कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउनुपर्छ : सभापति थापा
२०८२ माघ २४ शनिवार १४:४६
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउनुपर्ने बताउनुभएको छ । कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको सदस्य भेलामा सभापति थापाले भदौ २३ र २४ को आन्दोलनबाट पाठ लिएर कांग्रेस सच्चिएको र अब देश बदल्ने अभियानमा रहेको भन्दै यो सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्तासँग आग्रह गर्नुभयो ।
‘कांग्रेस बदलिएको सन्देश तलसम्म पुगेको छैन,’ उहाँले भन्नुभयो, ‘यो सन्देश घर-घरमा पुर्याउनुपर्छ । हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातामाझ जानुपर्छ ।’ सबैले अब घर-घरमा गएर संवाद गर्नुपर्ने र जेनजीका कुरा सुन्नुपर्ने भन्दै सभापति थापाले कुरा सुनेर अन्तिममा सडकमा तिमीले गरेको आवाज सुनेर बदलिएको एक मात्र पार्टी कांग्रेस भएको सन्देश पुर्याउनुपर्ने बताउनुभयो ।
‘माघको अधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस हो । यो सन्देश लिएर घर घर जानुपर्छ,’ उहाँले भन्नुभयो । सभापति थापाले नागरिक किन रिसाए र कहाँ कमजोरी भयो भन्ने कुरा फेस गर्नुपर्ने भन्दै त्यसकै लागि अधिवेशन भएको र नयाँ नेतृत्व आएको स्पष्ट पार्नुभयो ।
‘यसमा कसैले जितेको छैन, कसैले हारेको छैन,’ उहाले भन्नुभयो, ‘अब पक्ष-विपक्षको च्याप्टर क्लोज भयो । पार्टी एक ठाउँमा छौं ।’ उहाँले सबै पक्ष मात्र नभएर देशलाई नै मिलाएर लैजाने शक्ति कांग्रेस भएको दाबी गर्नुभयो ।
सभापति थापाले कांग्रेस महामन्त्री प्रदीप पौडेललाई जिम्मेवार विद्रोही भन्नुभएको छ । कार्यक्रममा उहाँले भदौ २३ गतेको आन्दोलनका क्रममा प्रधानमन्त्रीसँग युवा आवाज सुन्नुपर्ने भनेर क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल भएको बताउनुभयो । ‘भदौ २३ गते म निरन्तर संवादमा छु,’ उहाँले भन्नुभयो, ‘त्यो दिन प्रधानमन्त्रीको क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल हो ।’
















