युवा सांसद–मन्त्रीलाई रास्वपा सभापति लामिछानेकाेआग्रह : पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
२०८३ साउन २७ बुधवार १९:२७
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताउनुभएकाे छ ।
बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताउनुभयाे । माइतीघरमा अझै पनि भीडभाड देखिनु चिन्ताको विषय भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयाे,‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ । तर आवाजहरू उस्तै देखिएका छन् । म माइतीघरमा अझै पनि भीडभाड देखिरहेको छु । आशा मरेर हो कि बानी परेर हो, मैले छुट्याउन सकेको छैन । बानी परेको पो हो कि भनेर चिन्ता लागेको छ ।’
नागरिकलाई निराश बनाउने बानी परेको अवस्थामा कसैले पनि तृप्त पार्न नसक्ने भन्दै उनले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताउनुभयाे ।
लामिछानेले युवा सांसद तथा मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा मात्र नलिई गम्भीर भएर काम गर्न आग्रह गर्नुभयाे । अहिलेको पुस्ताले जिम्मेवारी पूरा गर्न नसके आगामी पुस्ताका युवाले पनि यस्तै अवसर नपाउन सक्ने उहाँको चेतावनी छ ।
उहाँले भन्नुभयाे,चार महिनामा केही भएन भन्ने उस्तै आवाज आइरहँदा त कसरी सकिएला र ? आजको भोलि नै परिणाम खोज्ने बानी पार्यौँ भने हामीसँग विकल्प खोज्नेबाहेक विकल्प हुँदैन । विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु विकल्प हो ।म युवा सांसद र मन्त्री साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ, पदमा रमाउने बेला होइन यो । जिम्मेवार भएर सोच्ने बेला हो । यसपटक गलत भयो, बिग्रियो भने फेरि भोलिका पुस्ताका युवाहरूले हाम्रो जस्तो अवसर प्राप्त गर्ने छैनन् ।’
उहाँले विगतमा राजनीतिमा युवा नेतृत्वको अभाव रहेको भन्दै उमेरका आधारमा अनुभवी पुस्तामाथि प्रश्न उठाउने गरेको समेत स्वीकार गर्नुभयाे । उमेरकै कारण अनुभवी पुस्तालाई पर्याप्त सम्मान दिन नसकेको हुनसक्ने उहाँको भनाइ छ ।
‘‘हामीले सधैँ राजनीतिलाई कचकच गरिरह्यौँ । मैले पनि गरेँ । एउटा ठाउँबाट युवा नेतृत्व नै भएन, युवाहरूले चलाउनुपर्ने देश खै त युवा भनेर उमेरले पाका भएका मानिसहरूलाई सम्भवतः अपमानित पनि गर्यौँ, अपहेलित पनि गर्यौँ । उमेरकै कारणले अनुभवी पुस्तालाई हामीले सम्मान दिन सकेनौँ कि भन्ने कुरा म आज यहाँ उभिँदा महसुस गर्छु’ उहाँले भन्नुभयाे ।
विगतमा पाका पुस्ताले मात्रै देश चलाएको भन्दै आलोचना गर्न सहज रहेको भए पनि अहिले राजनीतिक परिस्थिति परिवर्तन भएको उहाँले बताउनुभयाे । प्रतिनिधिसभामा ठूलो संख्यामा युवा सांसद हुनु ऐतिहासिक राजनीतिक घटनाक्रम भएको उहाँको भनाइ छ ।
युवा नेतृत्व आउनुमात्र वर्षौंदेखि देखिएको सपना पूरा नहुने भन्दै लामिछानेले चुनावी परिणाम र प्रतिनिधिसभामा युवाको संख्यालाई उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे ‘हामीलाई हिजो अलि सजिलो थियो । दोष लगाइदिए पुग्थ्यो । सबै उमेर पुगेका पाकाहरूले देश चलाए भन्ने कुरा आएको थियो । आज हामीसँग युवा नेतृत्व छ । प्रतिनिधिसभामा यति धेरै युवा हुनु ऐतिहासिक राजनीतिक घटनाक्रम हो । हाम्रो देशको प्रधानमन्त्री अहिले संसारकै युवा प्रधानमन्त्रीको रूपमा देश हाँकिरहनुभएको छ । युवा नेतृत्व आउनुमात्र सपना साकार हुनु होइन । हामीसँग यसलाई परिणाममा बदल्नुपर्ने चुनौती छ । चुनावको नतिजा र प्रतिनिधिसभाको संख्याले मात्रै वर्षौंदेखि हामीले देखेको सपना पूरा हुँदैन ।’




















