• २०८१ जेष्ठ ३ गते बिहिवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

साथै उनले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् ।

आठौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट असोज ३ गते, २०७२ मा घोषणा भएको नेपालको संविधान हाम्रो सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् ।

यस उपलब्धि हासिल गर्नका लागि भएका सङ्घर्षहरूमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका महानुभावलाई उच्च सम्मानपूर्वक स्मरण गर्दै उनले प्राकृतिक विपत् र कोभिड–१९ को महामारीबाट अल्पायुमै ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइलगायत सबैमा श्रद्धासुमन अर्पण गरेका छन् ।

निर्वाचन गराउने कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली जनताको समृद्धि, सम्पन्नता र आत्मसम्मान अभिवृद्धि नै आफूहरुको एकमात्र अभिष्ट भएको स्पष्ट पार्नुभयो । “संविधान दिवसका अवसरमा उक्त लक्ष्य पूरा गर्न कुनै पूर्वाग्रह र दुराग्रह नराखी देश र जनताको हितलाई सर्वोपरी ठान्दै विकास र सम्मुन्नतिको महायज्ञमा जुट्न म सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, निजी क्षेत्रलगायत सबैमा आह्वान गर्दछु”, उहाँले भन्नुभयो, “अबको हाम्रो गन्तव्य भनेको मुलुकको द्रुततर आर्थिक रुपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तर सुधार नै हो ।”

संविधानको कार्यान्वयनले गति लिएको र मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार अग्रसर रहेको बताउँदै उहाँले राजनीतिक परिवर्तनसँगै यस प्रणालीलाई संस्थागत गर्न हाम्रा सोच, काम गराई, प्रवृत्ति र कार्यशैलीमा पनि आमूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद् र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताउनुभयो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसहित उच्चपदस्थ पदाधिकारी र कर्मचारीको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *