• २०८१ असोज ४ गते शुक्रवार

काठमाडौं, भाद्र ८, २०८१ । शोभाकर बरालद्वारा लिखित दोस्रो पुस्तक “पौराणिक आदर्श नारीहरू” शीर्षकको पौराणिक आख्यानमा आधारित पुस्तक प्रकाशन भएको छ ।

जीवनका सैतिस वर्ष एउटै विद्यालयमा प्रधानाध्यापकका रूपमा व्यतित गरी सेवानिवत्त हुनुभएका लेखक बरालले सेवानिवृत्त जीवनलाई सिर्जनशील काममा लगाउनुभएको छ । यसअघि नै उहाँद्वारा रचित पुस्तक मैले टेकेको धरती (२०७९) प्रकाशित भइसकेको छ । यस पुस्तकले पौराणिक नारी पात्रहरूमा आधारित भई तिनका जीवनका निश्चित घटनाहरूमाथि प्रकाश पारेको छ । यस पुस्तकमा लेखकले अनुसूया, उर्मिला, गान्धारी, मन्दोदरी, दमयन्ती, शकुन्तला, सावित्री, सुलोचना, सीताजस्ता पौराणिक नारी पात्रहरूका सुकर्म र प्राप्त सकारात्मक प्रतिफलको चर्चा गरेका छन् । यी नारीहरूले गरेको माया, प्रेम, समर्पणको चित्रण गरेका छन् ।

लेखक बरालले पौराणिक पतिव्रता नारीहरूलाई मुख्य पात्र बनाएर यो पुस्तक तयार पारेका छन् । लेखकले सबै लेखका स्रोत सामग्री उल्लेख गरेका छन् । यसबाट लेखकले यस पुस्तक लेखनका लागि गहिरो अध्ययन गरेका थिए भन्ने कुराको पुष्टि हुन्छ ।
पुस्तकमा उल्लिखित पात्रहरुको चरित्र चित्रण आधुनिक युगको चस्माबाट हेरेर बुझ्न सकिँदैन । यस पुस्तकका आलेखहरूलाई पौराणिक कालखण्डमा उभिएर हेरे मात्रै यिनको रसास्वादन गर्न सकिन्छ । साथै, हरेक लेखका पछाडि सम्बन्धित लेखका स्रोत सामग्री प्रस्तुत गरेर लेखक पुस्तकको पौराणिक आधार पुष्टि गर्न प्रयास गरेका छन् । पुस्तकको भाषा सरल र सहज छ ।

पौराणिक ग्रन्थबाट लिइएका सामग्री भएका हुनाले शब्द छनोट र वाक्य संरचना पनि सोहीअनुरूप समय सान्दर्भिक बनाउन प्रयास गरिएको छ ।

यस पुस्तकको प्रकाशक स्वयम् लेखक आफैँ हुनुहुन्छ । यसको पृष्ठ संख्या १८० रहेको छ भने मुल्य रु ३५० रहेको छ । पुस्तकको आवरण तथा लेआउट डिजाइन मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि.का सञ्चालक तथा डिजाइनर सन्तोषकुमार दाहालले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *