काठमाडौँ : किराँत समुदायद्वारा उधौली पर्व आज धुमधामका साथ मनाईदै छ । याक्खाको चासुवा, सुनुवारको स्याँदर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ ।
किरात समुदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले स्याँदर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्ने गर्दछन् । किरातीहरु भूमि पूजाका लागि बिहानैदेखि महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर ढोल(झ्याम्टा र च्याब्रुङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषा अनुसार पर्वलाई पुकार्ने चलन छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाईने यो पर्व तिथिका कारण यो वर्ष पौष महिनामा परेको छ ।
वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिन्छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउने गर्दछन् ।
धान्यपूर्णिमा पर्वः
धानको विधिपूर्वक पूजाआजा एवं दान गरि आज धान्यपूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । कतिपय समुदायले भने यसैदिन कूल परम्परा अनुसार दिवाली वा कुलदेवताको पूजा आराधना गरि धान्य पूर्णिमा पर्व मनाउँछन् ।
योमरी पुन्हि पर्वः
नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रुपमा समेत मनाउने गर्दछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।
नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । गर्भवती भएका चेलीबेटीलाई गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ ।
साभार : अखबार नेपाल