• २०८१ बैशाख ३१ गते सोमवार

आर्टिकल्स पेपर, काठमाडौँ : अनुसन्धानकर्ता लोकबादुर बायुङ राईद्वारा लिखित किरात बायुङ राई भाषाको मुन्दुम दर्शन ‘सुम्नि तुम्लो यालो’ कृति सार्वजनिक भएको छ ।

शनिबार काठमाडौँको कोटेश्वर स्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बिच पुस्तक सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराती, विशेष अतिथि माननीय रामहरि खतिवडा, सुम्निखिमका अध्यक्ष ज्ञानबहादुर बायुङ राई, वक्ता तथा समालोचक राजन मुकारुङ, समालोचक डिबी आङ्दाम्बे, मुन्धुम अध्येता भोगिराज चाम्लिङलगायतले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

अनुसन्धानकर्ता राईले उक्त मुन्दुम कृतिको सङ्कलन, लेखन र अनुवाद गरेका हुन् । किरात बायुङ राई समुदायमा बोलीचालीको भाषा र मुन्दुमी (पित्री)भाषा रहेका छन् भने बायुङ राई मुन्दुमी भाषालाई जस्ताको तस्तै उतारिएको छ ।

बायुङ भाषालाई नेपालीमा अनुवादसमेत गरिएको कृति भित्र मुन्दुम सामग्रीलाई चार खण्डमा अध्ययन गरी तयार पारिएको छ । पहिलो ‘सुम्नि नालुङ’ (सृष्टि अध्याय), दोस्रो ‘खारु नालुङ’ (कृषि अध्याय), तेस्रो ‘कोक्तिसाला नालुङ’ (कोक्तिसाला अध्याय) र चौथो खण्डमा ‘किकी नालुङ’ (रुङ अध्याय) रहेका छन् ।

पुस्तकमा मुन्दुमसँग सम्बन्धित किरात आदिमभूमिमा रहेका धार्मिक तथा ऐतिहासिक स्थान, वनस्पति, चराचुङ्गी, जीवजन्तु, सांस्कृतिक पहिरन, बाजागाजा समेटिएका छन् ।

पुस्तकका बारेमा वक्ता तथा समालोचकद्वय राजन मुकारुङ, डिबी आङ्दाम्बे र अध्यता भोगिराज चाम्लिङ लगायतले पुस्तकको बारेमा चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *