प्रतिनिधिसभा निर्वाचन आउन २७ दिन बाँकी, ६० जिल्लाको मतपत्र छपाइ सकियो
२०८२ माघ २३ शुक्रवार ०२:०६
shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन २७ दिन बाँकी रहँदा ६० जिल्लाको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङसमेत सकिएको छ ।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सकिएको छ ।
यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ पनि सम्पन्न भएको आयोगले जनाएको छ । मतपत्र छापिइसकेका जिल्लाको प्याकिङको काम धमाधम भइरहेको छ ।
आयोगका अनुसार मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको हो । प्याकिङको काम पनि क्रमशः भइरहेको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भने सकिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ एवं रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।


















