• २०८१ बैशाख २७ गते बिहिवार

काठमाडौं : बैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर-२ र बझाङ १ (क) मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा सरकारमा सहभागी दुई दलको गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगै पहिचानवादीहरुको उम्मेदवार र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका कारण इलाम-२ अहिले निकै चर्चामा छ ।

राजनीतिक दलका नेता र कार्यकर्ता मात्र होइन सुरक्षा अंगका सूचना संकलकहरु पनि यतिबेला इलाम-२ मा बाक्लो उपस्थिति छ । चुनावमा कसले बाजी मार्ने हो त्यसको अहिले यकिन छैन । तर विभिन्न समूहले अध्ययन र अनुसन्धानलाई भने तिब्र बनाएका छन् ।

अध्ययन र अनुसन्धानका क्रममा इलाम-२ मा सत्तारुढ दलले नै जित्ने सर्वेक्षण गरिरहेको बेला स्वतन्त्र रुपमा गरिएका सर्वेक्षणले भने पहिचानवादी, धरान उपमहानगरका मेयर हर्क साम्पाङले समर्थन गरेका उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जित्न सक्ने आँकलन गरेका छन् । त्यतिमात्र होइन राष्ट्रिय अनुसन्धान विभागको एउटा टोली इलाममै रहेर अनुसन्धान गरेको छ । इलाम जिल्ला प्रशासन कार्यालयमा रहेको सो टोलीले दिनदिनको रिपोर्ट विभागमा पठाउने गरेको छ । इलामबाट आएको रिपोर्टलाई विभागले विभिन्न ढंगले विश्लेषण गरिरहेको छ ।

रिपोर्ट अनुसार इलाम-२ मा हुने निर्वाचनमा एमाले, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीका साझा उम्मेदवार सुहाङ नेम्वाङको चुनावी अंकगणितमा सबैभन्दा अगाडि रहेको देखिएको छ । सो रिपोर्ट अनुसार कांग्रेसका डम्बर खड्काको उपस्थिति पनि पहिलेको भन्दा बलियो देखिएको छ । राष्ट्रिय अनुसन्धान विभागमा पेश गरेको पछिल्लो विवरणले भने प्रतिष्पर्धामा एमाले र कांग्रेस नै देखिएको छ ।

दुवै पार्टीलाई उत्तिकै सहानुभूति देखाएको भएपनि सुहाङको हकमा अपरिपक्वता र डम्बरको हकमा परिपक्वताले काम गरिरहेको छ । पहिचानको पक्षमा केही मत बढेको र त्यही अनुपातमा रास्वपालाई मत बढेको विश्लेषण गरिएको छ । उनीहरुलाई कांग्रेस एमालकै मत बाँडिने विश्लेषण गरिएको छ । एमाले एक ढिक्का भएमा र माओवादीको मत इमानदारपूर्वक थपिएमा एमालेलाई जित निकाल्न सहज हुने देखिन्छ । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रमा निर्वाचन हुँदा एमाले एक्लै र कांग्रेस, माओवादी, नेकपा (एस) लगायतका दल एकैठाउँ हुँदा पनि एमालेले बाजी मारेको थियो ।

एमालेका प्रभावशाली नेता एवं संविधानसभा अध्यक्ष स्वार्गीय सुवास नेम्वाङको भदौ २६ गते असमायिक निधनका कारण त्यहाँ इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो ।

एमालेका सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका डम्बर खड्काले २९ हजार ६०९ मत ल्याएका थिए । रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएका थिए । समानुपातिकतर्फ पनि यो क्षत्रमा एमालेले नै सबै भन्दा बढी मत ल्याएको थियो । समानुपातिकमा एमालेले सबैभन्दा बढी २६ हजार ५६२ मत ल्यायो । कांग्रेसले २२ हजार ३३३ र रास्वपाले ४ हजार ६८६ मत मात्र ल्याएका थिए । माओवादीले समानुपातिकमा ५ हजार १५३ मत ल्याएको थियो ।


अखबार नेपालबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *