देउवाको नेपाल आगमन : ‘उत्साह’ र ‘शंका’बिचको भावी राजनीति
साढे ५ महिनापछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फिर्ता
२०८३ साउन २८ बिहीवार १४:१५
shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फिर्ताकाे विषयले यतिबेला कांग्रेसको आन्तरिक राजनीति गर्माएको छ । उहाँ फिर्ता हुनुभएकाे विषय मात्र होइन सर्वोच्च अदालतले विशेष महाधिवेशनका सन्दर्भमा पुनरावलोकन गर्न आदेश दिएको प्रसंगले पार्टीको राजनीति थप गिजोलिएको छ ।
देउवाको स्वागतमा इतर पक्षका नेता कार्यकर्ताकाे विमानस्थलमा देखिएकाे शक्ति प्रदर्शन र विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वका नेताहरुले दिइरहेको अभिव्यक्तिले कांग्रेस मात्र नभइ मुलुककै राजनीति नयाँ मोडमा प्रवेश गर्ने अनुमान सुरु भएको छ ।
देउवाको स्वदेश फिर्तालाई कांग्रेस भित्रकै नेताहरुले विभिन्न कोणबाट शंका व्यक्त गरिरहेका छन् । कतिपयले सरकार र देउवा समूहबिच नयाँ समझदारी बनेको अनुमान गरेका छन् भने कतिपयले गगन थापा समूहलाई कमजोर बनाउने रणनीतिका रुपमा व्यख्या गरेका छन् । रेड कर्नर नोटिस जारी गरेर नेपाल झिकाउने मनस्थितिमा रहेको नेपाल सरकार एकाएक कसरी परिवर्तन भयो भन्ने विषय सबैभन्दा रोचक र चासोपूर्ण मानिएको छ ।
करिब ६ महिनापछि नेपाल आउने कार्यतालिका बनाएका देउवाले विदेशमै बसेर पनि कांग्रेसको आन्तरिक राजनीतिमा राम्रो प्रभाव राख्दै आउनुभएकाे थियाे । त्यसैले उहाँको भूमिकाले आन्तरिक शक्ति सन्तुलन र नेतृत्वसम्बन्धी विवाद थप गिजोलिने संकेत देखिएको छ । त्यसबाहेक अदालतले पुनरावलोकन गर्ने विषयलाई ‘शंका’ र ‘सेटिङ’का रुपमा अनुमान गर्न थालिएको छ ।
जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा सांघातिक आक्रमणमा परी घाइते भएका देउवा १३ फागुन राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर जानुभएकाे थियाे । त्यहाँबाट थप उपचारका लागि भन्दै हङकङ पुग्नुभएकाे थियाे । हङकङमा रहँदा पनि देउवाले आफ्ना कार्यकर्ता र महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट गर्ने गरेको उहाँ निकट नेताहरुले बताउने गरेका छन् । बेलामौका उहाँले आधिकारिक स्टेटमेन्ट नै पार्टीको लेटरप्याडमा सार्वजनिक गर्दै अाउनुभएकाे थियाे ।
इतर पक्षको नेताहरुका अनुसार देउवाको नेपाल आगमन साँच्चै उत्साहपूर्ण हुँदैछ । जेनजी आन्दोलनले उपचारको वहानामा विरक्तिएर विदेश उडेका उनको हङकङ बसाइलाई ‘निर्वासन’का रुपमा ब्याख्या नगरिनु अनि देशको राजनीति अवस्था तरल भइरहेको अवस्थामा उत्सापूर्वक नेपाल फर्किनुलाई सर्वोच्च अदालतले देखाएको सकारात्मक सन्देशलाई पनि आधार मानिएको छ ।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने पनि तय भइसकेकाले उक्त भेलामा व्यक्त हुने अभिव्यक्तिले धेरै कुरा प्रष्ट हुने अनुमान गरिएको छ । त्यतिमात्र होइन भेलामा देउवालाई प्रमुख अतिथि बनाउने र १४औं महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतमा सम्बोधन गराउने तयारी पनि गरिरहेकाले कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्ने निश्चित छ ।
यता, संस्थापन पक्षका नेताहरुको अभिव्यक्ति ‘अतालिएको मनस्थिति’ सार्वजनिक भइरहनु साथै देउवाले सत्यतथ्य बुझेर पार्टीको हितमै कदम चाल्नुहुनेछ भन्ने विश्वास लिएको प्रतिक्रियालाई पनि सामान्य रुपमा मानिएको छैन् । केही न केही राजनीतिक उथलपुथल हुने अनुमान लगाइएको छ । कतिपयले पार्टीको आन्तरिक विवादमा सर्वोच्चले अनावश्यक न्यायिक सक्रियता बढाएको भन्दै आपत्ति पनि जनाइरहेका छन् ।
तर अदालतको आदेशले पार्टीलाई मिलनविन्दुमा ल्याउने अनुमान गर्नेहरु पनि धेरै छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई मान्यता दिएको विषयमा देउवा पक्षले अदालतको बाटो रोज्नुलाई सोहीबेला निकै अर्थपूर्ण रुपमा हेरिएको थियो । अदालतको आदेशले पार्टी मिल्नका लागि समेत प्रेरणा दिएको भनेर अर्थाइएको पनि छ ।
साउन ६ मा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुनरावलोकनका लागि निवेदन दिनुभएकाे थियाे । साउन २० मा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएपछि देउवा पक्ष उत्साहित देखिन्छ ।
विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई देउवा पक्षका नेताहरुले सुरुदेखि नै अवैधानिक भन्दै आएको र अदालतले पुनरावलोकनको अनुमति दिएपछि विवादको न्यायिक परीक्षण पुनः सुरु भएको नेताहरुको भनाइ छ । तर कांग्रेस संस्थापन पक्ष भने विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकता अदालतमा बचाउने तयारीमा जुटेको छ । सार्वजनिक कार्यक्रमहरुमा सभापति गगन थापाले सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियालाई विश्वासका साथ सामना गर्ने बताउँदै आइरहेका छन् ।
तथापी, देउवाको आगमनलाई उत्साह र शंका दुवै कोणबाट हेरिएपनि बालेन्द्र शाह सरकारको शासकीय गतिविधि पनि एउटा प्रमुख आधार मानिएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्र बढ्दो अन्तरद्वन्द्व, प्रधानमन्त्री गैरजिम्मेवारपूर्ण गतिविधि र जनउत्तरदायी नबनिरहेको प्रसंग साथै संघीय संसदप्रति गरिरहेको अपमानले नेपालको राजनीतिले नयाँ दिशा समात्ने अनुमान गर्न थालिएको छ ।




















