• २०८१ बैशाख ३० गते आइतवार

काठमाडौं: नेपाल आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाईल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ ।

योसँगै २०२४ मा हुने ग्लोबल टि-२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना एसिया क्षेत्रिय छनोटमै समाप्त भएको छ । जितको लागि १०६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रन बनाएर अल आउट भयो ।

नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिइन् । कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालले ओपनर काजोल श्रेष्ठलाई तेस्रो बलमै शून्यमा गुमाएको थियो । काजोल नाट्या बुचथमको बलमा चानिदाबाट क्याच आउट भएकी थिइन् । दोस्रो ओभरमा थिपाचा पुथावोङले इन्दु र रुविना दुई प्रमुख ब्याटरलाई आउट गरेपछि नेपाल धरापमा परेको थियो ।

दोस्रो ओभरमा इन्दु बर्मा तीन रनमा क्याच आउट भइन् । कप्तान रुविना क्षेत्री शून्यमा एलबीडब्लू आउट भएपछि नेपाल सुरुवातमै संकटमा पुगेको थियो । पाँचौं ओभरमा फनिता मायाको बलमा सीता रानामगर एज लागेर विकेटकिपर सुवानाबाट क्याच आउट भएपछि नेपालको जितको सम्भावना लगभग सकिएको थियो ।

नेपालको भ्रदगोल ब्याटिङक्रमले सेमिफाइनल खेलमा पनि निरन्तरता पायो । ओपनर विन्दु रावललाई सातौं नम्बरमा खेलाएपनि उनले खाता खोल्न सकिनन् । यसअघि उनलाई नेपालले नवौं नम्बरमा समेत खेलाएको थियो । पुजा महतो ४ र अश्मिना कर्माचार्य ३ रनमा आउट भइन् ।

थाईल्यान्डकी ओनिचा कम्चोम्फुले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । थिपाच्चा पुथावोङले ३.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् । नाट्या बुचथमले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०५ रन बनाएको थियो । थाईल्यान्डको जितमा शीर्षक्रमकी ब्याटर नानपाट खोन्चारोएनकाइले ६३ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिएकी थिइन् । तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरको चोथो बलमा ओपनर सुवानान खिआटोलाई २ रनमै क्याच आउट गराएकी थिइन् ।

त्यसपछि दोस्रो विकेटका लागि नानपाट खोन्चारोएनकाइ र नथाकन चान्थामले संयमित ६८ रनको साझेदारी गर्दै जितको बलियो आधार बुनेका थिए । प्रमुख ब्याटर चान्थम ४५ बलमा २ चौकासहित ३१ रनमा आउट हुन पुगेकी थिइन् ।

चानिदा ८ बलमा १ चौकासहित ११ रनमा नट आउट रहिन् । नेपालकी पुजा महतोले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिइन् । नेपालले खेलमा ७ बलर प्रयोग गरेको थियो । नेपालले पहिलो पटक ग्लोबल छनोट खेल्ने सपना यस पटक पनि पुरा हुन नसकी बाहिरिएको छ ।

साभार : अखबार नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *