आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

लघुकथा : चिया बहाना

1.68K
shares
आर्टिकल्स पेपर, काठमाडौँ । “मिठो चिया पिउनुपर्छ भने यहाँको ‘चिया चुस्की’ नै ठिक हुन्छ,” साथीले मेरो पाखुरा तान्यो ।
ढोका खुल्नासाथ धुँवाको बाक्लो तहले हामीलाई निल्यो । चियाको बास्नाभन्दा चुरोटको गन्ध पहिले नाकमा ठोक्कियो । टेबलभरि तन्नेरीहरू ओठबाट धुँवाका पातला धागा बुन्दै थिए । कुनाको सोफामा बसेका दुई जोडीले हुक्काको नली आलोपालो साट्दै निलो धुँवालाई छततिर उडाइरहेका थिए । कपहरू टेबलमा थिए; पसल भने धुँवाले भरिएको थियो ।
घाँटी पोल्न थाल्यो । मैले रुमाल नाकमा अड्याएँ ।
साहुजी हातमा चुरोटको बट्टासहित मुस्कुराउँदै मेनु लिएर आए र भने, “हुक्का कुन फ्लेभर, सर? मिन्ट कि स्ट्रबेरी?”
“दुई कप दूध चिया,” साथीले भन्यो, “एउटामा कम चिनी तर रङ कडा, अर्कोमा चिनी नै नराखिदिनुहोस् ।”
चियाको अर्डर सुन्नासाथ साहुजीको अनुहारको मुस्कान एकाएक बिलायो । उनले मेनु बन्द गरे र केही नभनी काउन्टरतिर फर्किए ।
केही बेरपछि बाफ उड्दै गरेको दुई कप चिया आयो । कपबाट उठेको सेतो बाफ केही इन्च माथि पुग्न नपाउँदै वरिपरिको खैरो धुँवामा मिसियो । मैले पहिलो चुस्की लिएँ । चियाको स्वाद जिब्रोमा बस्न नपाउँदै चुरोटको तीतोपन घाँटीमा अड्कियो ।
साथीले वरिपरि हेर्दै बिस्तारै भन्यो, “साहुजी,  चिया खान त गाह्रो भो नि! एउटा ‘नो स्मोकिङ जोन’ राख्न मिल्दैन?”
साहुजीले काउन्टरबाटै उत्तर फर्काए, “सर, यहाँ चिया खान कोही आउँदैन । चिया त बहाना हो । व्यापार त हुक्का र चुरोटकै हुन्छ । चियाले त भाडासमेत उठ्दैन ।”
उनले बाहिरको बरण्डातिर औँला देखाउँदै भने, “धुँवा मन पर्दैन भने कप लिएर बाहिर बस्नुस् ।”
साथीले ओठमा पुर्याउन लागेको चियाको कप हातमै टक्क अडियो; साथीले न चियाको चुस्की लियो, न कप टेबलमा  राख्यो ।
साहुजीको भनाइले तिरमिराइरहेका हामी केही बेर मौन बसिरह्यौँ । कपबाट उठेको बाफ विस्तारै हरायो । वरिपरि धुँवा भने उस्तै बाक्लो थियो ।
–खगराज बराल, पोखरा, कास्की, नेपाल