एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

उपन्यास “मिथकको हकदावी” : पुस्तक समीक्षा

336
shares

सुन्दर डिजाइनमा सजिएको लेखक तथा साहित्यकार अनिल कार्कीद्वारा लिखित पहिलो कृति उपन्यास “मिथकको हकदावी” हातमा परेपछि एकाएक पढ्ने जाँगर चल्यो ।

नेवा सभ्यताको एउटा जात्रा परम्पराबाट उठेको उपन्यास “मिथकको हकदावी”ले गज्जबको स्वैरकाल्पनिक विषय उठान गरेको छ । रातो मच्छिन्द्रनाथको जात्रा र भोटो देखाउने पर्व, एउटा मिथक अनि मिथकमाथिको स्वैरकल्पना । पुस्तकको दोश्रो पृष्ठ पुग्दा नपुग्दै यसको विषय उठानले गज्जबसँग तान्छ ।

भोटो जात्रामा प्रदर्शन गरिने भोटोलाई अमेरिकाबाट आएको एउटा नेपाली मूलको ठिटोले भोटोको पूर्खा आफ्नो भएको दावी गर्छ । बाहिर देशमा जन्मिए पनि कसरी अर्को पुस्ता यहाँको जरो किलोसँग जोडिन सक्छ भन्ने कल्पना सुन्दर र कौतुहलतापूर्ण शैलीमा कथिएको छ । यसले पाठकलाई अन्तिमसम्म तानिरहन्छ । एउटा समूदायको आस्था, परम्परामा रहेर कथा कथ्नु आफैँमा चुनौतीपूर्ण हुन्छ । अतः उपन्यासकारले देव, दानव र मानव प्रवृत्तीको व्याख्या गर्दा मुख्य पात्रसँग भैरव देउता, दानवसँगको भेटमा यसप्रति आस्था राख्ने सिंगो समूदायप्रति सम्मान राख्दै “बिटविन द लाइन” मा रहेर मात्र व्याख्या गरेका छन् । यद्यपी यसले कथालाई कतै असर गर्दैन ।

कथानक कतै चुकेको छैन । यो सलल्ल बगेको छ । पुस्तकले, पैतृक्ता के हो, मानिसले रच्ने मिथक के होर, जात्रा पर्व के हुन् भन्ने सन्दर्भ छोटो तर सटिक रुपमा केलाएको छ । मुख्य पात्र ज्याक अमेरिकामै जन्मेको हुनाले उसले बोल्ने भाषामा देवनागरी लिपीमा अंग्रेजी मिसिएको छ । जुन सान्दर्भिक लाग्छन् पनि । नेवारी शब्दहरुको पनि केही प्रयोग छ । तर प्राय नेवारी शब्दको अर्थ बुझ्न शव्दार्थ खोजिरहन पर्दैन । पुस्तकको मुख्य सुन्दर पक्ष भनेको एउटा अनपेक्षित विषयको स्वैरकल्पना हो । तर पुस्तकले आफ्नो जमिन छोडेको छैन । जस्तो की ज्याक भक्तपुरको भ्रमण गर्दा त्यहाँका सम्पूर्ण वस्तुहरुले उसलाई स्वागत गर्छन् तर एउटा रैथाने अमेरिकन गुडिया अचल रहन्छ ।

यती भन्न लेखकले यो भक्तपुर भ्रमण शीर्षकअन्तर्गत जादुयी यथार्थवादको प्रयोग गरेका छन् । प्रकृति परिवर्तनशील छ, मानव अनि यसको प्रवृत्ती र यसले बनाएको जातिय परिचय घुलनशील छ भन्ने सन्दर्भ सटिक रुपमा प्रस्तुत गरिएको छ । यो पुस्तकको सुन्दरतम पक्ष जातिय पहिचान र यसको अपरिहार्य घुलनशीलता र परिवर्तनशीलता बारे गरिएको वहस हो । ज्याकले प्रयोग गरेका देवनागरीमा लेखिएका केही अंग्रेजी सम्वाद र केही पात्रहरुले उसको तादत्मयता समात्न हुन सक्छ सरल अंग्रेजी वाक्य प्रयोग गरेका छन् । यो प्रयोग ठिकै लाग्छ ।

पुस्तकमा ज्याक पात्रको एकालाप एकाध ठाउँमा थोरै वढी भएको हो की भन्ने भान हुन्छ तर लेखकले लगत्तै स्वैरकल्पनामा लगेर त्यस पाटोलाई ढाकिदिन्छन् । उपन्यासको कथा अन्त्य भैसकेपछि पटाक्षेप भन्ने शीर्षकमा उनी समुदायवारे लेख्दा हुने अफ्ठ्यारो र दायित्वबाट स्वच्छन्द लेखकमा रुपान्तरित भएका छन् जसले लेखकको लेखकीय क्षमता र कल्पनाशीलता उजागर गरेको छ । कथाको विषय, भाषा, शैली र यसको न्यायपूर्ण अन्त्यका हिसाबले यस उपन्यासका लेखक अनिल कार्की आशालाग्दा लेखक हुन् भन्न त्यती हिच्किचाइरहनु पर्दैन ।

समग्रमा जात्रा परम्परामा धनी उपत्यकाको रैथाने स्वाद सहित नेवा समुदायमा समर्पित यो पुस्तक समग्रमा पठनीय बनेको छ ।
यस पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो । २४० पृष्ठमा तयार भएको यो पुस्तकको आवरण तथा लेआउट डिजाइन “मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि”.ले गरेको हो ।

सन्तोष कुमार दाहाल
हलेसी तुवाचुङ न.पा.–४, खोटाङ
हाल : कपन, काठमाडौँ ।