत्रको सहकार्य; ज्ञान, सीप र प्रविधि हस्तान्तरण एवं महिला, युवा तथा दोस्रो पुस्ताको सहभागिता र भूमिकालाई एनआरएनएले मुख्य एजेन्डा बनाएको छ ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, एनआरएन अभियन्ता तथा स्वदेशी–विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

संघले आगामी विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई उत्साहपूर्ण सहभागिताका लागि हार्दिक अपिल गरेको छ । सम्मेलन सफल बनाउन सञ्चारकर्मीहरूको सहयोग पनि विशेष रूपमा अपेक्षा गरिएको छ ।

यस सम्मेलनलाई एनआरएन अभियानको एकता, सहकार्य र समृद्धितर्फको साझा प्रतिबद्धताको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।