नेजाद्वारा डालस महावाणिज्य दूतावाससँग अन्तरक्रिया
२०८२ पुस १७ बिहीवार १९:३५
shares

डालस, टेक्सास ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्ससको डालसमा स्थापित नेपाली महावाणिज्य दूतावासका पदाधिकारी र स्थानीय पत्रकारहरूबीच परिचयात्मक एवम् अन्तरक्रिया गरेको छ। नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा २९ जनवरी २०२५ सोमबार टेक्सासको फोर्टवर्थमा आयोजित अन्तरक्रियामा दूतावासको हालसम्मको कार्यप्रगति, सेवा प्रवाहका चुनौती र आगामी योजनाका सम्बन्धमा जिज्ञासा एवम् छलफल गरिएको थियो ।
अन्तरक्रियामा सहभागीहरूले डालसमा महावाणिज्य दूतावास स्थापनाको स्वागत गर्दै टेक्सास तथा आसपासका राज्यमा बसोबास गर्ने नेपाली समुदायका लागि राहत मिलेको धारणा राखे । यसअघि सामान्य प्रशासनिक कामका लागि समेत वासिङ्टन डिसी पुग्नुपर्ने बाध्यता हटेको भन्दै उनीहरूले खुशी व्यक्त गरेका थिए । सन् २०२५ मा नेपाल सरकारले अमेरिकास्थित दुईवटा राज्य टेक्सास र क्यालिफोर्नियामा महावाणिज्य दूतावास सञ्चालनमा ल्याएको हो ।

टेक्सासमा अक्टोबर १०, २०२५ देखि सेवा सुरु गरिएको महावाणिज्य दूतावासका महावाणिज्यदूत सुरेश अधिकारीले सहभागीहरूको जिज्ञासालाई सम्बोधन गर्दै सीमित स्रोत र साधनका बाबजुद नेपाली समुदायलाई प्रभावकारी सेवा दिन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । महावाणिज्यदूत अधिकारीले कार्यालयमा सेवा लिन आउने कसैलाई पनि रित्तो हात फर्कन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कतिपय नीतिगत तथा राजनीतिक विषयहरू वासिङ्टन डीसीस्थित दूतावासमार्फत समाधान हुनुपर्ने भए पनि स्थानीय तहमा उपलब्ध सेवामा ढिलासुस्ती नहुने अधिकारीले स्पष्ट पार्नुभयो।
यसैगरी, वाणिज्यदूत तथा प्रवक्ता प्रवीण भट्टराईले महावाणिज्य दूतावासले सेवा सुरु भएयता हालसम्म १ हजार २ सय ६० जनाले विभिन्न सेवा लिइसकेको जानकारी दिनुभयो । वाणिज्यदूत तथा प्रवक्ता भट्टराईले यस अवधिमा ६ सय ९२ वटा राहदानी जारी गरिएको जानकारी दिँदै अधिकृत वारेसनामा, यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट), मञ्जुरीनामालगायतका सेवाहरू पनि नियमित रूपमा उपलब्ध गराउँदै आएको बताउनुभयो । प्रवक्ता भट्टराईले आगामी सातादेखि गैरआवासीय नेपाली (एनआरएन) कार्डको सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिँदै भिसा सेवा भने सुरु भइसकेको जानकारी दिनुभयो । भट्टराईले सूचना प्रवाहलाई व्यवस्थित बनाउन नेजासँग आबद्ध पत्रकारहरूसँग सहकार्य गर्दै दूतावासका गतिविधि र सूचनाहरू सिधै मिडियासम्म पुर्याउने संयन्त्र निर्माण गरिने जानकारी दिनुभयो।
अन्तरक्रियामा सहभागीहरूले विशेषगरी सामाजिक सञ्जालमार्फत नियमित सूचना प्रवाह गर्न, विद्यार्थीहरूका लागि छुट्टै हटलाइनको व्यवस्था गर्न तथा अस्टिन र ह्युस्टनजस्ता टाढाका सहरहरूमा घुम्ती शिविर सञ्चालन गर्न सुझाव दिनुभएको थियो । साथै, अमेरिकामा रहेका नेपाली कलाकारहरूले भोग्दै आएको भिसा समस्या र डिपोर्टेसनका विषयमा पनि दूतावासको ध्यानाकर्षण गराइएको थियो।
अन्तरक्रियाका विशेष अतिथि नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष हरिहर विरहीले डालसमा महावाणिज्य दूतावास स्थापना हुनु नेपाली समुदायका सकारात्मक उपलब्धि भएको बताउँदै प्रवासमा रहेका पत्रकारहरूले आफ्नो अनुभव र ज्ञान प्रयोग गरी नेपालको लोकतन्त्र सुदृढ बनाउन र देशमा व्याप्त निराशा चिर्न आ-आफ्नो तर्फबाट योगदान दिनुपर्नेमा जोड दिनुभयो । अन्तरक्रियामा उपस्थित सहभागी पत्रकार एवम् समाजसेवीहरूले महावाणिज्य दूतावासका सेवाहरू अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए । नेजाका क्षेत्रीय संयोजक ओम आचार्यको सञ्चालन एवम् सचिव शंकर थापाको स्वागत रहेको अन्तरक्रियामा नेजाका कोषाध्यक्ष झरना अधिकारी, कार्यकारी सदस्य डीबी रावतलगायत डालसका स्थानीय पत्रकार, सञ्चारकर्मी एवम् नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको नेजाका महासचिव ईश्वरी न्यौपानेद्वारा उपलब्ध समाचारमार्फत जनाइएको छ ।

समाचार/फोटो स्रोतः नेपाल अमेरिका पत्रकार संघ (नेजा) ।


















