एक्स्काभेटर प्रयोग गरी २ मिटरसम्म गहिरो उत्खनन, प्राविधिक नापजाँचपछि कारबाही गरिने
२०८२ चैत ९ सोमवार १३:४२
shares

मकवानपुर । मकवानपुरगढी गाउँपालिका अन्तर्गत पर्ने सामरी खोलामा मापदण्ड विपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन भइरहेको गुनासो बढेपछि सरोकारवाला निकायले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान तथा सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले खोलाको विभिन्न भागमा निरीक्षण गरेको हो । अनुगमनका क्रममा उत्खननको अवस्था, प्रयोग भएका उपकरण तथा मापदण्ड पालना सम्बन्धी विवरण संकलन गरिएको थियो ।
प्रारम्भिक प्रतिवेदन अनुसार तोकिएको मापदण्ड उल्लंघन गर्दै एक मिटरभन्दा बढी, केही स्थानमा दुई मिटरभन्दा गहिरो उत्खनन गरिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले प्राविधिक नापजाँचपछि वास्तविक अवस्था यकिन गरिने र सोही आधारमा कारबाही अघि बढाइने जानकारी दिनुभयो ।
स्थानीयवासीले निरन्तर एक्स्काभेटर प्रयोगका कारण खोलाको स्वरूप बिग्रिएको, पानी धमिलो भएको तथा जलचरमा असर परेको गुनासो गरेका छन् । साथै किनार कटान र बाढी जोखिम बढ्ने चिन्ता व्यक्त गरेका छन् ।
भिजन कन्ट्रक्शनले भने तोकिएको मापदण्डअनुसार नै उत्खनन गरिएको दाबी गरेको छ। अनुगमन टोलीले विस्तृत प्रतिवेदन तयार गरी आवश्यक निर्णय लिने जनाएको छ ।





















