काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । मधुमेह एक विश्वव्यापी रूपमा फैलिएको दीर्घकालीन रोग हो । संसारभर...

पुरा पढ्नुहाेस्

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै

1.18K
shares

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाली साहित्यका प्रथम कविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको भगवान् रामको जीवनमा आधारित महाकाव्य ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक उपहार दिनुभएकाे थियाे । उहाँले नेपाली भाषामा सरल र सहज शैलीमा प्रस्तुत गर्नुभएको रामायण आज पनि नेपाली जनजीवनमा उत्तिकै लोकप्रिय छ । नेपालीका घरघरमा धार्मिक तथा सांस्कृतिक अवसरमा रामायण सस्वर लय हालेर पाठ गर्ने परम्परा अझै कायम छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँको योगदानका कारण नेपाली भाषा साहित्यिक अभिव्यक्तिको बलियो माध्यमका रूपमा स्थापित भएको मानिन्छ ।

नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले गरे तापनि भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाली समाजलाई भावनात्मक रूपमा जोड्ने काम आदिकवि भानुभक्तले गर्नुभएको साहित्यकारहरूले बताउने गरेका छन् । उहाँका सिर्जनाले नेपाली समाजमा एकता, संस्कार र सांस्कृतिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

भानुभक्तलाई नेपाली भाषामा रामायण लेख्न प्रेरणा दिने प्रसंग पनि नेपाली साहित्यमा चर्चित छ । भनिन्छ, एक सामान्य घाँसीले ‘जन्म लिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भन्ने सुझाव दिएपछि उहाँले समाजका लागि अमर कृति सिर्जना गर्ने प्रेरणा प्राप्त गरेका थिए ।

भानुभक्तले रामायणबाहेक ‘बधूशिक्षा’, ‘प्रश्नोत्तर’ लगायतका महत्वपूर्ण कृति सिर्जना गर्नुभएकाे छ। उहाँका रचनाले नेपाली समाजको भाषा, संस्कृति र जीवनशैलीलाई प्रतिबिम्बित गरेका छन् ।

नेपाली भाषा र साहित्यमा उहको योगदानको सम्मानस्वरूप हरेक वर्ष असार २९ गते भानुजयन्ती मनाउने गरिन्छ । यस अवसरमा साहित्यिक गोष्ठी, कविता वाचन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न रचनात्मक गतिविधि आयोजना गरी आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गरिन्छ ।