काठमाडौं उत्सवमा देखेको थिएँ । कम्युनिस्ट भएर त्यहाँ पुग्नु भएछ । त्यो काङ्ग्रेसहरुको कार्यक्रम हो नि ! कुनै समालोचकले यसो भन्दा मलाई कुनै गुनासो लागेन । (आजकाल मलाई थकथकी र गुनासो पनि लाग्दैन । किनकि बाटोमा मन्त्री सांसद भेटिदैनन् । भेटिए पनि बाल दिन्न । मलाई थकथकी लाग्ने शासकहरू भेटिदा मात्र हो ।) मैले आदर नमस्कार गर्ने मान्छे पनि छन् यो काठमाडौंमा । ती मध्ये एक हुन बाबु त्रिपाठी । जो काठमाडौं उत्सवका आयोजकमध्ये एक हुन् ।
आदरणीय बाबुलाई म १५ वर्षदेखि चिन्छु । यी राम्रा कवि हुन् । उम्दा गजलकार हुन्, र त्यो पथभ्रष्ट समयका आलोचक पनि हुन् । यदी अभियन्ता शब्दले आफ्नो गरिमा गुमाएको छैन, बाबु नेपाली साहित्यका एक कर्मठ अभियन्ता हुन् । गजल होस् वा कविता, निबन्ध होस् वा आख्यान हरेक विधालाई फुलाउन हिँडेका छन् । यिनलाई लोभ नै के छ र ! बागबजारमा दुई कप चिया खाँदै एक शेर राम्रो गजल कसैले सुनाइदियो भने छाती चौडा भइहाल्छ यिनको । उत्कृष्ट कविताको परख गर्छन् । काव्यको सौन्दर्य पर्गेल्न सक्छन् बाबु । कुटिलता होइन कुशलता यिनको विशेषता हो।

यिनी मनमा पाप बोक्दैनन् । मनमा पाप नभएपछि भेदभाव पनि बोक्दैनन् । नत्र सुदुर अछामका गजलकारलाई किन महफिलमा उभ्याउँथे । किन चियाको भरमा दिनभर खट्थे । किन साहित्यकै निम्ति जीवनको भव्य उर्जालाई उजागर गर्थे ? किन ? समालोचक कमरेड अक्सर तपाईं औपचारिकता बाहिर कुरा बुझ्नुहुन्न । जिन्दगी १०० मा ३५ ल्याएर पास हुने औपचारिकता होइन ।
यो राज्यले कति बुझ्यो बाबुलाई थाहा छैन । मलाई बाबु त्रिपाठीको थोत्रो स्कुटीको कुदाइमा विश्वास छ । यी राम्रा ड्राइभर हुन् । यिनी देशलाई हिलोमा हालेर रमाउने शासकको कडा आलोचक हुन् । (हुन त सत्ता गजल र कविता बुझ्दैन । बाबु चुटकिला लेख्दैनन् । स्तुतिगानलाई वेकाम ठान्छन्) सत्तामा स्तुति बिक्छ ।
काठमाडौं उत्सवमा बाबुले एउटा चोखो सेसन राखेछ्न् । सडकमा मकै पोलिरहेका दिदी र चिया बेचिरहेका बालाई बौद्धिक भनिने मन्चमा उकालेछ्न । मलाई यो एकदम भव्य लाग्यो । यो पनि लाग्यो प्रगतिशील हुन रत्नपार्क पुगेर झण्डा हल्लाउने चलन पुरानो भयो । साहित्यिक उत्सवमा मकै पोलिरहेका मजदुरहरू उक्लनु भव्य कुरा हो । कस्को हिम्मत मञ्चमा उक्लन हिला खुट्टाहरूलाई । मलाई यो सेसन छुटेकोमा बहुत पछुतो छ ।

आर.आर कलेजनेर चिया पिउँदै बिराट अनुपमले भने “बाबु त्रिपाठी जस्तो स्वच्छ मान्छे समाजमा कम हुँदै गएका छ्न । सामाजिक संजालको अफवाह विरुद्ध हैन के ब्रोको प्रस्तुतिमा अभिव्यक्त विराटको भनाइमा गहिरो सत्य छ । नेपाली साहित्यमा असल मानिसहरू कम हुँदै जानू दुस्खद कुरा हो । बाबुहरू बिग्रेलान्, बेग्लै कुरा । अहिलेसम्मलाई नमन छ । यतिको मान्छे समाजलाई चाहिन्छ । नत्र हामीले चेत गुमाउँछौं ।”
बागबजारमा चिया खाँदै यस उत्सवका आयोजकमध्ये तीनै बाबु त्रिपाठी, लोकप्रिय कवि प्रज्जवल अधिकारी र गजलका एकजना राम्रो सायर एन.बि.ले निम्तो दिनुभएको थियो । आयोजक संस्थाका तर्फबाट प्रकाश समिरको मिठो आग्रह त छँदैछ, थियो । यी सबै पात्रको प्रयासले सम्भव भएको थियो काठमाडौं उत्सव । शोकाकुल स्थितिमा म आफैं कमजोर थिएँ । उपस्थित जनाएँ । वाचनतिर भाग लिन सकिन ।
लामो समयपछि युवा पुस्ता दर्जनभन्दा बढी कविता सुनेँ । कतिपय कविताले रुवायो, कतिपय कविता सुन्दा जिउमा काँडा उम्रिए । क्या कविता लेख्दो छ, नयाँ पुस्ता भनेर खुसीले दङ्ग भएँ, सिनेमा सम्बन्धि बहस पनि सानदार थियो । लेखक पत्रकार प्रभाकर गौतमले भने जस्तै एउटा सिर्जनात्मक लहर आउन एक दसकभन्दा बढी लाग्छ । बाबु त्रिपाठी जस्तो युवा हुर्कन पनि दुई दशक लाग्न सक्छ । क्या वात बाबु त्रिपाठीज्यू !
