• २०८१ बैशाख ३० गते आइतवार

काठमाडौं: एसिसी एसिया कप अन्तर्गत नेपाल डकवर्थ लुइस पद्धतिको आधरमा भारतसँग १० विकेटले पराजित भएको छ । पराजित भएसँगै नेपाल एशिया कप क्रिकेटको समूहचरणबाटै बाहिरिएको छ ।

श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा १४५ रनको नयाँ लक्ष्य पछ्याएको भारतले १७ बल बाँकी छँदै भेट्टायो । भारतका लागि २० दशमलब १ ओभरको खेलमा जितका निम्ति २ रन चाहिँदा शुभमन गिलले चौका प्रहार गरेका थिए । उनको सो चौकापछि भारतले बिना कुनै विकेट १४७ रन बनाएर खेल जितेको हो ।

यसअघि नेपालले दिएको २३१ रनको लक्ष्य भारतले पछ्याउने क्रममा वर्षा भएपछि खेल २ घण्टा रोकिएको थियो । वर्षाका कारण डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा छोट्याइएको खेलमा भारतले जितका निम्ती १४५ रनको नयाँ लक्ष्य पाएको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको भारी रन अन्तरले हारेको नेपालले भारतसँगको खेलमा निकै सुधार गर्‍यो । सोमबार भारतका लागि ओपनरद्धय कप्तान रोहित शर्मा र शुभमन गिलले उत्कृष्ट इनिङ खेले । शर्माले ५९ बलमा ६ चौका र ५ छक्का हान्दै ७४ रन जोडे । गिलले भने ६२ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६७ रन बनाए । भारतले अतिरिक्त ६ रन पाएको थियो ।

नेपालले ७ जना खेलाडीलाई बलिङमा उतारेको थियो । सन्दीप लामिछाने, ललित राजवंशी र करण केसीले ४–४ ओभर खेले । ​सन्दीपले ३ चौका र ३ छक्का सहित ३९ रन खर्चिदा ललितले १ छक्का सहित २४ रन दिए । करणको बलिङमा ३ चौका र १ छक्कासहित भारतले २६ रन बटुल्यो । २ ओभर बलिङ गरेका सोमपाल कामीले ५ चौकासहित २३ रन खर्चिए । दिपेन्द्र सिंह ऐरीले २ ओभरमा १ छक्का सहित १२ रन भारतलाई सुम्पिए । यसैगरी कुशल मल्लले ३ ओभरमा १ चौकासहित ११ रन खर्चिए । गुल्सन झाले १ दशमलब १ ओभर बलिङ गर्दै २ चौका सहित ११ रन दिए ।

वर्षा बाधक नबनेको भए सायद नेपाली ब्याट्स्म्यानले दिएको लक्ष्य भेट्टाउन भारतलाई पनि त्यत्ति सहज हुने थिएन होला । नेपाली तीव्र गतिका मिडियम बलर करण केसीले पहिलो ओभरमा एक रन मात्रै दिँदै उत्कृष्ट सुरुवात गरेका थिए । त्यो एक रन पनि वाइड थियो । दोस्रो ओभरमा सोमपाल कामीलाई शुभमन गिलले तीन चौका प्रहार गरेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले विश्व क्रिकेटकै पावर हाउस भारतविरुद्ध उत्कृष्ट ब्याटिङ गर्न सफल भएको थियो । विश्वस्तरमै ख्याती प्राप्त मोहम्मद शामी, मोहम्मद सिराज र स्पीनर कुलदीप यादव जस्ता भारतीय बलर तथा हार्दिक पान्ड्या र रविन्द्र जडेजा जस्ता विश्व प्रसिद्ध अलराउन्डरको चुनौती फेस गर्न नेपाली खेलाडी सफल देखिए ।

नेपालले ४८ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाउन सफल भएको थियो ।  नेपालका लागि सानदार योगफल खडा गर्न आशिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, गुल्सन झाले महत्वपूर्ण भूमिका निर्वाह गरे । आशिफले अर्धशतक बनाए भने सोमपाल अर्धशतक बनाउनबाट मात्र २ रनले चुके । १ छक्का र २ चौका सहित ५६ बलमा ४८ रन हानेका सोमपाल सामीको बलमा किसनबाट क्याच आउट भए ।

यसअघि कुशल भूर्तेलसँगै ओपनिङ ब्याटिङ गरेका आशिफले ९७ बल खेलेर ८ चौकाको मद्दतमा ५८ रन बनाए । पहिलो विकेटका लागि उनीहरुवीच ९ दशमलब ५ ओभरमा ६५ रनको साझेदारी भएको थियो । भुर्तेल भने २५ बलमा २ छक्का र ३ चौकाको मद्दतमा ३८ रनमा सार्दुल ठाकुरको बलमा इसान किसनद्धारा क्याच आउट भए । आशिफ भने महोम्मद सिराजको बलमा विराट कोहलीद्धारा क्याच आउट भए ।

त्यसअघि नेपाली ओपनरले तीन जीवनदान पाएका थिए । कुशल भुर्तेललाई दोस्रो ओभरमै श्रेयस ऐरले फस्ट स्लिपमा एक रनमा र ईशान किशनले ७ रनमा छाडेका थिए । त्यस्तै आसिफ शेखलाई एक रनमा विराट कोहलीले एक्स्ट्रा कभरमा क्याच छाड्दै जीवनदान दिएका थिए । ​सुरुवातीको ५ ओभरमा तीन जीवनदान पाएपछि नेपाली ओपनर ब्याट्स्म्यानले उत्कृष्ट ब्याटिङ थालेका थिए । २५ बलमा ३ चौका सहित दिपेन्द्र सिंह ऐरीले २९ रन बनाएका थिए । उनी जडेजाको बलमा एलबिडब्लु भए । ५ बलमा ३ चौका हान्दै गुल्सनले २३ रनको योगदान दिए । उनी सिराजको बलमा किसनद्धारा नै क्याच भए ।

स्पिनर जडेजाको २०औं ओभरको अन्तिम बलमा नेपाली कप्तान रोहित पौडेल एज लागेर भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट हुन पुगे । त्यत्तिबेला पौडेलले ८ बलमा मात्र ५ रन बनाएका थिए । यसबाहेक पूर्व कप्तान सन्दीप लामिछानेले ९ रन बनाउँदा भिम सार्कि ७ रनमा आउट भए ।

भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३/३ विकेट लिए । यस्तै मोहम्मद सामी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एक/एक विकेट रह्यो । लगातार २ खेल हार्दै नेपालले दुई शक्ति राष्ट्रसँग अनुभव बटुलेर समूहचरणबाटै बाहिरिँदा शिर्ष वरियताको पाकिस्तान र तेस्रो वरियताको भारत सुपर फोरमा पुगेका छन् ।

साभार : अखबार नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *