• २०८१ बैशाख २९ गते शनिवार

खोटाङ । वर्षौंदेखि पानीको समस्या झेलिरहेका खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका जनताहरुले दुधकोसी नदीको पानी लिफ्टिङ प्रविधिबाट खानेपानी पाउने भएका छन् ।

यस योजनाबाट हलेसी तुवाचुङ नगरपालिकाअन्तर्गतका वडा नं. १ (बाहुनीडाँडा), ३ (च्यास्मिटार) र ४ (बडहरे) का वासिन्दाले प्रत्यक्ष रुपमा खानेपानीको सुविधा पाउने भएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको करिब ९६ करोड ४५ लाख लागतमा दूधकोसीबाट पम्पिङ प्रविधिको खानेपानी आयोजनाअन्तर्गत बाहुनीडाँडाको झाप्पा, बडहरेको बुङ्देल र च्यास्मिटारको हण्डखामा निर्माण गरिएको ट्यांकीमा पानी आइपुगेको हो ।

यसमध्ये बाहुनीडाँडाको कदुवा लिलिमाबेंसीबाट भुम्जुडाँडासम्मको मेनलाइन र शाखा लाइनको काम सकिएको छ । तर शाखा लाइनबाट उपभोक्ताको घरसम्मको पाइपलाइन विस्तारका केही काम भने बाँकी रहेको आयोजनाका इन्जिनियर राम दाहालले बताएका छन् ।

मुख्य लाइनबाहेक पानी वितरण प्रणाली निर्माणको काम भने अर्कै निर्माण कम्पनीले ठेक्का लिएको थियो । लिलिमाबेसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नम्बर १, २, ३ का २ हजार ४ सय ९ घरधुरीलाई वितरणको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । ३७ करोड ९३ लाख रुपैयाँको लागतमा ०७७ साउन १ मा पुरा हुने गरी ०७५ साउन १ गते सम्झौता गरेको थियो ।

त्यसैगरी महादेवबेंसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका ५, ६ र ७ नम्बर वडाका २ हजार ४ सय ८८ घरधुरीलाई वितरण गर्ने ठेक्का रमण सगरमाथा घिमिरे जेभीले लिएको थियो । करिब २६ करोड ७५ लाख ५१ हजार ९ रुपैयाँको लागतमा २०७७ साउन १ मा सक्ने गरी ०७५ साउन १ मा सम्झौता गरेको थियो । यी दुवै लाइनको ठेकेदारको काम करिब करिब सकिएको भए तापनि उपभोक्ताले गर्ने केही काम भने बाँकी रहेको उक्त काम उपभोक्ताबाट भइरहेको नगर प्रमुख विमला राईले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *