एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

इजरायल-इरान द्वन्द्वको असर : त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध

413
shares

काठमाडौं । पश्चिम एसियामा पछिल्ला २४ घण्टामा तीव्र बनेको इजरायल-इरान तनावले नेपालको हवाई उडान र वैदेशिक रोजगारीमा प्रत्यक्ष प्रभाव पारेको छ । केही मुलुकले हवाई मार्ग अस्थायी रूपमा बन्द गरेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरबतर्फका उडानहरू प्रभावित भएका हुन् ।

उडान रद्द तथा स्थगित भएसँगै सयौँ यात्रु शनिबारदेखि विमानस्थलमा नै रोकिएका छन् । आइतबार बिहानसम्म पनि उडान कहिले नियमित हुने भन्नेबारे स्पष्ट जानकारी नआउँदा यात्रुहरू अन्योलमा परेका थिए । सूचना बोर्डमा उडान स्थगितको जानकारी टाँसिए पनि वैकल्पिक व्यवस्था सम्बन्धी ठोस विवरण नदिइएको यात्रुहरूको गुनासो छ । केही यात्रु आफ्नै खर्चमा होटल फर्किएका छन् भने कतिपय टिकट पुनःनिर्धारणको प्रतीक्षामा छन् ।

सिराहाबाट काठमाडौं आउनुभएका परमेश्वर शाह शनिबार राति कतार प्रस्थान गर्ने तयारीमा हुनुन्थियो । तर उडान रोकिएपछि उहाँ विमानस्थलमै बस्न बाध्य हुनुभयो । ‘न यहाँ बस्ने व्यवस्था छ, न घर फर्किने पैसा । सरकारले सहयोग गरिदिनुपर्छ,’ उहाँले भन्नुभयो । एयरलाइन्स कम्पनीहरूले प्राविधिक कारण देखाउँदै तत्काल समाधानको पहल नगरेको उहाँको आरोप छ ।

सरकारी तथ्यांकअनुसार खाडीका प्रमुख मुलुकहरूमा १७ लाखभन्दा बढी नेपाली कार्यरत छन् । संयुक्त अरब इमिरेट्समा करिब ६ लाख, कतारमा ५ लाख, साउदी अरबमा ४ लाख ५० हजार, कुवेतमा १ लाख २० हजार तथा बहराइन र ओमानमा करिब ५०-५० हजार नेपाली काम गरिरहेका छन् । इजरायलमा पनि करिब ५ हजार नेपाली विशेषगरी हेरचाह र कृषि क्षेत्रमा संलग्न छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक झण्डै १,५०० युवा रोजगारीका लागि पश्चिम एसिया जाने अनुमान छ । हालको अवस्थाले हजारौँ परिवारको आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिएको छ, किनकि विदेशिनेहरूको ठूलो हिस्सा काम गर्ने उमेर समूहका युवाहरू हुन् ।

यसैबीच, नेपालको परराष्ट्र मन्त्रालयले इजरायल, इरान तथा पश्चिम एसियाका अन्य देशमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न, अनावश्यक बाहिर ननिस्कन र पूर्वस्वीकृति बिना यात्रा नगर्न अनुरोध गरेको छ । साथै, अवस्था सामान्य नभएसम्म इजरायल वा इरान भ्रमण नगर्न सुझाव दिएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासले संयुक्त अरब इमिरेट्समा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ भने दोहास्थित नेपाली दूतावासले इरानमा रहेका नेपालीलाई सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको जनाएको छ । दूतावासहरूले परिस्थितिको निरन्तर अनुगमन भइरहेको बताएका छन् ।

उडान पूर्ण रूपमा कहिले नियमित हुने भन्ने स्पष्ट जानकारी नआएसम्म यात्रुहरूको अन्योल कायमै रहने देखिन्छ । पश्चिम एसियामा बढ्दो सैन्य गतिविधिले खाडी क्षेत्रमा कार्यरत नेपालीको सुरक्षा र आवागमन दुवैमा गम्भीर चिन्ता थपिएको छ ।