• २०८१ बैशाख १७ गते सोमवार

काठमाडौं: नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दामा संलग्न उच्च राजनीतिक व्यक्तित्त्वदेखि प्रशासकहरू धमाधम पक्राउ पर्न थालेका छन् ।

नक्कली शरणार्थी बनाउने गिरोह पक्राउ परेपछि उनीहरूले राजनीतिक व्यक्तित्त्व र प्रशासकको पोल खोल्दै गएका छन् । नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोहले ८ सय ७५ जनासँग १० देखि ५० लाखसम्म रकम उठाएको प्रहरीको अनुमान छ ।

यसप्रकरणमा पूर्वऊर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ । उनका छोरा सन्दीप यसै प्रकरणमा मुछिएकाले बुधबार नै बुटवलबाट पक्राउ परेका छन् । यस्तै उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि बुधबार पक्राउ  परेको प्रहरीले जनाएको छ ।

शरणार्थी प्रकरणमा अरबौं ठगी गरेको भन्दै उजुरी परेपछि एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलालसहित मोरङका सागर थुलुङ, पाँचथरका टंक गुरुङ र दाङका सन्देश शर्मा यसअघि नै पक्राउ परेका छन् । उनीहरूविरुद्ध सांगठित अपराधमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ ।

मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षाविज्ञ डा. इन्द्रजित राई पनि पक्राउ परेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा इन्द्रजित राईका छोरा निरज राईको पनि संग्लनता भेटिएपछि उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

निरजलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । बुधबार एमाले नेता टोपबहादुर रायमाझीका बाबु-छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी हुनु र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि पक्राउ परेसँगै प्रहरीको अनुसन्धान हाइप्रोफाइल तिर सोझिएको हो ।

भुटानी शरणार्थी भन्दै नक्कली कागजात बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा हाइप्रोफाइल व्यक्तिको पनि संलग्नता भएको आरोप लागेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।

मंगलबार पक्राउ परेका इन्द्रजित राई र बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा शरणार्थी प्रकरणमा रायमाझी बाबुछोराको संलग्नता देखिएको हो । अनुसन्धानमा सक्रिय प्रहरीका अनुसार यसअघि पक्राउ परेका सानु भण्डारीको बयानमा इन्द्रजित राईलाई १ करोड ५० लाख दिएको उल्लेख छ । ललितपुरका स्थानीय भण्डारीले आफ्नो डायरीमा ३ पटक डा. राईलाई नगद दिएको विवरण उल्लेख गरेका छन् । डायरीमा उल्लेख गरिएको विवरण अनुसार डा. राईले ५० लाख, ३५ लाख र ६५ लाख गरेर ३ किस्तामा १ करोड ५० लाख लिएको बताएका छन् ।

यस्तै पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आरोपीहरूले १ करोड ५० लाख बुझाएको चेकसमेत प्रहरीले बरामद गरेको छ । यस्तै आरोपीहरूले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ५० लाख दिएको बयानमा उल्लेख गरेका छन् । आरोपीको बयानलाई पुष्टि हुने किसिमले मंगलबार पक्राउ परेका राईले पनि बयान दिएसँगै बुधबार पाण्डे पक्राउ परेका हुन् ।

साभार : अखबार नेपाल https://www.akhabarnepal.com/samachar/39914.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *