उमेरले आफूभन्दा दुई वर्षले कान्छो भए पनि परिचय हुनासाथ मैले उनलाई दाजु भनेर सम्बोधन गर्न थालेँ । शुरुमा आफूभन्दा ठूलो ज्यान र सेतै फुलेका कपाल अनि शरीरको छाँटकाँट देखेर मैले दाजु भन्न पुगेछु । उनले चाहिँ मलाई शुरुदेखि नै सर भनेर सम्बोधन गर्न थाले । अहिले वास्तविक उमेर थाहा पाएपछि पनि दाजु भनेर बोलाउँदा न त उनले अप्ठ्यारो माने न त मैले नै ।वास्तवमा उनीसँग मेरो घरपटी र बहालमा बस्नेको नाताबाट सम्पर्क हुन पुगेको हो । आफू कार्यरत अफिस नेपाल बैंकको हेटौंडा शाखाबाट काठमाडौं सरुवा भएपछि छोराले एस.एल. सि. नदिउन्जेलसम्मका लागि मलाई एउटा डेराको खाँचो थियो । नेपाल बैंक लिमिटेड, सिटी अफिस हेटौंडाको प्रमुख भएर काम गर्दा बैंक भवनमै आवासको व्यवस्था भएकोले सात कक्षाबाट हेटौंडामा पढाइ शुरू गरेको मेरो छोरोलाई अफिस भवनबाट नै स्कूल आउजाउ गर्न सुविधा थियो ।
छोरो नौ कक्षामा पढ्दै गर्दा मेरो ठाउँमा अर्का व्यवस्थापक सरुवा भएर आएपछि बाध्य भएर हामीले आवास छाड्नु परेको कारण म डेराको खोजीमा थिएँ। मलाई काठमाडौं सरुवा गरिएकोले मैले काठमाडौंमा बस्नका लागि धुम्बाराहीमा एउटा अपार्टमेन्ट लिइसकेको थिएँ । हेटौंडामा आफ्नै ठूलो दाजुको घरमा कोठा खाली भए पनि डेढ दुई वर्षको लागि दाजु भाउजुलाई दुःख दिनु मन लागेन । वीरगंजको घर बेचेपछि घरायसी सर-सामान दाजुकै घरको एउटा कोठामा राखेर आफूलाई चाहने आवश्यक सामानहरु मात्र आवासमा लगेको थिएँ । उसो त शाखा प्रबन्धकलाई सबै सर सामान अफिसबाट नै उपलब्ध हुने गर्छ तर पनि हामी आफ्नै झिटी गुण्टा र अन्य सामान प्रयोग गर्ने गर्दथ्यौँ ।
आवास छाड्नु परेपछि बैंकका एक जना कर्मचारी साथी मार्फत डेरा खोज्ने क्रममा म त्यस घरमा पुगेको थिएँ । घरपटी दाजुसँग फोनमा मात्र सम्पर्क हुन सक्यो । उहाँहरुको परिवार हेटौंडा बजारबाट आठ किलो मिटर उत्तर पूर्वमा रहेको मक्रान्चुली भन्ने ठाउँमा बस्नु हुँदो रहेछ । दुई जना छोराहरु र एउटी छोरी लिएर घरपटी भाउजु चाहिँ चिसापानी स्थित त्यो घरमा बस्नु हुँदो रहेछ । छोराछोरीलाई पढाउन भनेर त्यो ठाउँमा घर बनाउनु भई कहिले भाउजु त कहिले आमा आलोपालो गरेर बस्ने गर्नु हुँदो रहेछ । त्यसै टोलमा घर बनाएर बसेका एक जना कर्मचारी साथी मार्फत हेरेको त्यो घर मलाई शुरुमै मन पर्यो । घर हेर्न जाँदा छोरो पनि सँगै थियो । मेरो छोरोसँगै स्कूलमा पढ्ने उसको साथीहरुको घर रहेछ त्यो । छोराकै साथीको घर भएपछि डेरा पाउनुको लागि थप कोसिस गर्नु परेन । पुडासैनी थर गरेका ती साथीको सिफारिसमा घरपटी दाजु भाउजुले एकै वचनमा कोठा दिन तयार भएपछि हामी ढुक्क भयौँ । कोठामा रङ्ग रोगन गर्न बाँकी भएकोले काम सम्पन्न नभएसम्म मात्र हामीले कुर्नु पर्यो ।
बैंक आवासबाट आफ्नो झिटीमिटी सारेपछि बुढी र छोरालाई त्यस डेरामा छाडेर म काठमाडौं लागेँ । छोरी होस्टेलमै थिइन् । पुस महिनामा म काठमाडौं रमाना भएँ । माघ लागेपछि छोरी पनि होस्टेल छाडेर आफ्नै अपार्टमेन्टमा आइन् । बाउ छोरी काठमाडौंमा र आमा छोरा हेटौंडामा रहन थाल्यौँ । दुईतिरको बसाइ । दुईतिरको खर्च । बीच बीचमा म र छोरी हेटौंडा आउजाउ गरिरहन्थ्यौँ । डेरामा बसेको कहिल्यै महसूस गर्नु परेन । आफ्नै घरमा सगोल परिवारसँग बस्दै आएको अनुभूति भइराख्यो । घर र डेरा भन्ने विभेद नै अनुभव गर्नु परेन ।
घरपटी दाजु बलराम मक्रान्चुलीस्थित घर नजीक एउटा सहकारीमा काम गर्नुहुन्थ्यो । घर पायकको जागीर । घर गाउँका सबैको प्रिय व्यक्ति सबैलाई तन, मन र धनले सहयोग गर्ने बानी बेहोर भएका । बत्तिसै गुणले भरिपूर्ण भने पनि हुन्छ । तर पनि उहाँको एउटै मात्र बैगुन देखेँ मैले चुरोट पिउने बानी । अरू नशा केही थिएन।तर दिनभरिमा एक बट्टा चुरोटले पनि नपुग्ने बानी चाहिँ कसैलाई मन परेको थिएन घर परिवार, छर-छिमेकी, आफन्त र म जस्ता अरु शुभ चिन्तकहरुलाई । घरका आमा, भाउजु र छोराछोरीले जति सम्झाए पनि बुझाए पनि उहाँले अम्मल त्याग्न सक्नु भएको रहेनछ ।
नानीदेखि लागेको बानी । धन्य उहाँको चुरोटको मात्र अम्मल रहेछ । उहाँको बुबाले त झन गाँजा पनि तान्नु हुन्थ्यो रे । हाम्रा ती सर्वप्रिय दाजु बलरामलाई आफ्नो अम्मल त्याग्न नसकेकोमा आत्मग्लानि पनि हुने गर्थ्यो रे, तर पनि लत छुटाउन सकेका थिएनन् । यसै बीच हामी काठमाडौं आएको पनि धेरै वर्ष बितिसकेको थियो सम्पर्क चाहिँ भइराख्थ्यो । दुबैको मन मिलेपछि भेटघाट र आउजाउ भइरहने नै भयो । मक्रान्चुली गाउँ हामीलाई पनि मन परेकोले जागीरे जीवनबाट अवकाश प्राप्त गरेपछि एउटा सानो छाप्रो गाडेर दिन बिताउनुका लागि उनै दाजुसँग उहाँकै छिमेकी बन्न एउटा घडेरी जग्गा खरीद गरियो । हेटौंडा बजारबाट आठ किलो मिटर उत्तर पूर्व दिशामा रहेको रमणीय डाँडोमा अवस्थित उक्त मक्रान्चुली गाउँ खेतीपाती र पशुपालन गर्न अति नै उपयुक्त ठाउँ रहेछ ।
गर्मीमा धेरै गर्मी नहुने र जाडोमा त्यति जाडो नहुने त्यस गाउँमा चौविसै घण्टा धारामा पानी आउने पहारिलो ठाउँ रहेछ । बाटोघाटो र यातायातको पनि सुविधा भएकोले हामीले पनि एक टुक्रा जमीन जोड्न पाएको र मिलनसार सहयोगी छिमेकी पाएकोले मक्ख थियौँ । आफैँ बसेर खेतबारी गर्न नपाए पनि बेला बेलामा मक्रान्चुली गएको बखत आफ्नै खेतबारीमा फलेका अन्न, फलफूल हामीले चाख्न पाउने गर्थ्यौँ । हाम्रो बसाइ उनै दाजुकोमा हुने गर्थ्यो । हाम्रो जग्गा उहाँकै जिम्मामा थियो । यसै बीच हामी अर्थात् म र मेरी बुढीलाई अष्ट्रेलिया जानु पर्यो ।
छोराको माष्टर डिग्रीको दीक्षान्त समारोहमा सहभागी हुन हामी दम्पती २०७६ फागुनको अन्तिम हप्तामा अष्ट्रेलियातर्फ उड्यौँ दुई महिनाको लागि तीन महिने भिसा लगाएर । कोरोनाले गर्दा हामी निर्धारित समयमा फर्कन पाएनौँ ।लकडाउन नेपालमा मात्र नभइ अष्ट्रेलियामा समेत लागेको थियो । सरकारी प्रकृया पूरा गरेर नै हामी भिसा थप्दै अष्ट्रेलियामा बस्न बाध्य भयौँ । विषम परिस्थितिमा छोराछोरीसँग बस्नु जुरेको रहेछ हामी रमाएर नै बस्यौँ । झण्डै अढाई वर्षपछि हामी फर्कनु सक्यौ आफ्नो प्यारो देशमा । काठमाडौं उत्रिएको केही दिनपछि नै हामी हेटौंडा जाँदा बलराम दाजुको सपरिवारहेटौंडाको चिसापानीमा थियो । मक्रान्चुली उहाँहरुले छाडिसक्नु भएको रहेछ ।
गाईवस्तु सबै बिक्री गरी खेतबारी अरुलाई भाडामा दिएर आउनु भएछ । दुई परिवार जनको रमाइलो भेटघाट भयो । दुई चार दिन आसन जमाएर नै बस्यौँ हामी पनि । एउटा अचम्मको कुरा बलराम दाजुले चुरोट पिउन चटक्कै छाड्नु भएछ । मलाई ज्यादै खुशी लाग्यो । कसरी सजिलैसँग छाड्नु भएछ भनेर मलाई खुल्दुली लागेर एक साँझ सबै जना बार्दलीमा बसेर गफ गरिहेको बेला मैले दाजुलाई सोधेँ । उहाँ केही नबोली मुसुमुसु हाँसेर मात्र बसेपछि पालै पालो आमा र भाउजुलाई सोधेँ । भाउजु झन खित्का छाडेर हाँस्न थाल्नु भयो । अनि मैले आमातर्फ हेरेर सोधेँ ।
पुलिसले छुटायो बाबु भन्नु भयो, म जिल्ल परेँ । त्यति बेला दाजु, भाउजु, आमा, हामी दम्पती र दाजुको दुई छोरा एउटी बुहारी र बिहे भइसकेकी छोरी पनि सँगै बसेर बात मार्दै थियौँ । पुलिसले… मैले यति मात्र बोल्न सकेँ । पुलिसको डण्डा भेटेछन् कि क्या दाजुले । चुरोट पिएकै कारणले मात्र पुलिसले पिट्नु नपर्ने हो मनमनै सोचेँ । मेरो प्रश्न र आमाको उत्तरमा घरका सबै जना झन हाँस्न थालेपछि मेरो कुतूहल झन बढ्न थाल्यो । केही बेरसम्मको उन्मुक्त हाँसो र उत्सुकतापछि भाउजुले बेलीबिस्तार लगाएर भन्न थाल्नु भयो । सब वृत्तान्त सुनेपछि मलाई ती पुलिस जवानप्रति श्रद्धा उत्पन्न भयो । साथै उनको निःस्वार्थ अतुलनीय देनप्रति धन्यवाद दिनु मन लाग्यो र हृदयदेखि नै सधन्यवाद स्यालुट पनि ठोकेँ । भाउजुकै मुखबाट सुने अनुसार कुरा के भएको रहेछ भने मक्रान्चुलीमा रहेको प्रहरी कार्यालयको बिटमा पश्चिमतिरबाट सरुवा भएर आएका एक जना प्रहरी सहायक निरीक्षकसँग दाजुको एउटा चिया पसलमा भेट भएपछि छोटो चिनजान भएछ ।
चिया पसलमा सधैँजसो भेटघाट हुन थालेपछि सम्बन्ध बढ्दै गई दाजु भाइको जस्तै व्यवहार हुन थालेछ । दाजुले चिया पसलमा बसेर चिया चुरोट पिउँदै गरेको कुरा उनले सूक्ष्म रूपमा नियालिराखेका रहेछन् । ती प्रहरी चाहिँ चिया मात्र पिउने तर चुरोट हातै नलगाउने परेछन् । आफू चुरोट नपिउने भए पनि उनले दाजुले चुरोट पिएकोमा कुनै प्रतिक्रिया व्यक्त नगरी केवल चुरोट पिएको हेर्दा रहेछन् । रहँदा बस्दा दाजु र प्रहरीको सम्बन्ध आत्मीय र गाढा बन्दै गएछ । सानो गाउँमा रहेका उनीहरु बीच मित्रता बढ्नु स्वभाविकै थियो ।
दाजुको घरमा आउजाउ गर्दा ती प्रहरीको घरका अरु सदस्यसँग पनि सुमधुर सम्बन्ध कायम हुन थालेछ । दाजुको घरमा खसी बोका गाईवस्तु, बाख्रा पनि पालन गर्ने गरिएको र खेतबारीमा विभिन्न फलफूल पनि फल्ने हुँदा घरमा प्रहरी घरमा आएका बखत घरेलु उत्पादन र घरायसी पकवानले आतिथ्य सत्कार गर्नु कुनै नौलो कुरा भएन । घरमा आउँदा ती प्रहरीले एक दिन भनेका रहेछन् । दाजु मलाई एउटा कुरा चाहिएको छ दिनु सक्नु हुन्छ भनेर । त्यो के कुरा भनेर सोध्दा उनले भनेका रहेछन् दिने भए मात्र माग्छु सरुवा भएर जाने बेलामा । सायद तपाईंले दिनु हुन्न होला आफूलाई मन पर्ने चिज भनेर । त्यो चिज दिन तपाईंलाई गाह्रो हुन्छ होला पनि भनेछन् । केही गाह्रो हुन्न जानु अघि भन्नु होस् जे चाहिन्छ अवश्य दिउँला भनेर दाजु भाउजु दुबैले वचन दिनु भएछ ।
यो घटनाको छ महिनापछि एक दिन बिहान अचानक ती प्रहरी दाजुको घरमा आएछन् र आफू सरुवा भएर आजै काठमाडौं रमाना हुन लागेको खबर बताउँदै जानु अघि दिन्छु भनेको वस्तु माग्नु आएको भनेछन् । त्यति चाँडो सरुवा भएर जानु लागेका हितैषी ती प्रहरी आफ्नो गाउँमा आएपछि जनतामाझ भिजेर शान्ति सुरक्षामा खटिएर सबैलाई रिझाउनु सकेका र सबैका प्रिय पात्र भएका व्यक्तिलाई हठात् गाउँबाट बिदाइ गर्नु परेकोमा दाजु भाउजु दुबैलाई नराम्रो लागेछ । के कुरा माग्न आएका हुन् बरु घरमा पो छ कि छैन भनेर दाजुलाई पीर परेछ । खानपिन गरुँ भन्दा प्रहरीले मानेनन् रे । अफिसबाट आजै रमाना लिएर बिदाइ हुनु पर्ने भएकोले बरु प्रहरी बिटमा नै दाजु भाउजुलाई बिदाइ समारोहमा उपस्थित हुन निम्तो दिएछन् ।
दाजुले म के उपहार दिउँ त मसँग के माग्छु भन्नु भएको थियो खुलस्त भएर माग्नु होस् भनेर दाजुले भनेपछि उनले दाजुको सर्टको गोजीमा रहेको चुरोटको बट्टा मागेछन् । तपाईँले पनि चुरोट पिउन शुरू गर्नु भएको हो र भनेर भाउजुले प्रश्न गर्दा ती प्रहरीले मुसुमुसु हाँस्दै जवाफ दिए रे म यस मक्रान्चुली गाउँमा सरुवा भएर आएदेखि नै बलराम दाइको मलाई सबै बानी बेहोरा मन परेको थियो । चुरोट पिउने एउटा खराब आदत मात्र मलाई मन परेको थिएन।घर परिवार,छर-छिमेकी, आफन्त,साथी भाइले पनि छुटाउन नसकेको बानी म एउटा जागीरे प्रहरीले छुटाउनु पाए म यहाँ आएको सार्थक हुन्थ्यो कि भन्ने लागेर मैले चुरोट मागेको हुँ । म चुरोट पिउँदिन यसलाई रछ्यानमा फालिदिन्छु ।
अब आयन्दा आजैदेखि म चुरोट पिउँदिन भनेर भाउजु र आमाको अगाडि कसम खाएर मलाई वचन दिनुहोस् । मलाई अरू केही चाहिन्न भनेर ती प्रहरी जुरुक्क उठेपछि दाजु, भाउजु र आमा स्तब्ध हुनु भएछ । आज सम्म कसैले पनि यस्तो भन्ने आँट गर्न नसकेकोमा प्रहरीको सुझबुझ र उपायदेखि दाजु, भाउजु र आमा चकित हुनु भएछ । ती नि:स्वार्थी भावका प्रहरीको व्यवहारबाट दाजु भाउजु तुरुन्त पग्लिएर भावविभोर हुनु भएछ । दाजुले तत्कालै गोजीबाट चुरोटको बट्टा झिकेर प्रहरीलाई सुम्पनु भएछ र अब उप्रान्त म चुरोट पिउने छैन भनेर वचन पनि दिनु भएछ । प्रहरी खुशी भएर बिटतर्फ लागेछन् । बिदाइ समारोहमा बलराम दाजुले ती प्रहरीको प्रशंसा गर्दै आफूले आजैदेखि चुरोटको लत त्याग गरेको घोषणा गरेछन् र त्यस्को श्रेय ती प्रहरीलाई दिंदै प्रहरी हुनु त यस्तो पो भनेर अरूलाई पनि चुरोट छाड्न आग्रह समेत गरेछन् ।
सोह्र वर्षको उमेरदेखि पिउँदै आएको बानी साठी वर्षको उमेरमा आएर बल्ल छुटेछ। त्यस दिनदेखि चुरोट छुँदै नछोएका कारण बलराम दाजुको ओठ पनि गुलाफी र अनुहारमा पनि चमक देखिएको रहेछ । चुरोट पिउन छाडेपछि घर परिवारमा खुशियाली छाउने नै भयो । चलचित्रको जस्तै कहानी सुनेर हामी दम्पती पनि भावविभोर भयौँ । अपरिचित ती प्रहरीलाई मैले मनमनै स्यालुट ठोक्दै उनको दीर्घ जीवन, वृत्ति विकास र उनको उत्तरोत्तर उन्नति र प्रगतिको लागि भगवानसँग कामना पनि गरेँ।