नेपाल–कतार संयुक्त व्यवसाय परिषद् द्विपक्षीय व्यापार र लगानी विस्तारमा सक्रिय
२०८२ माघ २५ आइतवार १७:४६
shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबीसी) सम्बन्धी छलफलका लागि कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (क्यूसीसीआई) को प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ ।
संयुक्त व्यवसाय परिषद् स्थापनासम्बन्धी सम्झौता सन् २०२४ अप्रिलमा कतार राज्यका महामहिम अमिर शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । यस सम्झौताले नेपाल र कतारबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाएको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणामा काठमाडौं आएको कतारी प्रतिनिधिमण्डलको नेतृत्व जेबीसीका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैद्लीले गरेका छन् । काठमाडौंमा परिषद्को बैठक माघ २६ र २७ गते बस्नेछ ।
संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यावसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो ।
काठमाडौं बसाइका क्रममा प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटघाटहरू गर्नेछ । प्रतिनिधिमण्डलले अर्थमन्त्री रमेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलसँग भेट गर्ने कार्यक्रम छ ।
संयुक्त व्यवसाय परिषद्ले अन्तिम रूप दिई सक्रिय बनाउनु द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवाह प्रोत्साहन तथा दुवै देशका व्यवसायीबीच साझेदारी सुदृढ गर्न महत्वपूर्ण हुने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनका अनुसार छलफलहरू परिषद्लाई व्यावहारिक र परिणाममुखी बनाउने तथा सहकार्यका ठोस क्षेत्र पहिचानमा केन्द्रित रहनेछन् ।
नेपाल र कतारबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध र सशक्त जनस्तरीय सम्पर्क रहेको छ, जुन अहिले थप गहिरो आर्थिक सहकार्यतर्फ अघि बढिरहेको छ । पछिल्ला उच्चस्तरीय द्विपक्षीय भेटघाटहरूले निजी क्षेत्रको सहभागिता बढाउन सकारात्मक वातावरण सिर्जना गरेको छ । महासंघले यस भ्रमणलाई त्यस दिशामा समयोचित कदमका रूपमा लिएको जनाएको छ ।
नेपालमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, कृषि–प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा आकर्षक लगानी अवसरहरू उपलब्ध छन् ।
नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनका रूपमा महासंघले विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसाय–देखि–व्यवसाय सम्पर्क प्रवर्धन गरिरहेको छ । बैठकका उपलब्धिहरूले आगामी दिनमा नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने र व्यापार तथा लगानी वृद्धि गर्न योगदान पुर्याउने महासंघको अपेक्षा छ ।

















