चुनाव : नेता, जनता र विवेक
२०८२ फागुन १२ मंगलवार १५:५४
shares

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्, नारा गुन्जिरहेका छन् । नेताहरू जनताको ढोका ढकढक्याउँदैछन्, हात जोड्दैछन्, आश्वासन दिँदैछन् । हिजो पाँच वर्षसम्म नदेखिएका अनुहार आज ‘जनताका आफ्ना’ बनेर देखिन थालेका छन् ।
जीवनमा कहिल्यै नगरेका कामहरू गर्दै नेताहरू आज जनतालाई खुसी पार्ने प्रयासमा देखिन्छन् । कोही खाना पकाउँदै, कोही हलो जोत्दै, कोही बिरामी बोकेर हिँड्दै, त कोही मेयरलाई नै थर्काउँदै आफ्ना जनतासँग नजिकिएको सन्देश दिन खोजिरहेका छन् ।
अब समयले प्रश्न सोधिरहेको छ- के यो संस्कार वास्तवमै ठीक हो त ? हिजोसम्म कहिल्यै नदेखिएका अनुहार आज गाउँको आँगनमा छन्, घरको दैलोमै उभिएर आफ्नोपन देखाउन खोजिरहेका छन् । तर, चुनाव भनेको केवल मत हाल्ने प्रक्रिया मात्र होइन । यो हाम्रो विवेक, हाम्रो भविष्य र हाम्रो सामूहिक जिम्मेवारीको सबैभन्दा गम्भीर परीक्षा हो ।
नेपालको राजनीतिक इतिहासलाई नजिकबाट हेर्दा एउटा तथ्य स्पष्ट देखिन्छ- कुनै पनि राजनीतिक दल पूर्णरूपमा खराब छैनन् र कुनै पनि दल पूर्ण रूपमा राम्रा पनि छैनन् । हरेक पार्टीभित्र इमानदार, राष्ट्रप्रेमी र काम गर्न चाहने व्यक्ति छन् । अर्कोतिर, तिनै पार्टीभित्र अवसरवादी, स्वार्थी र जनतालाई केवल चुनावी साधन मात्र ठान्ने व्यक्ति पनि छन् । समस्या पार्टीको नाममा होइन, व्यक्ति, आचरण र नेतृत्वको सोचमा छ ।
हामीले विगतमा देख्यौँ- सत्ता पाएपछि जनतालाई बिर्सने नेता, विकासको नाममा भाषणमै सीमित रहने नेतृत्व, राज्यको स्रोतलाई व्यक्तिगत र दलगत फाइदाका लागि प्रयोग गर्ने प्रवृत्ति । तर, यिनै दलहरूभित्र मौन रूपमा काम गर्ने, प्रचारभन्दा परिणाममा विश्वास गर्ने, कठिन परिस्थितिमा पनि इमान नछाड्ने नेताहरू पनि छन्- जसलाई हामीले नजिकबाट चिन्न सकेनौँ, सुन्न सकेनौँ ।
हामीले विगतका दशकमा धेरै कुरा देखिसकेका छौँ । ठूला भाषण, ठूला वाचा, ठूला नारा तर प्रश्न सधैं एउटै रह्यो- बोल्नेले के गर्यो ? यहाँ भाषणले- सडक बनेन, रोजगारी सिर्जना गरेन, अस्पतालमा औषधि पुर्याएन, विद्यालयको गुणस्तर सुधार गरेन ।
हामीले भीड तान्न सक्ने, भावनामा खेल्न सिपालु, लोकप्रिय नेताहरू पनि धेरै देख्यौँ तर लोकप्रियताले मात्र देश बनेको भए, नेपाल आज धेरै अघि पुगिसकेको हुन्थ्यो । हिजोआज चुनावमा सामाजिक सञ्जाल सबैभन्दा शक्तिशाली हतियार बनेको छ । फेसबुक, ट्विटर र यु-ट्युब जस्ता माध्यमले नेताको छवि बनाइरहेका छन् तर हामीले बुझ्नैपर्छ- मिलियन फलोअर्स हुनु देश बनाउने योग्यता होइन ।
सामाजिक सञ्जालको लोकप्रियताले छवि निर्माण हुन सक्छ तर देश बनाउने कामले दीर्घकालीन सोच माग्छ, नीति बुझ्ने क्षमता माग्छ, दबाबमा नझुक्ने चरित्र माग्छ, कठिन निर्णय गर्ने साहस माग्छ । हामीले विगतमा देखिसकेका छौँ- लोकप्रिय मानिसहरू सत्तामा पुगेपछि कस्तो निर्णय गर्छन्, कसरी जनअपेक्षा तोडिन्छ, कसरी संस्थागत कमजोरी बढ्छ ।
सामाजिक सञ्जालको लोकप्रियताले छवि निर्माण हुन सक्छ तर देश बनाउने कामले दीर्घकालीन सोच माग्छ, नीति बुझ्ने क्षमता माग्छ, दबाबमा नझुक्ने चरित्र माग्छ, कठिन निर्णय गर्ने साहस माग्छ । हामीले विगतमा देखिसकेका छौँ- लोकप्रिय मानिसहरू सत्तामा पुगेपछि कस्तो निर्णय गर्छन्, कसरी जनअपेक्षा तोडिन्छ, कसरी संस्थागत कमजोरी बढ्छ ।
अब प्रश्न उठ्छ र उठाउनै पर्छ- के हामी फेरि त्यही गल्ती दोहोर्याउने ? अब आउने, जनताले छान्ने नेता यस्तो हुनुपर्छ- जो भाषणभन्दा योजना बुझ्छ, जो भीडभन्दा तथ्यमा विश्वास गर्छ, जो लोकप्रियताभन्दा परिणाम खोज्छ, जो आलोचना सुन्न सक्छ र गल्ती स्वीकार गर्न सक्छ, जसको जीवनशैली र आम्दानी मेल खान्छ, जसले सार्वजनिक सम्पत्तिलाई निजी सम्झँदैन, जसले सत्तालाई सुविधा होइन, सेवा ठान्छ । र, नेता यस्तो हुनुपर्छ- जो चुनाव जितेपछि पनि जनताबीच रहन्छ, जो स्थानीय समस्या बुझ्छ, जो केन्द्र होइन, समुदायबाट सोच्न सक्छ ।
अब हामी स्पष्ट हुनुपर्छ- हामीले नछान्ने नेता जो केवल चुनावको बेला मात्र देखिन्छ, जो प्रश्न सोध्दा रिसाउँछ, जो आलोचनालाई शत्रुता ठान्छ, जो जात, धर्म र क्षेत्रको भावनामा राजनीति गर्छ, जो युवालाई नारामा मात्र प्रयोग गर्छ, जो विभाजन र घृणाको राजनीति गर्छ, जो आफ्नो दलभन्दा माथि देश सोच्न सक्दैन ।
देश विकास गर्ने नेता धेरै बोल्ने हुँदैन, धेरै प्रचारमा देखिँदैन, सामाजिक सञ्जालमा सधैं ट्रेन्डमा हुँदैन, तर नीति निर्माणमा देखिन्छ, कार्यान्वयनमा देखिन्छ, संस्थागत सुधारमा देखिन्छ, संकटको बेला जिम्मेवारी लिन्छ, विकास चुपचाप हुन्छ । परिणाम बोल्छ, नेता होइन ।
अब चुनावको घडीमा हामीले आफ्नो विवेक कहाँ प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । भोट माग्न आउनुभन्दा अघि नै एउटा सूची तयार गरौं, जसमा यसअघि कुनै पनि मुद्दा, आरोप, उजुरी वा बदनाम खेपेका नेताहरूलाई समावेश गरी त्यस्ता व्यक्तिलाई भोट नदिने स्पष्ट आत्मनिर्णय गर्नुपर्छ र त्यसै अनुसार अघि बढौँ ।
त्यस्ता प्रवृत्ति बोकेका व्यक्ति र गिरोहलाई राजनीतिबाट पूर्ण रूपमा निर्मूल गर्नु आजको आवश्यकता हो । सत्ता र सत्ताको संरक्षणमा बसेर, संसद्को बन्द कोठाभित्र उठेका आरोपहरू वारपार नगरी दबाइने परम्परा अब अन्त्य हुनुपर्छ । त्यो काम गर्ने बेला जनताको हातमा आएको छ । अब हामीले के गर्ने, के नगर्ने भन्ने कुरा हाम्रो २-५ मिनेटको समयले नै तय गर्छ ।
कुनै पनि नेता, कुनै पनि दल- उसमाथि गम्भीर आरोप छन् भने त्यसको निष्पक्ष छानबिन नभएसम्म सबैलाई जिम्मेवारीबाट अलग राख्नुपर्छ । जवाफदेहिता र कानुनी कारबाही अनिवार्य हुनुपर्छ । देश चलाउने ठाउँ, दाग लागेको चरित्रको आश्रयस्थल होइन । राजनीति सेवा हो, अपराधबाट बच्ने ढाल होइन । अब जनता स्पष्ट हुनुपर्छ- दाग लागेको नेतृत्वलाई होइन, स्वच्छ सोच, स्वच्छ आचरण र स्वच्छ भविष्यलाई भोट दिनुपर्छ ।
चुनावमा हाम्रो भूमिका केवल मत हालेर सकिँदैन । हामी सचेत नागरिक बन्नुपर्छ । हामीले नेता छान्दा सोध्नुपर्छ- उसले अघिल्लो जिम्मेवारीमा के गर्यो ? उसको निर्णयले कसलाई फाइदा पुग्यो ? उसले संस्थालाई बलियो बनायो कि आफूलाई ?
भावनामा होइन, विवेकमा निर्णय लिनुपर्छ । यो चुनाव केवल नेताहरूको परीक्षा होइन, हाम्रो चेतनाको परीक्षा हो । अब समय आएको छ, भाषणभन्दा काम छान्ने, लोकप्रियताभन्दा क्षमता छान्ने, ट्रेन्डभन्दा दृष्टि छान्ने, मिलियन फलोअर्स लिएर आएको नेता होइन, देशको भोलि सोच्ने नेता हामीलाई चाहिएको छ ।
हामीले बारम्बार परिवर्तनको सपना देख्यौँ तर विकास किन अझै सही बाटोमा आउन सकेन भन्ने प्रश्नको उत्तर अन्ततः हाम्रो आफ्नै निर्णयमा लुकेको छ । हरेक चुनावमा हामीले भावनामा बगेर, जात, क्षेत्र, पार्टीको अन्ध समर्थनमा वा क्षणिक लोकप्रियताको प्रभावमा भोट हाल्यौँ ।
हामीले बारम्बार परिवर्तनको सपना देख्यौँ तर विकास किन अझै सही बाटोमा आउन सकेन भन्ने प्रश्नको उत्तर अन्ततः हाम्रो आफ्नै निर्णयमा लुकेको छ । हरेक चुनावमा हामीले भावनामा बगेर, जात, क्षेत्र, पार्टीको अन्ध समर्थनमा वा क्षणिक लोकप्रियताको प्रभावमा भोट हाल्यौँ ।
परिणामस्वरूप, देशले स्थायित्वभन्दा अस्थिरता, योजनाभन्दा नारा, कामभन्दा बढी आन्दोलन र जिम्मेवारीभन्दा बहानाको राजनीति धेरै देख्यो । सडक अधुरै रहे, उद्योग बन्द भए, युवा बिदेसिन बाध्य भए र अवसर हाम्रो आँखाअगाडि हराउँदै गए । विकास रोकिएको केवल नीतिको कमजोरीले होइन, गलत नेतृत्वलाई बारम्बार अवसर दिँदा बनेको संस्कारले हो । जब हामीले योग्यताको सट्टा चिनजान छान्यौँ, कामको सट्टा भाषणलाई प्राथमिकता दियौँ, तब हामी आफैँले भविष्य ढिलो बनायौँ ।
अब फेरि चुनावको मोडमा उभिँदा, हामीसँग एउटा गहिरो आत्मप्रश्न गर्ने समय आएको छः के हामी फेरि त्यही गल्ती दोहोर्याउने, कि अब विवेकले देशको बाटो बदल्ने ? समृद्धि केवल सरकारको नीतिले मात्र आउँदैन, त्यो नागरिकको सचेत निर्णयबाट सुरु हुन्छ ।
हामीले स्वच्छ आचरण, दीर्घकालीन सोच र दिगो विकासको दृष्टि बोकेका नेतृत्वलाई साथ दियौँ भने नेपालले ऊर्जा, पर्यटन, कृषि र उद्योगमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ । तर, यदि फेरि भावनामा बहकियौँ भने विकासको सपना फेरि पाँच वर्ष पछाडि धकेलिनेछ । यसपटक भोट केवल अधिकार होइन, जिम्मेवारी हो, हाम्रो सन्तानको भविष्य, हाम्रो गाउँको सम्भावना, र राष्ट्रको समृद्धिको आधार हो ।
अब समय आएको छ, गलत छनोटको पीडा सम्झेर सही निर्णय गर्ने । विकास ढिलो भयो भन्दै गुनासो गर्नुभन्दा पहिले, विकासलाई रोक्ने गलत मतदान संस्कार बदल्नुपर्छ । आज हामीले विवेक प्रयोग गर्यौं भने भोलि नेपालले स्थायित्व, समृद्धि र दिगो विकासको नयाँ अध्याय सुरु गर्न सक्छ । यसपटक भोट दलको होइन, देशको लागि हालौँ; भावनाको होइन, जिम्मेवारीको लागि हालौँ; ताकि भोलिको नेपाल केवल आशाको कथा होइन, उपलब्धिको वास्तविकता बनोस् ।
आज हामीले सही छनोट गर्यौँ भने भोलि गुनासो गर्नुपर्ने छैन । मत सानो देखिएला तर यसको प्रभाव ठूलो हुन्छ । यसपालि भोट भावनामा होइन, विवेकमा हालौँ । नेता होइन, देश छानौँ ।



















