• २०८१ असोज ४ गते शुक्रवार

आर्टिकल्स पेपर, काठमाडौँ ।

चर्केर ढल्न लागेको माटोले बनेको पर्खाल । त्यही पर्खालमा लामा सेता जरा देखाएर हाँसिरहेको छ गोदावरी फूल । नाममात्रको माटोको सहारामा हरियो लेउमाथि बाँचिरहेको छ जीवितताको सत्य । जीवनको अन्तिम सत्य मृत्युलाई पर्खेर । के मानिसको जस्तै प्राकृतिक फूलको पनि मृत्यु हुन्छ ? एक्कासी मनमा आएको यो प्रश्नले दिनदिनै जलिरहेको आर्यघाटको चितालाई सम्झाइदिन्छ ।

गला अवरूद्ध पारेर रोइरहेका आफन्तको आँसु जति बगे पनि मिसिन सक्दैन बागमतीको त्यो पवित्र जलमा । हिक्कहिक्क भएर रोकिन रोजे पनि रोकि“दैन चलिरहेको धड्कन । बरू यो सत्यलाई भुल्नका लागि मात्र भए पनि धड्किरहनु पर्छ यी मुटुहरूले नत्र त कसरी चल्छ र सृष्टिको रीत ।

हावाको प्रवेगमा घुमेको धुवाँको मुस्लोमा को कुन जातको हो ? खोजी गरिदैँछ । परालको नमीठो धुवाँ जस्तै यो रूढीगत प्रश्नले मनको अन्तरकुनाको सुसुप्त चेनतालाई एक्कासी जगाइदिन्छ । सपनाको रौनकमा बिथोलिएको निन्द्रा जस्तै । पीडाले भरिएको मनले नाम, ठेगाना र थर सम्झन्छ । सम्झँदैन जीवनका दुःख र पीडाका परिधिहरू ।

आफन्तहरू सिंढीमा बसेर हेरिरन्छन् जलिरहेको चिता । अर्को लासको प्रतीक्षामा छिटो सिध्याउनका लागि निरन्तर घिउ थपिरहन्छ, लास जलाउने ठेक्का लिएको मान्छे । बेलाबेला ओल्टाइपल्टाइ पार्छ, केही खोजेजस्तै गरेर लासमाथि । श्रद्धामा छरिएका छन् सयपत्रीका फूलमाला ।

अवकाशको जीवन जस्तै बेवारिसे बनेका छन् लासलाई खरानी पारेका मुढाहरू । यत्रतत्र छरिएका छन् कञ्चन पानीलाई कालो पारेर । एक हुल बाँदर लासको नजिकमा राखिएका केरा र सुन्तलामा आँखा लगाइरहेका छन् । जीवनको महत्ता भुलेका केटाहरू खोज्दैछन् टिलो । यी सबै दृश्यले भन्छ– मृत्यु केही पनि होइन । तर, भिजेका आँखामा अब स्मरणमात्र बाँकी छ । त्यो जीवनको खरानी बगिसक्यो ।

पुलबाट रमिता छ– मृत्युको संस्कार । सिंढीमा बसेका छन् जीवनको बोध भएका जोगीहरू । उनीहरू कपाकप खाइरहेछन् कसैले दिएको पुरी र मटरको तरकारी । खिइँदै गएका चपाउने दाँतले काट्न नसकेका मैदाका रोटी जीवन चलाउन सङ्घर्ष गरे जस्तै मक्मक्याइ रहेका छन् ।

पाइला ओछ्याएर बसेका छन् मैलो प्रतिबिम्व बोकेका माग्नेहरू । सिलाबरको कचौरामा लागेको कालो कस र आँखाका सेता चिप्रा दुवै हट्दैन होला यतै जल्ने आशा नहटेसम्मका लागि । तर, त्यसलाई काँधमा बोक्ने कसले हो ? थाहा छैन रातको बास अनिश्चित भएजस्तै । मेहनतले कुँदिएका किनाराका चिसा ढुङ्गाले चिनेका ती अनुहार आफन्तले चिन्न सक्दैनन् ।

ब्रह्मनालमा जो बसे पनि शान्त छ । अबिर, दूध जे पोखे पनि उसको शरीरमा अडिदैन । भिरोलो भएर बसेको ब्रह्मनालबाट पानी जस्तै बगेर नदीको प्रवाहमा मिसिन्छन् सबै कुरा । तर, आफन्तको यही अन्तिम विन्दु हो । यहाँबाट लास चितासम्म जान सक्छ । आफन्तको कोलाहल र अङ्कमाल पनि यही“सम्म हो ।

कलिले आधा शरीर देखाए पनि यिनीहरूको पीडा सुन्दैन । बिहानको घामले पोलिएको तालुमा चढाएको अबिरको टोपीले आँखा बन्द छ । माथिबाट पानीको फोहोरा छर्कंदा आँखा पिरो भए जस्तै आफैं चिन्तामा रहेको ऊ सुन्दैन रोदन र क्रन्दन । उता लासको धुवाँ बग्दै गरेको समय जस्तै यता काटिदैछ कसैको शिर । आत्मसन्तुष्टि र वलिका लागि ।

चारैतिर मुख फर्काएर बसे पनि पशुपतिनाथलाई बाहिर निस्कने अधिकार छैन । पण्डाले तामाको भाँडोले छोपेर राखेको छ उनको अधिकार । यही भएर होला सुन्दैनन् कसैका बिलौना । पण्डाको मन्त्रोचारणमा फल, प्रसाद र जल लिनु, भेटीमा उनीहरूको आँखा ठूलो बनाउनु भैरवको स्वभाव हो । ‘पैसामा महादेवका तीन नेत्र’ कथन त्यसै कहाँ बन्छ र ! यो अनुभवको महाभारत हो ।

पश्चिमबाट पूर्वतर्फ फर्केर बसेको साँढेले आनै पुच्छरले शरीर थिचेर राखेको छ । त्यसैले त ऊ कहिल्यै उठ्न सक्दैन । यति हुँदाहुँदै पनि खुला आँखाले महादेवका नियानिशाफ हेरिरहेको छ । चन्दन बेल्दा खिइएको चनौटोमा परेको खाल्डो जस्तै गहिरा आँखा पारेर । ऊ पनि देख्न सक्दैन मुल मन्दिरले छेकेको आर्यघाटको दृश्य ।

आहारामा रमाइरहेका परेवा अन्नको बुर्की र चारो चिन्दैनन् । त्यै भएर झुम्मिएर खाइरहेका छन् । भालेको मकुरमकुर पनि उस्तै छ । भालेको आक्रमणबाट डराएका पोथीहरू केही हातको दूरीमा भाग्छन् । भर्खर उड्ने अभ्यासमा लागेका बचेरा जस्तै । खरानीसँग साटिएको प्रतिष्ठाको ब्यग्रता भुलेर ।

संहारकर्ताको भूमिकामा रहेका बेला सृष्टि र स्थितिको भार भुलेका पशुपतिनाथ सबैको कल्याण गर्छन् । हिजो राजसंस्थाको हरेक प्रतिवेदनको अन्त्यमा यस्तै विश्वास गरिन्थ्यो । अन्तिम राजाको रूपमा ज्ञानेन्द्रले पनि यही भनेका थिए । अहिले देश नयाँ संविधान अनुसार धर्म निरपेक्ष राष्ट्रमा रूपान्तरण भयो । पशुपतिनाथको शक्ति पनि कमजोर भयो । मन्दिरबाट तीन किलो सुन गायब भए जस्तै ।

पशुपतिको छायाँ साँझको समयमा बागमतीमा पर्छ । बगिरहेको बागमती पशुपतिको छाया बोकेर बग्छ । पहिलो पुलको छेउमा आइपुग्दा हराउँछ यसको छाया पनि । त्यही“को अलितल मिसाएको ढलको पानीमा गएर मिसिन्छ सबै पवित्रताको अंश । त्यहाँ हेर्नेले हेर्न सके पनि नाकले पिरो रागको गन्ध लिएका कारण मुखले थुक फ्याँक्छ । वैराग्य सायद यही हो र त हजारौ“ले जोगीको रूप धारण गर्छन् ।

माथि डाँडामा बसेका गोरखनाथले हेर्न त चारैतिर हेर्छन् । हरियो घाँसमा रमाउनु पर्ने मृगस्थलीका मृग बिस्कुटको स्वादमा रमाएकाले केही बोल्दैनन् । कहिलेकाही““ संवाद हुँदो हो बौद्धनाथसँग पनि । शान्तिका दूत परेवालाई टाउकोमा बोकेर लुङ्दरले ढाकिएको हुँदा मेरो आँखा धमिलो भएको हो कि दृश्य छोपिएको हो भन्ने सङ्केतमात्र गर्छन् ।

यहाँको रीत यस्तै भएर होला, कुकुरले चिन्दैनन् बाँदरको गन्ध । नजिकबाट बाँदरको बटालियन चलोस् वा शङ्खको एकोहोरो धुन, कुनै पर्वाह छैन । भाङको नशाले लठ्ठिएको कुनै नामुद जोगी जस्तै शान्त छ वरपरको पर्यावरण । बेलाबेला चिहाएर हेर्छ गौरीघाटतिरबाट मुखमा लड्डु कोचिएको हनुमान ।

तुवाँलोले ढाँकेको जस्तै नदेखे झैं गरेर अपराधीलाई क्षमादान गरिरहेको सहरले बिहानको तेजिलो सूर्यको फूर्ति त हेर्छ तर सन्ध्यामा मलिन भएको सूर्यको अन्तरवेदनालाई देख्दैन । विश्व सम्पदा सूचीमा रहेको मन्दिर क्षेत्र, छायासँगै लोप हुँदै गएको सूर्यको ताप र जलिरहेको जीवनको सार सबै बराबर छ ।

आद्र्रताको परिभाषा र जीवनको सन्देश के हो ? यो खोजेर, नापेर सकि“दैन । मृत्युपछि मलामीको लस्कर, कमाएको पद, पैसाले गन्न सकि“दैन । सालिकमा रहेका आँखामा दृश्य नआए जस्तै त होला नि मृत्युपछिको सम्बन्ध पनि । एउटा पर्खालमा उभिएको फूल, अस्ताउँदै गरेको घाममा देखिएको मन्दिरको छाया । धुवाँमा पुत्पुताइँरहेको मान्छे । सबै बराबर जीवनको अन्तमा पनि ।

आँखा खोलेर पाएको दृश्यमा अन्तरमनको सुसेली घोलेर आफ्नो शरीरको भित्री अङ्गलाई एक्सरे मेसिनले जस्तै गरेर हेर्न पाए ! पश्चातापको भावमा जल्नु पर्ने थिएन । आत्मसन्तुष्टिको आगोले बनाएको खरानी त पानीमा घुलेर जान्छ तर समाजको आँखामा बसेको त्यो प्रतिछाया भत्किएको पर्खालमा रहेको गोदावरीको फूल र अस्ताउँदै गरेको सूर्यको रक्तिम छटा अमिट रहने छ । ती सालिकमा कोरिएको प्रतिबिम्ब जस्तै । उसको प्राण त हुँदैन तर पनि सजीव जस्तै लागेर मनले हेरिरहने ।

जीवनको अन्त्य तीन घण्टाको लगातार आगोको सङ्घर्षमा सकियो । अब कुनै नाम पहिचान बाँकी छैन । माटोबिनाको पर्खालको गोदावरी झरेर भुइँमा उभिण्डो भएको छ । माटो झरेर नथामिएको बोट र जीवनको अस्तित्व सकिएको लाससँगै जल्नु वा मन्दिर जानु पर्ने बाध्यताको अन्त्य गरेर फर्किंदाको अनुभूति सभ्यताको कसीमा जोखेर नासोको रूपमा सुम्पिन सकि“दैन झैं हुनु आफैंमा आत्मज्ञान हो । अरू सबै कुरा त प्रकृतिप्रदत्त हुन् । के बदल्ने चाहना राख्नु !

बोधराज पौडेलद्वारा लिखित निबन्ध संग्रह “सोकेसको ऐना”बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *