युवा नेता शंकर तिवारीले कांग्रेस महामन्त्रीमा दिए उम्मेदवारी
२०८३ असोज २० मंगलवार १६:२५
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा शंकर तिवारीले महामन्त्री पदमा उम्मदवारी दर्ता गराउनुभएकाे छ ।
मंगलबार राष्ट्रिय सभामा रहेको केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर तिवारीले महामन्त्री पदमा उमेदवारी दर्ता गराउनुभएकाे हाे ।
मनोनयनपछि भन्नुभएकाे छ, ‘नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री पदका लागि विधिवत रूपमा मनोनयन दर्ता गरेको छु । अब यहाँहरूको झन् ठूलो साथ र सहयोगको आशा गरेको छु ।’
आइतबार बिहान काठमाडौंमा आयोजित विशेष समारोहमा तिवारीले आफूले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस विचारको रक्षा, सिर्जनशील व्याख्या र पार्टी रूपान्तरणका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएकाे थियाे ।
राजनीतिक विश्लेषक तथा लेखकका रूपमा समेत परिचित तिवारी विद्यार्थी राजनीतिदेखि नै कांग्रेस सभापति गगन थापानिकट रहेर काम गर्दै आउनुभएकाे छ । उहाँले लेखन तथा वैचारिक मन्थनका क्षेत्रमा समेत सभापति थापासँग सहकार्य गर्दै आएको बताउनुभयाे ।
तिवारीले बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसको संगठनलाई बलियो बनाउँदै पार्टीलाई तल्लो तहदेखि दूरदराजका जनतासम्म जोड्न आवश्यक रहेको बताउनुभएकाे छ ।


















