बरालद्वारा लिखित “न्याउली” कथा सङ्ग्रह प्रकाशित
२०८२ पुस ६ आइतवार ०६:१३
shares

आर्टिकल्स पेपर, काठमाडौँ । खगराज बरालद्वारा लिखित “न्याउली” कथा सङ्ग्रह प्रकाशित भएको छ ।
यसमा काग, काफल पाक्यो, गौथली, तोप, न्याउली, बीउ कुह्यो र भँगेराका कथा हुन् । यी कथाहरू काल्पनिक कथा होइनन्, यी चराहरूको विशेषता, बानीव्यहोरा, खानपान, बासस्थानसम्बन्धी जानकारी दिने गरी यिनै विषयलाई कथात्मक बनाइएको छ । विशेष गरी ८ वर्षदेखि १४ वर्षका बालबालिकाका लागि उपयोग हुने यी कथाहरू वयस्कहरूका लागि पनि जानकारीमूलक रहेका छन् । गाउँघरको परिवेशमा लेखिएका यी कथाहरू नाति/नातिनी र हजुरबा/हजुरआमाबिचका कुराकानीका माध्यमबाट कथाहरू अगाडि बढेका छन् ।
लेखकले कथा लेख्नुपूर्व सम्बन्धित चराहरूका बारेमा अध्ययन तथा अनुसन्धान, सम्बन्धित विज्ञसँग छलफल र यी चराहरूसम्बन्धी इन्टरनेटमा उपलब्ध सामग्रीहरू अध्ययन गरेका थिए । यी कथाहरूको अध्ययनपश्चात यी चराहरूका सम्बन्धमा थप जानकारी प्राप्त हुने र कतिपय भ्रम पनि हट्ने अपेक्षा लिइएको छ ।

यसका साथै यस कथा सङ्ग्रहमा तीनओटा र्गैह्र चरासम्बन्धी कथा रहेका छन्ः कटुवाल, मालेगोरु र वादविवाद । यी कथाहरू पनि काल्पनिक नभई वास्तविकतामा आधारित, गाउँले परिवेशमा हजुरबाहजुरआमा/आमाबा पुस्ता र नातिनातिनी÷छोराछोरी पुस्ताबिचको कुराकानीका आधारमा जानकारीमूलक विषयवस्तु राखिएको छ ।
“न्याउली” कथा सङ्ग्रहका सम्बन्धमा चराविद् डा. हेमसागर बराल लेख्छन्, “कथाकार खगराज बरालले मध्य नेपालको गण्डकी प्रदेशको गाउँले परिवेशमा आधारित चराहरू र तिनीहरूको संरक्षणका बारेमा कथाहरूको सुन्दर सङ्ग्रह लेखेका छन् । यी कथाहरूले हाम्रो उमेरका व्यक्तिलाई आफ्नो बाल्यकालमा चरासंँगको अवलोकन तथा स्वतःस्फूर्त तरिकाले अध्ययन गरेको संस्मरण गर्न मद्दत पु¥याउनका साथै हाम्रा केही लोप हुँदै गएका सांस्कृतिक र सामाजिक मूल्य मान्यताहरूलाई जीवन्त तुल्याउन प्रयास गरेको पाइन्छ । कथाकारले पहिलो पुस्ताबाट तेस्रो पुस्तामा ज्ञान हस्तान्तरण गर्ने परम्परागत अभ्यासको झल्को देखाएका छन् र यिनलाई संरक्षण गर्ने उत्तम प्रयास पनि गरेका छन् । यो राम्रो अभ्यास दुर्भाग्यवश हाम्रो समाजबाट प्रायः हराउँदो छ । भूमण्डलीकरणले हाम्रा धेरै परम्परागत मान्यता र बहुमूल्य अभ्यासहरू गुमाउन योगदान पु¥याएको छ जुन यस सङ्ग्रहमा सुन्दर र अर्थपूर्ण रूपमा कैद गरी जीवन्त तुल्याइएको छ । चराहरूको बारे गहिरो ज्ञान राख्न चाहने जो कोहीले यो सङ्ग्रहलाई अन्तर्दृष्टिको समृद्ध स्रोत पाउनेछन् ।”
“न्याउली” कथा सङ्ग्रहका सम्बन्धमा संयुक्त राज्य अमेरिकास्थित नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राध्यापनरत डा चराविद् अनुज घिमिरे लेख्छन्, “चराको कथा” विद्यार्थीहरूलाई चराचुरुङ्गी र तिनको संरक्षणको बारेमा शिक्षा दिने राम्रो पुस्तक हो । लेखकले वास्तविक जीवनका परिस्थितिहरूलाई संरक्षणका मुद्दाहरू र चराचुरुङ्गीहरूको व्यवहारसँग उत्कृष्ट रूपमा जोड्नुभएको छ । लोक कथाहरूमा चराहरूबारे आउने सन्दर्भहरू थप्दा कथाहरू अझ प्रभावकारी भएका छन् ।

पुस्तकले विभिन्न प्रजातिहरू, तिनको व्यवहार, समाजमा रहेको स्थिति र साहित्यको क्षेत्रमा रहेका उनीहरूका स्थानलाई सम्बोधन गर्छ । प्रत्येक कथामा चराचुरुङ्गीहरूको महत्त्व, संरक्षण, र आवश्यक परेका बेला हामी तिनलाई कसरी मद्दत गर्न सक्छौँ भन्ने भाग समावेश छ । समग्रमा, यस पुस्तकले कथाहरूको माध्यमबाट प्रकृति र चराचुरुङ्गीहरूको महत्त्वलाई प्रवद्र्धन गर्छ । कथाहरू प्रस्तुत गर्ने शैली हेर्दा, म विश्वस्त छु कि यसले विद्यार्थीहरूमा चराचुरुङ्गीप्रति चासो उत्पन्न गर्नेछ । आशा छ यस किताबको माध्यमबाट विद्यार्थीहरूमा वन्यजन्तु, चराहरू र प्रकृतिको संरक्षणबारे जिज्ञासा बढ्ने छ ।”
कथा सङ्ग्रह “न्याउली” शिखा बुक्स प्रा.लि.ले प्रकाशन गरी बजारमा ल्याएको छ । डिमाइज आकारको या कथा सङ्ग्रह १२८ पृष्ठको छ भने मूल्य २५० रुपैयाँ रहेको छ ।


















