काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । बोर्ड बैठकपछि नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी गराएको हो ।
एसईईमा ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएका छन् ।
सबैभन्दा धेरै एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन् र एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् । १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा वेबसाइटबाट हेर्न सकिने जनाएको छ । बोर्डले नतिजा प्रकाशित गर्ने समय यसअघि पटक-पटक सार्दै आएको थियो । एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो ।
बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन् । यसअघिका दुई वर्ष कोभिड–१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो ।
यसरी हेर्न सकिन्छ रिजल्ट:
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ ।
परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।
नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्नेछ ।
यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो ।