• २०८१ माघ ९ गते बुधवार

काठमाडौँ । श्रीस्वस्थानी ब्रतकथा प्रारम्भ भएकाे छ । पुस महिनाको शुक्ल पक्षको पूर्णिमादेखि माघ महिनाको शुक्ल पक्षको पूर्णिमासम्म श्री स्वस्थानी ब्रतको समय हो । माघमा ब्रत लिने भएकाले यसलाई माघमहात्म्य पनि भनिएको हो । यो सनातनी हिन्दु धर्मालम्बीबिच निकै लोकप्रिय र प्रचलित ब्रत पनि हो । यो एक महिनाको अवधिमा ब्रत बस्न चाहने हिन्दु धर्मालम्बीहरु ब्रत बस्छन् भने ब्रत नबस्नेहरू साँझमा श्रीस्वस्थानी ब्रतकथा पढ्ने, सुन्ने र सुनाउने गर्छन् । अधिकांश हिन्दु धर्मालम्बीहरुको घरमा श्रीस्वस्थानी ब्रतकथाको पुस्तक हुने गर्छ ।

श्रीस्वस्थानी ब्रतकथा पौराणिक ग्रन्थमा उल्लेख छ । यो कथा स्कन्दपुराणको केदार खण्डअन्तर्गतको माघ महात्म्यको कुमार अगस्त्यबिचको संवाद हो । अन्य पुराणका तुलनामा स्कन्दपुराणको केदार खण्डअन्तर्गतको माघ महात्म्यमा नेपालका स्थानविशेष उल्लेख गरिएकाले पनि श्रीस्वस्थानी ब्रतकथा नेपालमा बढी लोकप्रिय छ । काठमाडौं उपत्यकाभित्रका शालीनदी, श्लेशमान्तक वनको उल्लेख भएकाले पनि स्वस्थानी ब्रतकथा नेपालीहरू माझ बढी लोकप्रिय भएको हो । सतीदेवीका अङ्ग पतन भएको नेपालभित्रका केही स्थानको स्वस्थानी ब्रतकथामा उल्लेख भएकाले नेपालमा बढी लोकप्रिया भएको हुन सक्छ । साँखुमा श्रीस्वस्थानी देवी र माधवनारायण मन्दिर छ, यसैको नजिक शालीनदी र केही पर गोमा ब्राह्मणीको कुटी पनि छ ।

श्रीस्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीका रुपमा स्कन्द पुराणमा उल्लेख गरिएको छ । सत्ययुगमा श्रीस्वस्थानी ब्रतको विधि विधान पार्वतीलाई श्रीविष्णुले बताएका पनि उक्त पुराणमा उल्लेख छ ।

श्रीस्वस्थानी ब्रतकथा पौराणिक कथा भएकाले वर्तमान सन्दर्भमा सबै पक्ष सामयिक हुन पनि सक्दैन र हुँदैन पनि । केही पक्षलाई समयोचित नमाने पनि अधिकांश सन्दर्भ सदाचारी जीवनयापन गर्नका लागि मार्गदर्शक हुन सक्छन्ः झगडा गर्न नहुने, दुर्वचन बोल्न नहुने, झुटो बोल्न नहुने, क्रोधित हुन नहुने, कसैप्रति दुर्भाव राख्न नहुने, चोरी गर्न नहुने, व्यभिचारी गर्न नहुने, सरसफाईमा ध्यान दिनुपर्ने, सबै प्राणीप्रति समभाव राख्नुपर्ने, सात्विक जीवनयापन गर्नुपर्ने, दान दिनुपर्ने जस्ता राम्रा पक्षलाई ग्रहण गर्न सकिन्छ । कथाबाट प्राप्त हुने सन्देशका अलवा श्रीस्वस्थानी ब्रतकथा घरघरमा पढ्नाले पठन संस्कृतिको विकास पनि हुने गर्छ ।

श्रीस्वस्थानी ब्रतकथालाई कथावाचन गरी प्रचारप्रसार गर्न मुनलाइट इन्टरनेसनल मिडियाले पहिलो र दोस्रो अध्यायको शोभाकर बरालद्वारा वाचन गराएर युट्युबमार्फत सार्वजनिक गरेको छ । यस कथावाचनको परिकल्पना डा. खगराज बरालले गर्नुभएको हो भने वाचन उहाँकै ७८ वर्षिय पिता शोभाकर बरालले गर्नुभएको हो । यसको छायाङ्कन र सम्पादनको काम सन्तोषकुमार दाहालले गर्नुभएको हो ।

श्रीस्वस्थानी ब्रतकथाको पठनको पहिलो र दोस्रो अध्यायलाई तलको लिङ्कमार्फत हेर्न सकिने छः

Leave a Reply

Your email address will not be published. Required fields are marked *