लघुकथा : निमन्त्रणा
२०८३ असार २६ शुक्रवार १०:२४
shares

आर्टिकल्स पेपर, काठमाडौँ ।
छिमेकीको छोराको बिहेको निमन्त्रणा आयो । खाममाथि रातो मसीले लेखिएको थियो— ‘सपरिवार’ । अझ कोष्ठमा लेखिएको थियो; (चुह्लै निम्तो) ।
कार्ड खोलेर श्रीमतीले छोरीतिर हेर्दै भनिन्, “यसपालि त राम्रो फोटो खिच्ने हो है ! अघिल्लो बिहेमा त हतारले केही गतिलो आएन ।”
हाँस्दै मोबाइल चलाउन थाली, “म त पहिले नै सोचिसकेँ, एउटा रिल्स, दुई–तीनवटा स्टोरी, अनि प्रोफाइल फोटो पनि फेरिहाल्छु ।”
“लुगा पनि नयाँ चाहिन्छ,” श्रीमतीले थपिन्, “एउटै लुगा बारम्बार लगाएर फोटो हाल्यो भने मान्छेले पनि के भन्लान् !”
जन्ती जाने समय नमिले पनि प्रीतिभोजमा जाने निर्णय भयो । केही दिनमै बजारबाट नयाँ साडी र लेहङ्गा घर भित्रिए ।
“कति पर्यो?” मैले सोधेँ ।
“किन? बिहे-ब्रतबन्धमा लगाउनै त हो,” श्रीमतीले मूल्य लुकाउँदै भनिन्, “राम्रै कुरा किन्दा खर्च त भइहाल्छ नि ।”
म भने बिहेको दिन जन्ती भएर गएँ ।
पर्सीपल्ट घरमा एक्लै हुँदा निमन्त्रणा कार्ड फेरि पल्टाएँ । सानो अक्षरमा छापिएका शीर्षकमध्ये ‘जन्ती प्रस्थान’ अगाडि मात्र टिक चिह्न थियो। ‘प्रीतिभोज’ खाली ।
प्रीतिभोजमा जानका लागि बिहानै दुवै जना ब्युटी पार्लरतिर लागिसकेका थिए ।
मन ढुकढुक भयो । कार्डमा भएको नम्बरमा फोन गरेँ ।
“हजुर, हामीले सामाजिक सुधार ऐनको भावनाअनुसार व्यवस्था गरेका हौँ,” उताबाट आवाज आयो, “जन्तीमा जानेलाई भोजमा नबोलाउने, भोजमा आउनेलाई जन्तीमा नबोलाउने । तपाईँको घरलाई जन्त जानेमा राखिएको थियो, त्यसैले प्रीतिभोजमा अर्को समूहलाई अवसर दिएका छौँ । कार्ड त राम्ररी हेर्नु भएकै होला ।”
“ए… त्यसो पो रहेछ,” मैले यत्ति मात्र भन्न सकेँ ।
फोन राख्दासम्म पार्लरबाट उनीहरू फर्किसकेका थिए ।
“कार्ड पढ्नु त,” मैले चुपचाप छोरीको अगाडि सारिदिएँ ।
छोरीको औँला टिक चिन्हमा अड्कियो ।
“यसको मतलब… हामी भोजमा जान मिल्दैन?” उसले अविश्वासले सोधी ।
मैले फोनमा भएको कुरो सुनाएँ ।
श्रीमती केहीबेर ऐनामा आफूलाई हेरिरहिन् । निधारको टिका सुम्सुम्याउँदै भनिन्,
“लौ न… अब यो नयाँ लुगा लगाएर खिचेको फोटो फेसबुकमा कसरी हाल्ने? भोजमै नगएपछि त कसैले देख्ने भएनन् !”
छोरीले मोबाइलको क्यामेरा बन्द गरी टेबलमा उल्ट्याएर राखिदिई ।
कोठाको कुनामा झुन्डिएको लेहङ्गा चम्किरहेकै थियो, तर त्यसलाई देखाउने अवसर भने निमन्त्रणा कार्डको सानो टिक चिन्हले पहिल्यै काटिसकेको थियो ।
निम्तोको अर्थ सकिएको थियो; बाँकी थियो, नदेखिने सजावटको पीडा ।






















