बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखादेखि नवलपरासीसम्म सतर्क रहन आग्रह
२०८३ असोज २५ आइतवार ०८:४७
shares

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बूढीगण्डकी नदीमा आएको ठूलो बाढीलाई मध्यनजर गर्दै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकसम्म तत्काल सूचना पुर्याउन अपिल गरिएको छ ।
सम्भावित जोखिममा रहेका बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सार्न र आवश्यक परे खोज तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।
माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको हुन सक्ने बताइएको छ । चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालयमा क्षति पुगेको खबर आएको बताउनुभएकाे छ।
सापकोटाका अनुसार नदीमा पानीको बहाव पटकपटक थुनिने र खुल्ने भइरहेको छ । बाढीको ठूलो झड्काले नदी आसपासको करिब १५० देखि २०० मिटर माथिसम्मको क्षेत्र प्रभावित भएको उहाँले बताउनुभएकाे छ ।




















