प्रधानमन्त्री शाहद्वारा विजयादशमीका अवसरमा शुभकामना सन्देश : भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौँ
२०८३ कात्तिक ५ बुधवार ०८:३५
shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएकाे छ।
विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिने उल्लेख गर्नुभएकाे छ। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणको अन्त्य गरेको दिनका रूपमा विजयादशमी मनाइने उहाँले बताएउनुभएकाे छ।
प्रधानमन्त्री शाहले विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्न प्रेरणा दिने बताउनुभएकाे छ। टाढा रहेका मान्यजनलाई समेत भेटेर आशीर्वाद लिने यस परम्पराले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप सुदृढ बनाउने उहाँको भनाइ छ।
उहाँले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरित गर्ने उल्लेख गर्नुभएकाे छ। साथै, भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गरी प्रत्येक नागरिकलाई सरकार आफ्नो साथमा रहेको अनुभूति गराउन सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएकाे छ।
यस्ता विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि परिवर्तन गर्नुपर्ने बताउनुभएकाे छ।
विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने तथा लामो समयदेखि टाढिएका साथीभाइ र आफन्तसँग आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्ने उनले बताएका छन्। प्रधानमन्त्री शाहले सबैलाई आ–आफ्नो क्षमता र परिस्थितिअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गर्नुभएकाे छ।





















