• २०८१ बैशाख २९ गते शनिवार

काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाईने आयोजकले जानकारी गराएको छ ।

रामेछापबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेशा/व्यवसायमा संलग्न तथा संघ संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी चैत १० र ११ गते प्रतियोगिता गर्न लागेको संस्थामा अध्यक्ष दीपेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार कपअन स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुने प्रतियोगितामा व्यक्तिगत एवं संस्थागत रुपमा रामेछाप जिल्लाबासीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा ८ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताका लागि टीम दर्ता हुनेक्रम सुरु भइसकेको रामेछाप काठमाडौं पत्रकार समाजका महासचिव प्रज्वल पौडेलले जानकारी दिए । ‘हामीले टीम दर्ता सुरु गरिसकेका छौं । यो प्रतियोगिता मात्र नभई रामेछापबासीबीच आपसी सद्धाव बढाउने र खेलप्रति प्रोत्साहन गराउने उद्देश्यले आयोजना गरेका हौं । यसपटक पनि रामेछापका युवा खेलाडीको उत्साहजनक सहभागिता हुने आशा गरेका छौं ।’ उनले भने,‘चैत ९ गतेभित्र टीम दर्ता गराइसक्नुपर्नेछ ।’ टिम दर्ता गराउँदा खेलाडीको नागरिकता र नागरिकताको फोटोकपि अनिवार्य आयोजकलाई उपलब्ध गराउनुपर्ने महासचिव पौडेलले जानकारी दिए ।

प्रतियोगितामा विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमश: ५० हजार, ३० हजार र २० हजार नगदसहित शिल्ड पुरस्कार रहेको टिम दर्ता संयोजक एवम् रामेछाप-पत्रकार समाजका सदस्य घनश्याम श्रेष्ठले जानकारी दिए । उनले भने,‘रामेछाप जिल्लाबाट काठमाडौं उत्पयकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो । यसपटक पुरस्कार राशी पनि दोब्बर बनाएका छौं ।’

पहिलो रामेछाप कप फुटसल प्रतियोगितामा लिखु भुजी युवा क्लब रामेछापलाई ट्राइब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै अनेरास्ववियुले उपाधि उचालेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा महाकाली युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै डाइनामिक युथ तेस्रो भएको थियो । गत संस्करणमा विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमश : २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार राखिएको थियो । अघिल्लो संस्करणमा जिल्लाका २७ टोली सहभागी भएका थिए ।

रामेछाप–काठमाडौं पत्रकार समाज रामेछापबाट काठमाडौं उपत्यकामा आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरुको साझा संस्था हो । संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *