खोटाङ । पूर्वको पशुपतिनाथ भनेर परिचित त्रिधार्मिकस्थल खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ महादेवस्थानस्थित हलेसी बजारमा भएको आगलागीबाट ठूलो मात्रामा धन-सम्पत्ति तथा भौतिक सामग्री जलेर नष्ट भएका छन् ।
अग्नी पिडीतहरुलाई राहत सङ्कलन तथा वितरणका लागि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईको संयोजकत्वमा राजनैतीक दल, रेडक्रस खोटाङ, होटल व्यावसायी, इलाका प्रहरी कार्यलय हलेसी, पत्रकार, समाजसेवी लगाएत विभिन्न संघसस्था र स्थानीयबासीहरुको उपस्थितिमा अग्नि पिडीतहरुका लागि २ महिनासम्म आर्थिक सहयोग उठाउने अभियान चलाउने सर्वसहमतिमा निर्णय भएको छ ।

पहिलो चरण १५ दिन भित्र अभियानमा उठेको रकम मेयर बिमला राईको संयोजकमा सर्वदलीय, सर्वपक्षीय बैठक बसी अग्नी पिडीतहरुलाई राहत वितरण गर्ने, अग्नि पिडीतहरुलाई आर्थिक सहयोग जुटाउन नगरपालिका, विभिन्न राजनैतिक दल र संघसस्थाहरुले पहल गर्ने र उठेको पैसा नगरपालिकाको विपत व्यावस्थापनको खातामा जम्मा गर्ने निर्णय भएको छ ।
अग्नी पिडितहरुलाई राहत तथा आर्थिक सहयोग गर्न नगरपालिकाले सम्पूर्ण सरोकारवाला तथा सहयोगी मनहरुसँग आग्रह गरेको छ । माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेकाे नगरपालिकाको विपत व्यावस्थापनको खाता (खाता नं• :- 0700065091700162, Account Name – HA.TU.NA.PA GA-7-2 PRAKOP BYABASTHA) मा अग्नी पिडीतहरुलाई आर्थीक सहयोग गर्न अपिल गरिएकाे मेयर बिमला राईको सचिवालयमार्फत जानकारी दिइएको छ ।
मिति २०८१ साल फाल्गुण ०४ गते आइतबारको दिन बेलुका अन्दाजी ६:४५ बजेबाट श्री पदमसेर राईको भान्छाबाट खाना पकाउने ग्यास चुहावट भई पदमसेर राईको काठको घर, हार्डवेयर सामान, ऐराख राईको ३ तले पक्की भवन जलेर पूर्णरुपमा क्षती भएको छ भने श्री प्रकाश चन्द्र गिरीको किचेन र भरण राईको पक्की भवनको माथिल्लो २ तलामा क्षती भै करीब ७ करोड ३० लाख बराबरको क्षती भएको प्रारम्भिक अध्ययनले जनाएको छ ।
