• २०८१ असोज ५ गते शनिवार

काठमाडौं: विज्ञापन एजेन्सी वान्डरम्यान थमसनको नेपाल ब्रान्च बन्द हुने चरणमा पुगेको छ । विज्ञापन बजार खुम्चिएर आर्थिक संकट गहिरिँदै गएपछि थम्सन खारेजी प्रक्रियामा गएको हो ।

थम्सन नेपालले यस विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । पछिल्लो समय चरम आर्थिक संकटबाट गुज्रिएको थम्सन नेपाल आफ्ना कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा पुगेको छ । कुनैबेला ५० जनासम्म कर्मचारी राखेर काम गरेको थम्सनले पछिल्लो समय आउटसोर्सिङबाट काम चलाउन थालेको थियो ।

सन् २०१० सम्म नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विज्ञापन एजेन्सीको रूपमा रहेर थम्सन चिनिन्थ्यो । विश्वभरका ९० बजारमा २० हजार प्रतिनिधि संस्थामार्फत सेवा दिँदै आएको जेवाल्टर थम्सन अमेरिकी विज्ञापन एजेन्सी हो । यसको स्थापना १८९६ मा जेम्स वाल्टर थम्सनले गरेका थिए ।

९७ को दशकमा नेपाल भित्रिएको थम्सनले आफ्ना कर्मचारीलाई आकर्षक तलब दिँदै आएको थियो । यही कारण यसको सञ्चालन खर्च नै नेपालमा रहेका अन्य विज्ञापन एजेन्सी भन्दा बढी हुन गयो । पेप्सी, सूर्य नेपाल, डाबर नेपाल, युनिलिभर, युएसएआइडी लगायतको विज्ञापन थम्सनले नेपालकै बनाउने गरेको थियो । थम्सनले विज्ञापनलाई सृजनात्मक बनाए बापत मात्रै (क्रियटिभ चार्ज) वार्षिक ५ करोड रुपैयाँ असुल्ने गरेको थियो ।

तर, जब नेपालमा सरकारले सुर्ती–चुरोट तथा मदिराजन्य पदार्थको विज्ञापन आमसञ्चार माध्यमबाट प्रचार–प्रसार गर्न रोक लगायो त्यही बेलादेखि कम्पनीको आम्दानीमा धक्का लाग्दै आयो । यसले आफ्ना कर्मचारीलाई राम्रो तलब दिन सकेन । गत वर्षको कात्तिकमा जनस्वास्थ्य सेवा ऐनले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण र प्रचारप्रसार गर्न रोक लगाएको भन्दै विज्ञापन बोर्डले सूचना जारी गरेको छ ।

सबैभन्दा बढी आम्दानी हुने सुर्ती, चुरोट र मदिराको विज्ञापन बनाउन नपाएपछि थम्सनलाई सबैभन्दा ठूलो धक्का लागेको हो । आकर्षक तलब खान नपाएपछि थम्सनका कर्मचारीहरू सृजनात्मक बनेनन् । त्यसको असर कम्पनीले बनाउने विज्ञापनसम्मै झल्कियो । नाम चलेका कम्पनीले थम्सनसँग गर्दै आएको साझेदारीबाट हात झिक्न थाले ।

थम्सन नेपालको कार्यालय पहिले त्रिपुरेश्वरमा थियो । पछि नारायणहिटी दक्षिण ढोका लालदरबारमा सर्‍यो । थम्सन नेपालको एसिया प्यासिफिकमा मात्र अष्ट्रेलिया, बंगलादेश, चाइना, नेपाल, हङकङ, इण्डिया, इन्डोनेसिया, जापान, कोरिया, फिलिफिन, सिंगापुर, थाइल्याण्ड र ताइवानमा यसका कार्यालय छन् । युरोप, मध्यपूर्व अफ्रिका, ल्याटिन अमेरिका, नर्थ अमेरिका लगायतमा यसको कार्यालय रहेको छ ।

साभार : अखबार नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *