काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा २०७९ निर्वाचनको नतिजा आइसकेको छ । प्रतिनिधि सभामा १२ ओटा दलहरु र ५ जना स्वतन्त्र संसदहरुले प्रवेश पाएका छन् । ७ ओटा दलहरु राष्ट्रिय मान्यता प्राप्त दल बन्न सफल भएका छन् ।
प्रतिनिधि सभा २०७९ निर्वाचनको नतिजाको लेखाजोखालाई निम्नानुसार प्रस्तुत गरिएको छः-
नयाँ दलको संघीय संसदमा प्रवेश
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट ४ नयाँ दल संघीय संसदमा प्रवेश पाउन सफल भएका छन् । पूर्वी तरार्इबाट जनमत पार्टी, शहरी क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी, पश्चिम तरार्इबाट नागरिक उनमुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले संघीय संसदमा प्रवेश गरेका छन् । यी ४ दलहरुमा २ दलहरु : राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी राष्ट्रिय मान्यता प्राप्त दलका रुपममा प्रवेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) नयाँ दल भएपनि निर्वाचित अनुहारहरु पुरानै छन् ।
ठुला दलको भोट व्याङ्कमा गिरावट
यस अघिको २०७९ प्रतिनिधि सभा र प्रदेश सभाको सकारात्मक र नकारात्मक पक्षहरुको विश्लेषण खष्मभय मा पनि यस विषयमा उल्लेख गरिएको थियो । यस निर्वाचनमा ठुला दलहरुको भोट व्याङ्कमा गिरावट आएको देखिन्छ । समानुपातिकतर्फ नेपाली कांग्रेसले २०७४ मा ४० सिट प्राप्त गरेको थियो भने यस पटक ३२ मात्र प्राप्त गर्यो । नेकपा एमालेले २०७४ मा ४१ सिट प्राप्त गरेकोमा केवल ३४ सिट पाएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) को समानुपातिक संख्यामा १७ बाट १४ मा झरेको छ । २०७४ को तुलनामा समानुपातिकतर्फ नेपाली कांग्रेसलाई ८, नेकपा एमालेलाई ७ र नेकपा (माओवादी केन्द्र) लाई ३ सिट घाटा लागेको छ । नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी २० (प्रत्यक्ष ७ र समानुपनतिक १३) संसद र जनमत पार्टी ६ (प्रत्यक्ष १ र समानुपनतिक ५) संसद सहित प्रवेशले ठुला दलको भोट व्याङ्कमा गिरावट आएको देखिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पुनर्उदय
राष्ट्रिय प्रजातन्त्र पार्टी २०४८ सालको निर्वाचन देखि संसदीय निर्वाचनमा सहभागी दल हो । टुठफुठ र अन्य विभिन्न कारणले राष्ट्रिय प्रजातन्त्र पार्टी २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षमा १ सिट जित्न सफल भए पनि समानुपातिकमा ३ प्रतिशत मत प्राप्त गर्न नसक्ता राष्ट्रिय दल बन्न सकेन । यस पटकको निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट सहित राष्ट्रिय दलको मान्यता सहित संसदमा प्रवेश गरेको छ।
कम्युनिष्ट पार्टीहरुलाई बढि क्षति
यस पटको निर्वाचनमा क्षतिको लेखाजोखा गर्दा सबभन्दा बढि क्षति कम्युनिष्ट पार्टीहरुले व्यहोरेका छन् भन्दा अन्यथा नहोला । २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कम्युनिष्ट गठबन्धनले संघ र ६ प्रदेमा बहुमत प्राप्त गर्न सफल भएका थिए । प्रतिनिधि सभामा कम्युनिष्टहरुको संख्या १७६ (नेकपा एमाले १२१, नेकपा माओवादी केन्द्र ५३, राष्ट्रिय जामोर्चा १ र नेमकिपा १) थियो। २०७९ को निर्वाचनको नतिजाले कम्युनिष्ट पार्टीहरुको सबै सिट जोड्दा पनि बहुमत पुग्दैन । सबै कम्युनिष्ट पार्टीहरुको संख्या जोड्दा जम्मा १२२ (नेकपा एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, नेकपा एकीकृत समाजवादी १०, राष्ट्रिय जामोर्चा १ र नेमकिपा १) हुन आउँछ। नेपालका कम्युनिष्ट पार्टीहरु रणनीतिक रुपमा कमजोर बन्न पुगेका छन् । उनीहरुसँग वामपन्धी सरकारको वकालत गर्ने आधार गुमेको छ।
त्रिशंकु संसद
२०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनको नतिजाले त्रिशंकु संसद बन्ने निश्चित गरिदिएको छ। यस निर्वाचनमा नेपाली कांग्रसको नेतृत्वको सत्ता गठबन्धनले सरकार बनाउने गरी सिट संख्या पुर्याउन सकेन । त्यस्तै अर्कोतिर नेकपा एमालेसँग चुनावी तालमेल गरेका दलहरुको पनि बहुमत पुग्ने देखिँदैन । सरकार गठन गर्नका लागि नयाँ दलहरुः राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी वा नागरिक उन्मुक्ति पार्टीको सहयोग र समर्थन आवश्यक पर्ने देखिन्छ । नेपाली कांग्रसको नेतृत्वको सत्ता गठबन्धनको सबै सिट जोड्दा जम्मा १३६ (नेपाली कांग्रेस ८९, माओवादी केन्द्र ३२, एकीकृत समाजवादी १०, जसपा ४ र राष्ट्रिय जनमोर्चा १) हुन आउछ। सरकार गठनका लागि बहुमत पुर्याउन १३८ चाहिन्छ। त्यस्तै नेकपा एमालेसँग चुनावी तालमेल गरेका दलहरुको सिट संख्या जम्मा १०४ (एमाले ७८, राप्रपा १४ र जसपा १२) हुन्छ।
प्रत्यक्षमा महिला संसदको निराशाजनक उपस्थिति
यस निर्वाचनमा पनि प्रत्यक्ष तर्फ महिलाको प्रतिनिधित्व निराशाजनक नै रह्यो। प्रतिनिधि सभामा प्रत्यक्षमा जम्मा ९ जना मात्र निर्वाचित भएका छन् जुन करिव ६ प्रतिशत हुन आउँछ। समग्रमा महिला उम्मेदवारी नै ९ प्रतिशत थियो। ठुला दलहरुः नेपाली कांग्रेसले ९१ मा ५ जना, नेकपा एमाले १४१ मा ११ जना र नेकपा माओवादी केन्द्रले ४६ मा ८ जना महिला उम्मेदवार प्रतिनिधि सभातर्फ खडा गरेका थिए । अन्य दलहरुको पनि अवस्था उस्तै छ । विगतका निर्वाचनहरुमा पनि महिला उपस्थिति उत्साहनजक देखिँदैन। २०७४ मा जम्मा ६ जना मात्र निर्वाचित भएका थिए । २०४८ मा ७ जना, २०५६ मा १२ जना, २०६४ मा ३० जना र २०७० मा ११ जना महिला निर्वाचित भएका थिए ।
नेपाली काँग्रेसको रणनीतिक जित
गठबन्धनका कारण नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा जम्मा ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो र ५७ सिट जित्न सफल भयो। यो नतिजा २०७४ को तुलनामा प्रत्यक्षमा ३४ सिट बढि हो । समानुपातिकमा भने २०७४ को तुलनामा ८ सिट घटेको छ। समग्रमा ८९ सिट सहित प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल बन्न सफल भएको छ। समानुपातिकमा केही क्षति व्यहोरे पनि कम्युनिष्ट पार्टीहरुलाई एक ठाँउमा उभिन नदिएर रणनीतिक सफलता हासिल गर्न सक्षम भएको छ । सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी नेकपा एमालेलाई अन्य कम्युनिष्ट पार्टीहरुबाटै घेराबन्धी गराउन सफल भयो । यस निर्वाचनमा नेपाली कांग्रेस रणनीतिक रुपमा सफल भयो भन्दा अन्यथा नहोला।
लौरोको अनपेक्षित नतिजा
२०७९ को स्थानीय निर्वाचनमा लौरोले ठुलै चर्चा पायो । काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा सानदार जित दर्ज गर्न सफल पनि भयो । उक्त नतिजाबाट उत्साहित भएर स्वतन्त्र अभियन्ताहरु मिलेर हाम्रो नेपाली पार्टी नै निर्वाचन आयोगमा दर्ता गरेर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिए तर अपेक्षित नतिजा निकाल्न सकेनन् । प्रत्यक्षमा काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ८ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट जम्मा १ सिटमा चित्त बुझाउनुपर्यो। समानुपातिक तर्फ पनि १ लाख मत पनि कटाउन सकेन । करिव ५६ हजार मतमै चित्त बुझाउनु पर्यो । घण्टीको (राष्ट्रिय स्वतन्त्र पार्टी) को माहोलले लौरोलाई छायामा पारिदियो ।
व्यक्तिको लोकप्रियताको प्रभाव
यस पटकको निर्वाचनमा केही उम्मेदवारहरु व्यक्तिगत लोकप्रियताका आधारमा निर्वाचन जित्न सफल भए । यसरी चुनाव जित्नेहरुमा राप्रपाका उम्मेदवारहरु बढि छन् । जस्तै मकवानपुर १ बाट दिपक बहादुर सिंह २७ हजार, चितवन ३ बाट विक्रम पाण्डे ३५ हजार, बाँके २ बाट धबल शम्शेर राणा २९ हजार र जुम्लाबाट ज्ञान बहादुर शाही २२ हजार बढि मतसहित निर्वाचित भए। समानुपातिक तर्फ यी निर्वाचन क्षेत्रहरुमा राप्रपाले पाएको मत यस्तो छः मकवानपुर १ मा १३ हजार, चितवन ३ मा १६ हजार, बाँके २ मा ११ हजार र जुम्लामा ५ हजार मात्र छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट ५२ हजार बढि मत सहित निर्वाचित भए । यस निर्वाचन क्षेत्रमा एमाले र राप्रपाको समानुपातिक मत जोड्दा ४३ हजार मात्र पुग्छ।
केही चर्चित अनुहारहरुको जमानत जफत
बालकृष्ण न्यौपाने, अर्जुन पर्साइ, रन्जु दर्सना, पुण्य प्रसाई, रामप्रसाद उप्रेती, युग पाठक, मिलन पाण्डे, हेमराज थापा मिडिया र समाजिक सञ्जालमा छाएका केही चर्चित अनुहारहरु हुन । उनीहरुको चर्चा केवल मिडियामै सिमित रह्यो ब्यालेट बक्स भित्रको मतपत्रमा रुपान्तरण हुन सकेन । जसको कारण उनीहरुले सदर मतको १० प्रतिशत मत कटाउन सकेनन् र जमानत पनि जोगाउन सकेनन्।
निर्वाचन आयोगको विवरण अनुसार उनीहरुले प्राप्त गरेको मतलाई एकपटक हेरौँ । बालकृष्ण न्यौपानेले काठमाडौं १ मा जम्मा ५९० मत पाएका छन् । पुण्य प्रसाईले काठमाडौं २ मा जम्मा ९४९ मत पाए । अर्जुन पर्साइले काठमाडौं ४ मा जम्मा २३०८ मत मात्र पाउन सके । काठमाडौं ५ मा रन्जु दर्सनाले जम्मा ६००, हेमराज थापाले जम्मा २४४६ र रामप्रसाद उप्रेतीले जम्मा ३१६२ मत पाएका छन् । त्यस्तै मिलन पाण्डेले काठमाडौं ९ मा जम्मा २३२७ मत पाएका छन् । झापा ५ मा उम्मेदवारी दिएका युग पाठकले मात्र ३५६ मत ल्याउन सके।
त्यस्तै नेकपा एमालेबाट बिद्रोह गरेका रामबिर मान्नधर र गंगा चौधरीले पनि जमानत जोगाउन सकेनन्। रामबिर मान्नधरले काठमाडौं ७ मा जम्मा १२१५ र गंगा चौधरीले दाङ १ मा जम्मा १०९३ मत प्राप्त गरेका छन्।