• २०८१ असोज ४ गते शुक्रवार

काठमाडौं: नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत शुक्रबार भएको के-४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै उनले कांस्य जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो खेलाडी बनेकी छन् ।

पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध पाँच अंकको अग्रता लिँदा लिँदै उनी चुक्न पुगिन् । उनले उक्त खेल १०-८ ले गुमाएकी थिइन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कांस्यनजिक पुगेकी थिइन् ।

पलेशा छनोटचरण पार गर्दै पेरिस पारालिम्पिक नेपालको प्रतिनिधित्व गरेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोटचरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुन् । पलेशा १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक विजेता हुन् । उनीसँग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव थियो। त्यस पारालिम्पिकमा पलेशा कांस्य भिडन्तमा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।

पलेशाले सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गर्ने

पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् । पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन् । उनले सर्बियाकी खेलाडीलाई १५-८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ ।

नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ । यही व्यवस्था अनुरूप पलेशाले ६५ लाख नगद नेपाल सरकारबाट प्राप्त गर्नेछिन् । यसरी पुरस्कृत हुने उनी पहिलो नेपाली खेलाडी बन्नेछिन् । पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।


अखबार नेपालबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *