‘ज्ञान र सूचना समाजमा डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय-२०८३’ पुस्तक विमोचन
२०८३ असोज २९ बिहीवार ०९:४३
shares

काठमाडाैँ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा हरेक वर्ष प्रकाशित हुँदै आएको ‘ज्ञान र सूचना समाजमा डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय’ स्मारिका–२०८३ विमोचन गरिएकाे छ ।
बुधबार काठमाडौँको लाजिम्पाटस्थित डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिको सभाकक्षमा आयोजित कार्यक्रमका बीच पुस्तक विमोचन गरिएको हो ।
पुस्तकालय विकास समितिका अध्यक्ष प्रा. डा. वीणा पौड्यालज्यूको सभाध्यक्षता र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री एरिणा ताम्राकारज्यूको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विजया दशमी, शुभ दीपावली, छठलगायतका पर्वहरूकाे शुभकामना आदान–प्रदानसमेत गरिएकाे थियो।
कार्यक्रममा विभिन्न पुस्तकालयका पुस्तकालयकर्मी, पुस्तकालयप्रेमी तथा डिल्लीरमण रेग्मीज्यूका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साथै उक्त कार्यक्रममा Digitalization and Preservation of Library Resources (DPLR Project) अन्तर्गत पुस्तकालयका स्रोतसामग्रीको डिजिटलाइजेशन तथा संरक्षण कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले डिजिटलाइजेशनका लागि आवश्यक उपकरणहरू हस्तान्तरणसमेत गरिएको थियो।
पुस्तकालय विकास समितिका अध्यक्ष प्रा. डा. वीणा पौड्यालले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, पुस्तकालयकर्मी, पुस्तकालयप्रेमी तथा शुभेच्छुकहरूप्रति आभार प्रकट गर्दै विजया दशमी र शुभ दीपावलीको अवसरमा पुस्तकालय परिवारको तर्फबाट शुभकामना दिनुभयाे।






















