• २०८१ जेष्ठ ७ गते सोमवार

काठमाडौं: राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएसँगै शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

२०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । २०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।

शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार देशका ७७ जिल्लामध्ये काठमाडौंको जनसंख्या सर्वाधिक २० लाख ४१ हजार ५८७ पुगेको छ । त्यसपछि धेरै जनसंख्या हुने जिल्लामा क्रमशः मोरङ, रुपन्देही, झापा अनि सुनसरी छन् ।

सबैभन्दा कम मनाङ जिल्लाको जनसङ्ख्या ५,६५८ रहेको छ । कम जनसंख्या हुने जिल्लाको सूचीमा दोस्रो स्थानमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला छन् । ‘काठमाडौंकफो वार्षिक जनसङ्ख्या वृद्धि दर सर्वाधिक (१.५१ प्रतिशत) छ भने मनाङको सबैभन्दा कम (-१.३९ प्रतिशत) छ’ प्रतिवेदनमा उल्लेख छ ।

जनगणनाका अनुसार सबैभन्दा बढी जनसंख्या (२०.९७ प्रतिशत) बागमती प्रदेशको छ भने सबैभन्दा कम कर्णाली (५.७९ प्रतिशत) प्रदेशमा रहेको छ । २०.९७ प्रतिशत नै जनसंख्या रहेको मधेस प्रदेश दोस्रो स्थानमा छ । त्यसपछि उच्च जनसङ्ख्या हुने स्थानमा क्रमशः कोसी, लुम्बिनी, सुदूरपश्चिम अनि गण्डकी छन् ।

त्यस्तै नगरपालिकाहरूमा कुल जनसंख्याको ६६.१७ प्रतिशत मानिसहरू बसोबास गर्छन् भने गाउँपालिकामा बसोबास गर्नेहरूको संख्या ३३.८३ प्रतिशत छ । क्षेत्रगत रूपमा सबैभन्दा बढी मानिस तराइमा बस्छन् । तथ्यांकले पछिल्लो दशकमा तराइमा बसोबास गर्नेको संख्या झन् बढेको देखाएको छ ।

उक्त क्षेत्रमा १ करोड ५६ लाख ३४ हजार ६ मानिसको बसोबास छ जुन कुल जनसंख्याको ५३.६१ प्रतिशत हो । एक दशक अघि उक्त संख्या ५०.२७ प्रतिशत थियो। पहाडी जिल्लामा बसोबास गर्नेको संख्या भने पछिल्लो एक दशकमा ४३.०१ प्रतिशतबाट घटेर ४०.३१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४) पुगेको छ ।

हिमाली क्षेत्रको जनसंख्या पनि घटेको छ । कुल जनसंख्याको ६.०१ प्रतिशत मानिस बसोबास गर्ने गरेको उक्त क्षेत्रमा हाल १७ लाख ७२ हजार ९४८ मानिसहरूको बसाइ छ जुन ६.०८ प्रतिशत हो ।

प्रतिवेदनका अनुसार काठमाडौं, ललितपुर र भक्तपूरको कुल जनसङ्ख्या ३० लाख २५ हजार ३८६ रहेको छ । सन् २०११ मा गरिएको जनगणनामा त्यस्तो सङ्ख्या क्रमशः २०.८७ र ५.९३ प्रतिशत थियो । काठमाडौं जिल्लामा महिला र पुरुषको अनुपात लगभग उस्तै रहेको देखिन्छ । काठमाडौंमा १० लाख ३५ हजार ७२६ पुरुष छन् भने महिला सङ्ख्या १० लाख ५ हजार ८६१ छ ।

कुल जनसंख्यामध्ये ७ लाख भन्दा बढी विगतमा बसोबास गर्दै आएको स्थानमै बसोबास गरिरहेको, ३ लाख ३२ हजार भन्दा बढी काठमाडौंमै अन्य स्थानीय तहमा बसाइ सराइ गरेको र ९४६,२५० जना भने अन्य जिल्लाबाट आएको तथ्याङ्कले देखाएको छ । विदेशबाट फर्किएर काठमाडौंमा बसिरहेकाहरूको संख्या झन्डै ५० हजार छ ।

पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा ललितपुर जिल्लाको जनसंख्या ५५१,६६७ छ भने भक्तपुरको जनसङ्ख्या ४३२,१३२ पुगेको छ । दुवै जिल्लामा महिला र पुरुषको अनुपात लगभग समान देखिन्छ । सबैभन्दा कम जनसंख्या रहेको मनाङ महिलाहरूको संख्या २,४६६ रहेकामा पुरुषहरूको संख्या ३,१९२ छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको थियो । २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो । राष्ट्रिय जनगणना २०७८ को नतिजा मोबाइल एपबाट पनि हेर्न सकिने छ । साथै मातृ मृत्यु प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

साभार : अखबार नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *