एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

भाषा, सञ्चार र स्व-अस्तित्व

1.8K
shares

भाषालाई हामी प्रायः सामान्य कुरा ठान्छौं, ‘भावना आदान-प्रदान गर्ने माध्यम त हो नि’ भनेर । हाम्रो ठम्याइ गलत होइन, तर भाषा त्यति मात्र होइन । यो मानव जातिलाई प्रकृतिबाट प्राप्त असामान्य उपहार हो, जसले हाम्रो निर्माण गरेको छ । विश्वविश्रुत भाषाविज्ञानी नोम चोम्स्की भन्छन् :

“भाषा हाम्रो अस्तित्वको मूल आधार हो । हामी प्रत्येक क्षण भाषामा लीन रहन्छौं । जतिखेर हामी सडकमा हिंडिरहका हुन्छौं, त्यसवेला हामीलाई स्वयंसँग आफ्नो कुराकानी रोक्न सशक्त इच्छाशक्तिको आवश्यकता पर्छ । किनभने, स्वयंसँग हाम्रो कुराकानी निरन्तर चलिरहेको हुन्छ ।

“केटाकेटी वयस्कहरूको कुराकानीको अनुकरण गरेर अथवा आफ्नो बाहिरी परिवेशबाट भाषा सिक्ने भन्दा पनि भाषामा दक्षता प्राप्त गर्ने आन्तरिक क्षमताबाट जन्मजात रूपमै सुसम्पन्न हुन्छन् । यो यस्तो शक्ति हो, जो जैविक विकासले हामी मानिसलाई मात्र सुम्पेको छ ।

“यदि अमेजन क्षेत्रका शिकार-संग्राहक आदिवासी समुदायको कुनै शिशुलाई बोस्टनमा ल्याएर पालन-पोषण गरियो भने भाषिक क्षमताका सन्दर्भमा ऊ यहाँका केटाकेटीभन्दा अलिकति पनि फरक हुँदैन । यसको विपरीत परिस्थितिमा पनि यही हुन्छ । अर्थात्, बोस्टनको कुनै शिशुलाई अमेजनका आदिवासीहरूबीच राखेर हुर्काइयो भने उसले पनि तिनको भाषा सहज रूपमा दुरुस्तै उनीहरूले झैं बोल्न थाल्छ । 

“आजको मानिसका बोल्ने र सुन्ने स्नायुतन्त्र ठ्याम्मै उस्तै छन्, जस्तो ६ लाख वर्ष अघिको मानिसका थिए । तर यसबीच मानिसमा अभूतपूर्व संज्ञानात्मक परिवर्तन आएको छ । यो कसरी भयो ? – कसैलाई थाहा छैन । यो अनौठो मानवीय निधि, जो हामी सबैसँग छ, हाम्रो संस्कृति र हाम्रो कल्पनाशील बौद्धिक जीवनको ठूलो खण्डको आधारभूत तत्त्व हो । यसकै कारण हामी योजना बनाउन समर्थ हुन्छौं, सृजनात्मक कलाकर्म गर्छौं अनि जटिल समाजहरूको निर्माण गर्छौं ।”

तपाईंलाई लाग्दो होला, भाषा मानव मस्तिष्कले उत्पादन गरेको वस्तु हो । यथार्थ चाहिँ कस्तो देखिन्छ भने, भाषाकै कारण मानव मस्तिष्कको विकास भएको हो । भाषा नै हो, जसले हाम्रो मस्तिष्कलाई महासुषुप्तिबाट जगायो र दौडायो । मानव जातिबाट भाषालाई हटाइदिनोस्, कुनै पनि प्रकारको ज्ञान, विज्ञान, धर्म, संस्कृति, दर्शन अथवा भौतिक विकासको कल्पना पनि गर्न सकिँदैन । (भाषा विना कल्पनै पो कसरी गर्नु !) मानवीय सभ्यता भनेर जेलाई भनिन्छ, त्यो मूलतः भाषाको उत्पादन हो । मानवका रूपमा हामी भाषाका उत्पादन हौं≤ भाषा नभएको भए हाम्रो आजको अवस्था आजका पशुहरूको भन्दा भिन्न हुने थिएन ।

भाषा हराओस्, मानव जाति जड हुन पुग्नेछ । भाषा पशु-जगतमा स्थानान्तरित होस्, मानव सभ्यता असहाय बन्न पुग्नेछ । भाषा अजैविक सत्त्व (जस्तै ‘एआई’) को हातमा पुगोस्, मानवीय श्रेष्ठता संकटमा पर्नेछ । समकालीन विश्वका बहुचर्चित बौद्धिक युवल नोहा हरारी भन्छन् :

“अहिले भइरहेको ‘एआई’ क्रान्तिको सबैभन्दा महत्त्वपूर्ण पक्ष नै भाषा हो । भाषाको सम्बन्धमा यसले हासिल गरेको क्षमता औसत मानव क्षमताभन्दा बढी भइसकेको छ । भाषामा हासिल गरेको क्षमताकै भरमा ‘एआई’ ले हाम्रा सबै संस्थाहरू- बैंकदेखि मन्दिरसम्मको ताला-चाबी हात पार्दै गएको छ । किनभने, भाषा नै यस्तो साधन हो जसलाई हामीले बैंकलाई निर्देशन दिनदेखि ईश्वरको परिकल्पना गरेर वरदान माग्नसम्म उपयोग गर्छौं । अर्को शब्दमा भन्ने हो भने ‘एआई’ ले मानव सभ्यता सञ्चालन गर्ने प्रणाली नै हत्याइदिएको छ । 

“भाषा नै मानव जातिको शक्ति हो । हामी कथा होस् या कानून, ईश्वर होस् या पैसा, तिनको निर्माण गर्न भाषाको प्रयोग गर्छौं । कलाका विभिन्न रूप र विज्ञानको सिर्जना गर्न, साथी वा राष्ट्रहरू बनाउन पनि भाषाको प्रयोग गर्छौं । उदाहरणका लागि, मानव अधिकारको अवधारणा हाम्रो जैविक यथार्थ होइन । मानव अधिकार हाम्रो डीएनएमा कुँदिएको छैन । भाषा मार्फत कथाहरू भनेर र कानूनहरू लेखेर हामीले मानव अधिकारको परिकल्पना गरेका हौं । हाम्रा ईश्वरहरू पनि जैविक वा भौतिक यथार्थ होइनन् । ती पनि मानिसले भाषा मार्फत कथा सुनाएर या ग्रन्थहरू लेखेर सिर्जना गरेका हुन् । पैसा पनि जैविक वा भौतिक यथार्थ होइन । नोटहरू केवल कागजका टुक्रा हुन् । तिनको मूल्य भाषाले सिर्जना गरेको हो ।” 

OOO

संसारमा सात हजार भन्दा बढी भाषा छन् । तीमध्ये सबैभन्दा बढी बोलिने ५० भाषाभित्र नेपाली पनि पर्दछ । यो तीन करोड जनसंख्या भएको नेपालको आधिकारिक भाषा हो भने झन्डै डेढ अर्ब जनसंख्या भएको भारतमा पनि यसलाई आधिकारिक भाषाको मान्यता प्राप्त छ । यो विश्वका सबै महादेश र सबैजसो मुलुकहरूमा पुगिसकेको छ । नेपाली भाषा नेपालीको पहिचान हो । हाम्रो सभ्यता, संस्कृति, परम्परा र जीवन दर्शन यसैमा अडिएका छन् । विश्वभर विस्तारित भएको नेपाली जातिलाई यसैले एक सूत्रमा जोडेको छ ।

नेपाली निकै मीठो र सशक्त भाषा हो । यो संस्कृतबाट जन्मेको हो र संस्कृतबाट जन्मेका अन्य भाषाहरू भन्दा तेजिलो एवं संप्रेषणीय छ । तर यही नेपाली भाषालाई हामीकहाँ नमीठो विवादको भुमरीमा पारिएको छ । कहिले नेपालीमा श-ष को काम छैन भनियो त कहिले दीर्घ इकार-उकार नलेख्ने उर्दी जारी गरियो । कहिले नेपाली जिभ्रोले ञ र ण को उच्चारणै गर्दैन भनियो त कहिले संयुक्त अक्षरका खुट्टा काट्ने आदेश दिइयो । जस्तै, ‘शहीद’ लाई ‘सहिद’ बनाइयो, ‘कानून’ लाई ‘कानुन’ तुल्याइयो, ‘झण्डा’ लाई ‘झन्डा’ मा झारियो, ‘विद्या’ को खुट्टा काटेर ‘विद्या’ बनाइयो, ‘दिनाङ्क’ लाई भत्काएर ‘दिनाङ्क’ बनाइयो । अनि ५२ अक्षरको वर्णमालालाई १७ अक्षर फ्याँकेर ३५ अक्षरमा झारियो । सारा पाठ्यपुस्तक र शब्दकोश यसै अनुसार विकृत बनाइयो । राज्यसत्ताको आडमा लादिएको यस्तो विकृतिले नेपाली भाषालाई कमजोर र निस्तेज मात्र पारेको छैन, भाषाबाट भाषिका बन्ने बाटोतर्फ पनि धकेल्दै लगेको छ । 

यो विकृतिका विरुद्ध नेपाली भाषा प्रयोगकर्ताहरूले दरो आवाज उठाएपछि विकृतिको बीजारोपण गर्ने गुरुहरुले आफ्नो गल्ती स्वीकार्दै भूलसुधार गरेका छन् । यो वितण्डाबाट मुक्त नगरे नेपाली भाषा भयंकर अराजकताको चपेटामा पर्ने (जस्तै- शरीर, शब्दकोश, पशुपति, श्रीमती, गणेश, इन्द्र जस्ता शब्दहरूलाई पनि क्रमशः सरिर, सब्दकोस, पसुपति, स्रिमती, गनेस, द्वन्द्व लेख्न थालिने; अक्षरहरू अझ घटाइने; लेखनाथ, सम, देवकोटा आदिले लेखेको सारा वाङ्मय नयाँ पुस्ताका लागि अशुद्ध ठहरिने आदि) र यसले आफ्नो गरिमा गुमाउने उनीहरूको निष्कर्ष छ । यही बुझेर नेपालको संविधानले परम्परागत शुद्ध हिज्जेलाई अंगीकार गरेको छ अनि सर्वोच्च अदालतले समेत नेपाली भाषाको हिज्जे, व्याकरण र लेखनशैलीमा फेरबदल गर्ने अधिकार कसैलाई नभएको निर्णय सुनाएको छ । दुःखको कुरा के भने, यति भइसक्ता पनि, कहीं नभएको जात्रा हाँडीगाउँमा भने झैं मूल र शुद्ध हिज्जे बिगारेर विकृत हिज्जे चलाउने यो वितण्डा रोकिएको छैन । खास गरी प्रज्ञा प्रतिष्ठान, त्रिवि नेपाली विभाग र शिक्षा मन्त्रालयले गुरुहरूको निर्देशन, संविधानले देखाएको बाटो र अदालतको निर्णयलाई समेत अवज्ञा गर्दै यो विकृतिलाई निरन्तरता दिइरहेका छन् ।

शिष्ट परम्परा र प्रचलनबाट स्थापित हिज्जे भत्काउनु भनेको भाषाको जग भत्काउनु हो । जग नै भत्किएपछि भवन कसरी सुदृढ हुन्छ ? हिज्जे नै स्तरहीन र अप्रामाणिक भएपछि भाषा कसरी उँभो लाग्छ ? अप्रामाणिक हिज्जे लिएर हामी डिजिटल दुनियाँ र ‘एआई’ सँग प्रामाणिक रूपमा कसरी जोडिने ? विश्वका सबै भाषासँग स्वतः आधिकारिक अनुवाद आदान-प्रदान हुने अवस्थामा कसरी पुग्ने ? 

गलत हिज्जे अँगालेर तपाईं सही विचार दिन सक्नुहुन्न । तपाईं त क्या लेखें भन्ठान्नुहोला तर त्यो सञ्चारित हुँदैन । ‘प्रापक’ सम्म पुग्दैन । विख्यात अमेरिकी शिक्षाविद् जोन हल्ट भन्छन्, “पुस्तकको कुनै अनुच्छेदमा एउटा शब्दको वर्तनी गडबड छ भने, कैयौं पृष्ठ अघि पुगिसक्ता पनि पाठकको दिमागलाई त्यसले अल्झाइरहेको हुन्छ । अर्थात्, धेरै पछिसम्म उसको दिमाग एकाग्र हुन सक्तैन; ऊ कथ्यको गहिराइमा तन्मय भएर प्रवेश गर्नै सक्तैन । लेखक, पाठक दुवै परस्परमा वञ्चित हुन पुग्छन् ।” एउटा पनि शब्दको वर्तनीमाथिको खेलबाड अथवा असावधानी, त्यसैले अनर्थकारी हुन्छ ।

लेख्नु भनेको स्पष्टताको अभिव्यक्ति हो । आफ्ना सोच, विचार, कल्पना, भावना मात्र होइन, आफ्नो अस्पष्टता समेत स्पष्ट भएपछि मात्र त्यसलाई लेखनमा उतार्न सकिन्छ । नत्र लेखन स्वयंमा अन्योल र अस्पष्टताको दस्तावेज बन्न पुग्छ- लेखकका लागि पनि र पाठकका लागि पनि । अब सोचौं, हिज्जेमै अन्योल र अस्पष्टता भएपछि त्यो लेखाइ कस्तो हुँदो होला ? त्यसले पाठकमा के सञ्चार गर्दो होला ?    

OOO

साहित्यमा कलम चलाउनोस् वा पत्रकारितामा, तपाईंले लेखेको कुरा पाठकमा सञ्चारित हुनुपर्छ । त्यसका लागि भाषा राम्रो हुनुपर्छ : सरल, सहज, छरितो, त्रुटिहीन र स्पष्ट; जे भन्न खोजिएको हो त्यही बुझिने, अर्को अर्थ नलाग्ने । बिर्सन नहुने कुरा के हो भने, पत्रकारिता वा साहित्यको मात्र होइन ज्ञान-विज्ञान र जीवन-व्यवहारका सबै विषय-क्षेत्रको आधारभूत सञ्चार माध्यम भनेको भाषा नै हो । भाषाका विभिन्न रूप हुन सक्छन्, तर भाषा विना कुनै पनि कुरा (सूचना, तथ्य, तथ्यांक, सन्देश, ज्ञान, भावना, विचार आदि) को सञ्चार सम्भव छैन । सञ्चारको पहिलो शर्त चाहिँ भाषिक त्रुटिहीनता नै हो । भाषिक त्रुटि मूलतः पाँच ठाउँमा अड्डा जमाएर बसेका हुन्छन् : हिज्जेमा, शब्दमा, वाक्यमा, अर्थमा र आशयमा । उदाहरणका लागि –

क. हिज्जे । 

इ-ई, उ-ऊ, श-स, ब-व आदिमा त्रुटि । (यसले अर्थमा पनि परक पार्छ र समग्रमा भाषाको स्वरूप नै बिगारिदिन्छ ।) जस्तै :

  • जाति र जाती, खालि र खाली, पुरा र पूरा, उनी र ऊनी, फुल र फूल, दिशा र दिसा, शव र सब आदिको फरक थाहा नहुनु । एउटा लेख्नुपर्नेमा अर्को लेख्नु । 
  • गरीब, वकील, भीड, स्टील, अपील जस्ता शब्दमा दीर्घको सट्टा ह्रस्व इकार लेख्नु । 
  • घूस, भूल, कानून, कार्टून, नमूना जस्ता शब्दमा दीर्घको सट्टा ह्रस्व उकार लेख्नु ।
  • जोश, होश, खुशी, शहर, शहीद, फेशन जस्ता शब्दमा श को सट्टा स लेख्नु । 
  • यसैगरी धैर्य, बाहुल्य, नैराश्य, गाम्भीर्य, वैमनस्य, लचक, इमान्दारी, वफादारी जस्ता ‘ता’ जोड्नु नपर्ने शब्दमा बिनबित्यामा ‘ता’ झुन्ड्याइदिनु । 

हिज्जेको गल्तीबाट जोगिन हिज्जे नबिगारिएको, सही हिज्जे भएको शब्दकोश खोजेर त्यसको प्रयोग गर्नुपर्छ । (नेपाल प्रज्ञा-प्रतिष्ठानले प्रकाशित गरेको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ हिज्जेका लागि प्रामाणिक छैन । प्रामाणिकता नरहेकै कारण प्रतिष्ठानले यसअघिको शब्दकोश बदर गरेर छाप्न छोडेको छ भने हाल बजार/मोबाइलमा उपलब्ध यस शब्दकोशको नियति पनि उस्तै हुने देखिन्छ ।)

ख. शब्द ।

अर्थ नबुझी शब्दको प्रयोग गर्नु । एउटा अर्थ लाग्ने शब्द अर्कै अर्थका लागि प्रयोग गर्नु । जस्तै : 

  • ज्योतिषी भन्नुपर्नेमा ज्योतिष । अमनचैन लेख्नुपर्नेमा अमनचयन । आगलागी भन्नुपर्नेमा आगजनी । अधीर लेख्नुपर्नेमा अधैर्य । बलिदान भन्नुपर्नेमा बलिदानी ।

ग. वाक्य ।

व्याकरणको संगति नमिल्नु । अनावश्यक शब्द थुपार्नु । जस्तै :

  • सभापतिद्वारा झण्डोत्तोलन गर्नुभयो । (हुनुपर्ने- गरियो ।) 
  • क्लबले योग प्रशिक्षण दिन थालिएको छ । (हुनुपर्ने- थालेको छ ।) 
  • प्रत्येक विद्यार्थीले यो कुरा बुझेका छन् । (हुनुपर्ने- बुझेको छ ।)
  • सडक निर्माण कार्य हुँदैछ । (हुनुपर्ने- निर्माण हुँदैछ ।)
  • उनले पनि गोष्ठीमा सहभागिता जनाए । (हुनुपर्ने- भाग लिए ।)
  • हाल विद्यालय जान नसकिने अवस्था विद्यमान छ । (हुनुपर्ने- जान सकिंदैन ।)

घ. अर्थ । 

व्याकरणका दृष्टिले वाक्य सही भए पनि अर्थ बिग्रनु । जस्तै : 

उहाँको वीर अस्पतालमा उपचार भयो ।
(वीर अस्पताल उहाँको होइन । त्यसैले- वीर अस्पतालमा उहाँको उपचार…)

१४ सीटका लागि भएको मतदानमा ३८० उम्मेदवार खडा भएका थिए ।
(उम्मेदवार मतदानमा होइन, निर्वाचनमा खडा हुन्छन् । त्यसैले- १४ सीटका लागि भएको निर्वाचनमा…)

‘स्वस्थ मुटु र हृदयाघातबाट बच्न धूमपान र मद्यपान आजैदेखि परित्याग गरौं ।’ 
(‘हृदयाघातबाट बच्न’ त ठीक हो, तर ‘स्वस्थ मुटु’ बाट पनि बच्न खोजेको हो र ? त्यसैले- मुटु स्वस्थ राख्न र हृदयाघातबाट बच्न…।

ङ. आशय । 

अर्थ पनि ठीकठीकै जस्तो लाग्ने, तर आशय उल्टो वा अनर्थकारी हुन पुग्नु । जस्तै : 

म राजनीतिकर्मी भए पनि आज सत्य बोल्नै पर्छ ।
अर्थात्- राजनीतिकर्मीले सधैं झूटो बोल्छन्, मैले पनि यसअघि झूटो बोल्दै आएको हुँ, आज चाहिं सत्य बोल्न बाध्य भएको छु ।

आज आर्यघाटमा उहाँको अन्तिम दाहसंस्कार गरियो । 
अर्थात्- यस अघि पनि धेरै पटक उहाँको दाहसंस्कार गरिसकिएको थियो । आजको चाहिँ ‘अन्तिम’ दाहसंस्कार हो । 

‘भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता ।’ 
अर्थात्- भ्रष्टाचार विरुद्ध जे जस्ता गतिविधि हुन्छन् वा गरिन्छन्, तिनलाई पटक्कै सहन गरिनेछैन भन्ने घोषणा । अर्को शब्दमा भन्दा, भ्रष्टाचार प्रवर्द्धन गर्ने जोडदार प्रतिबद्धता । भन्नुपर्छ- भ्रष्टाचारप्रति शून्य सहनशीलता ।

प्रश्न उठ्छ, भाषिक गल्ती सुधार्न र भाषा राम्रो बनाउन के गर्ने ? मेरो सुझाव छ- भाषाको ख्याल गर्ने । लेख्न लाग्दा पनि र लेखिसकेपछि पनि । आफूलाई शंका लागेका अथवा अर्थ स्पष्ट नभएका शब्द लापरवाहीसाथ प्रयोग नगर्ने । लेखिएको वाक्यले गलत अर्थ त दिइरहेको छैन भनेर ध्यान दिने । यति सावधानी अपनाउन थालेपछि शुरूमा ससाना, प्रारम्भिक गल्ती देखिन थाल्छन्, जसलाई तपाईं आफैं सच्याउन सक्नुहुन्छ । ससाना गल्ती देख्न र सच्याउन थालेपछि क्रमशः ठूलठूला गल्ती पनि देखा पर्न थाल्छन् । तीमध्ये धेरै स्वयं सच्याउन सकिने हुन्छन् । सच्याउने ।

कुराको चुरो के भने, भाषाको ख्याल गर्न थालेपछि आफ्ना गल्ती देखिन थाल्छन् र गल्ती देख्न थाल्नु नै भाषा सुधारको प्रारम्भ हो । गल्ती देखेपछि के गर्दा त्यो हट्छ भन्ने खुल्दुली भैहाल्छ र त्यसलाई नसच्याए, नमिलाएसम्म तपाईंलाई चैन नै हुँदैन । बिग्रेको कुरो सच्याउँदा त्यो मिल्यो कि मिलेन, तपाईं आफैंले थाहा पाइहाल्नु हुन्छ । किनभने, तपाईं स्वयं नेपाली भाषाको जानकार हो, भाषाको ख्याल नगरेर मात्र कुरो बिग्रेको हो ।

कथंकदाचित् आफूले सच्याउन सकिएन वा सच्याएको, सुधारेको आफैंलाई चित्त बुझेन भने तीनवटा काम गर्न सकिन्छ । क. साथीहरूसँग छलफल गर्ने, ख. जानिफकारहरूलाई सोध्ने । आफैं जानिफकार हुन चाहिं, ग. भाषा राम्रो बनाउन सघाउने रोचक पुस्तकहरू खोजेर पढ्ने । (यस आलेखमा भाषामा हुन सक्ने त्रुटिहरूबारे सामान्य संकेत मात्र गरिएको छ । भाषिक त्रुटिहरू र भाषा परिष्कारबारे विस्तृत रूपमा प्रकाश पारिएका दुई पुस्तक तपाईंलाई विशेष उपयोगी हुन सक्छन् । एउटा हो- ‘हाम्रो भाषा’, जो शब्दको प्रयोग, भाषाको शुद्धता, स्पष्टता र छरितोपनमा केन्द्रित छ । दोस्रो हो- ‘नेपाली कसरी लेख्ने ?’, जो हिज्जे र लेखनशैलीमा केन्द्रित छ । यसमा तपाईं-हामीले बारम्बार प्रयोग गर्ने तर प्रायः गलत हिज्जे लेख्ने झन्डै तीन हजार शब्द र तिनको सही रूपको सूची पनि रहेको छ ।)

भाषा राम्रो बनाउने अभ्यास शुरू गर्न मात्र बेर हो, एकपल्ट शुरू गरेपछि दिन-प्रतिदिन रोचक र रोमाञ्चक हुँदै जानेछ । यसले तपाईंलाई भाषाको शक्ति र सौन्दर्यको दर्शन मात्र गराउनेछैन, भाषाको प्रेममा पार्नेछ । ज्ञानले तपाईंको आत्मविश्वास बढाउनेछ, आत्मपरिष्कारले तपाईंलाई माथि उचाल्नेछ । भाषा राम्रो बनाउनु भनेको सञ्चार प्रभावशाली हुनु मात्र होइन≤ आफ्नो स्वत्व, संस्कृति र पहिचानको संरक्षण पनि हो । वस्तुतः तपाईंको आफ्नै अस्तित्वको प्रवर्द्धन हो ।

(लेखक वरिष्ठ पत्रकार एवम् भाषाविद् हुनुहुन्छ ।)