काठमाडौँ । प्राध्यापक कृष्ण गौतमद्वारा लिखित रानीहार निबन्ध सङ्ग्रह प्रकाशित भएको छ । गौतमद्वारा लिखित ४० थान निबन्ध सङ्ग्रहमा सङ्ग्रहित छन् ।

निबन्धको बारेमा समिक्षक/पत्रकार राजकुमार बानियाँ लेख्नुहुन्छ– “प्राध्यापक कृष्ण गौतम सिर्जनादेखि सिद्धान्तसम्म चिन्तनको नयाँ परिपाटी बसाल्ने लेखक हुन् । नेपाली साहित्यमा उत्तरआधुनिकताको सरगर्मी ल्याएर होस् या भाषा र मानवीयताको प्रश्नमा जागरुक भएर । गौतमका हरेक सिर्जनामा समाजका बहुल विचार भेटिन्छन्, अन्तर्विधात्मकता र कलात्मकताको बेजोड हातेमालो हुन्छ ।
रानीहार पृथक अस्तित्व र अनुपमता जाहेर गर्न सक्षम निबन्धकृति हो । यसले विधागत रूप, अर्थ, शिल्प र अभिप्रायमा सामयिक औचित्य र उत्तेजना भरेर रोचकता थपेको छ । भाषाको विलक्षण चलखेलमा सम्मोहक ऊर्जा र अतिरिक्त आस्वाद्यता छ । यसमा हार्दिकता, सिर्जनात्मकता, विश्वसनीयता, अनौपचारिकता, अलमस्तीपना आदि गुण तथा गरिमाको उचाइ जगमगाएको छ ।
प्रस्तुत कृति निबन्धको जामा दिइने यात्रा, नियात्रा, समीक्षा, संस्मरण, टिप्पणी, लेख, रिपोर्ताज आदि चलनचल्तीका लेखनबाट सम्पूर्णतः अलग्गिएको छ । तर, ती विधाका तरल स्वरूप भने यसमा पनि उत्तिकै सलबलाइरहेका देखिन्छन् ।”
शिखा बुक्सले प्रकाशन गरेको रानीहार ३४० पृष्ठको छ भने मूल्य ६७५/– रहेको छ ।
