आईसीयूमा रहेका आन्दोलनरत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद खुस्बु ओलीको आग्रह
२०८३ साउन २२ शुक्रवार २३:२३
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएकाे छ ।
उहाँले इन्टर्न चिकित्सकले समान भत्ता, श्रम ऐनअनुसार कार्यघण्टा र चिकित्सकहरूको मासिक भत्तासम्बन्धी प्रतिवेदन कार्यान्वयनको माग राख्दै आन्दोलन गरिरहेको उल्लेख गर्दै उनीहरूमध्ये एक जना गम्भीर अवस्थामा पुगेको बताउनुभयाे।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले माइतीघर मण्डलामा आन्दोलनरत इन्टर्न चिकित्सकको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘केही समयअघि मैले यही सदनबाट इन्टर्न डाक्टरहरूको आवाज उठाएकी थिएँ। अहिले वीर अस्पतालको आईसीयूमा एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकहरू आन्दोलनरत हुनुहुन्छ। उहाँहरूमध्ये एक जना अहिले आईसीयूमा गम्भीर अवस्थामा हुनुहुन्छ। उहाँहरूको माग भनेको समान भत्ता होस्, चिकित्सकहरूको मासिक भत्तासम्बन्धी प्रतिवेदन कार्यान्वयन होस् र कार्यघण्टा श्रम ऐनअनुसार लागू होस् भन्ने हो। सरकार र स्वास्थ्य मन्त्रालयले तत्काल यो विषय सम्बोधन गर्नुपर्छ।’
ओलीले माइतीघर मण्डलामा विभिन्न माग राखेर आन्दोलनरत अन्य नागरिकका समस्या पनि सरकारले बेवास्ता गर्न नहुने बताइन्। उनले मिटरब्याज पीडित, दुर्घटनापीडित तथा न्यायको माग गर्दै आन्दोलन गरिरहेका नागरिकको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयाे ।





















