आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत...

पुरा पढ्नुहाेस्

जलनका घटना नयाँ होइनन्, हाम्रो चासो नयाँ हो : अनिल धिताल

उपचार सेवा विस्तारसँगै जलन रोकथाम, सही प्राथमिक उपचार, स्वास्थ्यकर्मीको क्षमता विकास र प्रभावकारी नीतिमा लगानी गर्न सके मात्र जलनका कारण हुने मृत्यु, अपाङ्गता र आर्थिक भारलाई दीर्घकालीन रूपमा घटाउन सकिन्छ ।

483
shares

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै चर्चा सुनिन्छ। टेलिभिजनका समाचारदेखि सामाजिक सञ्जालसम्म, अस्पतालदेखि मन्त्रालयसम्म, विद्यालयदेखि समुदायसम्म—सबैतिर एउटै प्रश्न उठिरहेको छ, ‘अब के गर्ने ?’ कसैले उपचारको कुरा गरिरहेका छन्, कसैले बिरामीलाई कहाँ लैजाने भन्ने चिन्ता व्यक्त गरिरहेका छन्, त कसैले जलनबाट कसरी बच्ने भन्ने उपाय खोजिरहेका छन् ।

यो परिवर्तन सकारात्मक हो । तर यसले मेरो मनमा एउटा प्रश्न पनि उठाउँछ—के जलनको समस्या अहिले मात्रै सुरु भएको हा ? उत्तर स्पष्ट छ—होइन ।

जलन नेपालका लागि नयाँ समस्या होइन । यो त दशकौँदेखि हाम्रो समाजमा मौन रूपमा मानिसको ज्यान लिइरहेको, जीवनभरका लागि अपाङ्गता दिइरहेको र हजारौं परिवारको भविष्य बदलिरहेको एउटा उपेक्षित सार्वजनिक स्वास्थ्य समस्या हो । फरक यति मात्र हो कि आज हामी यसको बारेमा धेरै बोलिरहेका छौं ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष उपचार आवश्यक पर्ने करिब ६० हजार जलनका घटना हुने अनुमान छ भने करिब २,२०० जनाले ज्यान गुमाउने गरेका छन् । यी तथ्याङ्क अस्पतालसम्म पुगेका बिरामीका आधारमा तयार भएका अनुमान हुन्। नेपालका धेरै दुर्गम बस्तीमा रहेका मानिसहरू आर्थिक अभाव, यातायातको कठिनाइ वा स्वास्थ्य सेवामा सीमित पहुँचका कारण अस्पतालसम्म पुग्नै सक्दैनन्। कतिपयले स्थानीय रूपमा उपचार गर्छन्, कतिपय उपचार नै पाउँदैनन्। त्यसैले वास्तविक संख्या अझ ठूलो हुन सक्ने सम्भावना छ ।

जलनले मृत्यु मात्र होइन, जीवनभरका लागि असर पनि छाड्छ । धेरै व्यक्तिहरू शारीरिक अपाङ्गता, मानसिक पीडा, सामाजिक विभेद र आर्थिक संकटसँग बाँच्न बाध्य हुन्छन् । नेपालमा हुने अपाङ्गतामध्ये करिब ५ प्रतिशत भार जलनसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ। त्यसैले जलनलाई केवल दुर्घटना भनेर मात्र हेर्न मिल्दैन; यो विकास, गरिबी र सार्वजनिक स्वास्थ्यसँग जोडिएको विषय हो।

नेपालमा जलनका घटनाबाट सबैभन्दा बढी प्रभावित हुने समूह महिला र बालबालिका हुन् । अझै पनि धेरै घरमा खाना पकाउने मुख्य जिम्मेवारी महिलाको काँधमा छ । खुला आगो, परम्परागत चुलो, दाउरा, ग्यासको असुरक्षित प्रयोग तथा जाडोमा आगो ताप्ने चलनका कारण घरभित्रै हुने दुर्घटनाले महिला र साना बालबालिकालाई सबैभन्दा बढी जोखिममा पार्छ । त्यसैले जलन स्वास्थ्यको मात्र होइन, सामाजिक र लैङ्गिक समानताको मुद्दा पनि हो ।

नेपालमा जलन नयाँ समस्या होइन, तर यसप्रतिको राष्ट्रिय चासो भने अहिले बढ्न थालेको छ । उपचार सेवा विस्तारसँगै जलन रोकथाम, सही प्राथमिक उपचार, स्वास्थ्यकर्मीको क्षमता विकास र प्रभावकारी नीतिमा लगानी गर्न सके मात्र जलनका कारण हुने मृत्यु, अपाङ्गता र आर्थिक भारलाई दीर्घकालीन रूपमा घटाउन सकिन्छ ।

विगत एक दशकभन्दा बढी समयदेखि नेपालका विभिन्न जिल्लामा समुदायसँग काम गर्ने क्रममा मैंले एउटा कुरा बारम्बार अनुभव गरेको छु । हामी विद्यालय, महिला समूह, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सामुदायिक स्वास्थ्यकर्मी तथा अन्य समुदायका सदस्यहरूलाई जलन रोकथाम, सही प्राथमिक उपचार, जलन बिरामीको प्रारम्भिक मूल्याङ्कन, आधारभूत व्यवस्थापन र समयमै रिफरल सम्बन्धी तालिम दिँदै आएका छौं । त्यस्तै जिल्ला अस्पतालदेखि प्रदेश तथा केन्द्रीय अस्पतालसम्मका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई ‘Essential Burn Care / Advanced Burn Care सम्बन्धी तालिम सञ्चालन गर्दै आएका छौं ।

यी तालिमका क्रममा धेरै पटक एउटा वाक्य सुन्न पाइन्छ—‘मैले ३० वर्ष स्वास्थ्य सेवामा काम गरें, तर जलनसम्बन्धी औपचारिक तालिम पहिलो पटक पाएँ ।’ यो केवल एउटा अनुभव होइन, हाम्रो स्वास्थ्य प्रणालीको वास्तविक चित्र हो। जब अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले नै यस्तो अवसर पाएका हुँदैनन्, समुदायसम्म सही ज्ञान कसरी पुग्छ ?

आज सरकारले थप बर्न वार्ड स्थापना गर्ने र उपचार सेवा विस्तार गर्ने विषयमा चासो देखाइरहेको छ । यो अत्यन्त स्वागतयोग्य कदम हो । तर एउटा प्रश्न हामी सबैले आफैँलाई सोध्नुपर्छ—के हामी केवल अस्पताल थपेर जलनको समस्या समाधान गर्न सक्छौं ? उत्तर फेरि पनि होइन हो।

उपचार आवश्यक छ, तर उपचारले दुर्घटना रोक्दैन । यदि हामीले जलन हुनै नदिने वातावरण बनाउन सकेनौं भने नयाँ बर्न वार्डहरू भरिँदै जानेछन्। त्यसैले उपचारसँगै रोकथामलाई राष्ट्रिय प्राथमिकता बनाउनु अपरिहार्य छ ।

विद्यालयका पाठ्यक्रममा जलन रोकथाम र प्राथमिक उपचार समावेश गर्न सकिन्छ। महिला समूह, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सामुदायिक स्वास्थ्यकर्मी, स्थानीय सरकार र कार्यस्थलमार्फत नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिन्छ।

सुरक्षित खाना पकाउने अभ्यास, बालबालिकाको सुरक्षा, आगो तथा ग्यासको सुरक्षित प्रयोग र सही प्राथमिक उपचारको सामान्य ज्ञानले हजारौं दुर्घटना हुनै नदिन सक्छ । हामी प्रत्येक ठूलो दुर्घटनापछि केही दिन जलनको चर्चा गर्छौं। त्यसपछि फेरि बिर्सन्छौं। तर जलनका घटना भने हरेक दिन कसैको घरमा भइरहेका हुन्छन् ।

आज देशभर जलनको विषयमा बहस भइरहेको छ । यो बहस केही दिनको समाचारमा सीमित नहोस् । यसलाई राष्ट्रिय नीति, समुदायमा आधारित रोकथाम, स्वास्थ्यकर्मीको क्षमता विकास, पुनस्र्थापना सेवा र दिगो लगानी सम्म पु¥याउन सक्यौं भने मात्रै यसको वास्तविक अर्थ हुनेछ । किनकि नेपाललाई थप बर्न वार्ड मात्र होइन, जलन हुनै नदिन टेवा पुग्ने निती योजना र कार्यक्रम पनि चाहिएको छ। उपचारले जीवन बचाउँछ, र रोकथामले जीवन बदल्छ ।